पदकसहित फर्कियो नेपाली जुडो टोली

झापा, साउन २३ । थाइल्याण्डको बैंककमा सम्पन्न नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा पदक विजेता नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

प्रतियोगितामाा दुई स्वर्ण, एक रजत र एक कास्य जितेको नेपाली टोलीलाई सोमबार नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतले स्वागत गरे । प्रतियोगितामा सहभागी चारैजना खेलाडीले पदक जितेका थिए ।

पुरुष ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि तौल समूहमा मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । फाइनलमा जापानका खेलाडीलाई पराजित गरेका इन्द्रले यो सफलताले आफूलाई अझै राम्रो गर्न हौसला मिलेको प्रतिक्रिया दिए ।

यसैगरी महिलाको ७८ केजीमुनि तौल समूहमा पुनम श्रेष्ठले रजत जित्दा ५२ केजीमुनि तौल समूहमा देविका खड्काले काश्य जितिन् । प्रतियोगितामा नेपाल समग्रमा तेस्रो भएको हो । पहिलो स्थानमा जापान रहँदा दोस्रो स्थानमा आयोजक थाइल्यान्ड रह्यो । गएको संस्करणमा नेपालले २ कास्य जितेको थियो । इन्द्र र उमेश मगरले कास्य पदक जितेका थिए । दुई दिने प्रतियोगिता आइतबार सकिएको हो ।

Facebook Comments