गोलभेडा भारत निकासी खुल्यो

एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेडा निकासि सुरु भएको छ । भारतीय पक्षले निकासी हुने सूचीमा गोलभेडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेडाको बिक्री वितरण प्रभावित भएको थियो ।

संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेडा निकासस् सुरु भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । ‘तत्काललाई किसानले फलाएको गोलभेडा बिक्री गर्नका लागि नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको छ । गोलभेडा निकासी सुरु हुन थालेको छ’, आङ्बोले भने, ‘सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहको समितिले काम अघि बढाएको छ । निकटमा पनि सूचिमा पर्नेछ । हाललाई समस्या समाधन भएको छ ।’

योसँगै आन्तरिक खपत बढाउने प्रयास पनि थालेको उनले जानकारी दिए । केही दिनअघि बजार प्रवर्द्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो । निकासी खुलेसँगै गोलभेडाको मूल्यमा वृद्धि हुनुका साथै व्यापार बढेको छ । निकासी खुलेको जानकारी प्राप्त भएको राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले जानकारी दिए । भारत निकासी रोकिँदा सस्तो मूल्यमा बिक्री हुनुका साथै कतिपय किसानको बारीमा कुहिएको थियो । निकासी सुरु भएपछि किसानलाई राहत पुग्ने पोखरेल बताउँछन् ।

अहिले किसानको बारीमा प्रतिकेजी नौ रुपैयाँले किन्न सुरु गरिएको व्यापारी राजेश दाहालले जानकारी दिए । यसअघि प्रतिकेजी ३ रुपैयाँमा खरिद हुने गर्थ्यौ । ३ रुपैयाँ भएपछि किसानहरुले टिप्ने खर्च पनि नउठ्ने भन्दै बिक्री रोकेका थिए ।

निकासी रोकिएपछि निराश बनेका किसान गोलभेडा भारत जाने खबरले खुसी देखिएका छन् । व्यवसायी खेती हुने जिल्लाको याङवरक, हिलिहाङ गाउँपालिका किसानहरुको बगानबाट यो वर्ष १३ करोडभन्दा बढीको आम्दानी हुने अनुमान गरिएको थियो । गोलभेडा खुलेकाले अब किसानको समस्या समाधान हुने अवस्था पुगेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । गोलभेडाको निकासी भएपछि बढ्ने मूल्य किसानले पाउन् भनेर पहल थालिएको उनले जानकारी दिए ।

बुवाले तीन रुपैया“मा बेचेको,गोलभेडा छोराले किन्दा तीस रुपैया“

बुवाले गाउँमा तीन रुपैयाँ प्रतिकेजीमा बेचेको गोलभेडा सहरमा बसेको छोराले ३० रुपैयाँमा किन्छ भन्दा धेरैलाई अचम्म लाग्ला ।

गोलभेडाको बजारीकरणमा उत्पन्न समस्याले पाँचथरमा यस्तै भएको छ । कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले प्रतिकेजी तीन रुपैयाँमा समेत गोलभेडा बेच्न कठिन भएको बताए ।

तर, उनले बेचेको त्यही गोलभेडा झापाको बिर्तामोडमा बस्ने छोराले भने ३० रुपैयाँमै किनेर खाने गरेका छन् । ‘मैले यहाँ ३ रुपैयाँमा बेचेको गोलभेडा बिर्तामोडमा बस्ने छोराले ३० रुपैयाँमा किन्दो रहेछ’, पोखरेलले भने । आफूहरुको लागत मूल्य नै प्रतिकेजी ९ रुपैयाँ परेको किसान बताउँछन् । तर, ३ रुपैयाँमा पनि बिक्री नभएपछि यहाँका किसानले केही दिनअघि सडकमै गोलभेडा पोखेर विरोध जनाए ।

विभिन्न कारण देखाई विगत एक महिनायता उत्पादित गोलभेडाको निर्यातमा भएको अवरोधका कारण बारीमै कुहिएको थियो । पाँचथर हिलिहाङ गाउँपालिका १, २, ३, ४, ६ र ७ नम्वर वडा तथा याङवरक गाउँपालिकाका वडा नम्बर ५ र ६ मा करिब १२ हजार किसानले व्यावसायिक रुपमा गोलभेडा उत्पादन गर्ने गरेका छन् ।

किसानले उचित मूल्य नपाउने तर सहरमा जाँदा त्यही गोलभेडा महँगो पर्न थालेपछि पाँचथर उद्योग वाणिज्य संघले समाधानको पहल थालेको छ । संघले आन्तरिक र बाह्य बजारको खोजी गर्न सरोकारवाला पक्षहरुसँग छलफल गरेको हो । छलफलमा किसान तथा सरोकारवालाहरुले निकासी सम्बन्धी सन्धि प्रभावकारी हुन नसक्दा मारमा परेको गुनासो गरेका छन् ।

हिलिहाङका किसान भानु ढकालले सरकारले नै मूल्य निर्धारण गर्नुपर्ने, किसानलाई कम मूल्य दिने विचौलियालाई निस्तेज गर्नुपर्नेमा जोड दिए । अर्का किसान वीरेन्द्र काफेले गत वर्ष पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकाबाट ११ करोड २५ लाख रुपैयाँको गोलभेडा बिक्री भएको बताउँदै यस वर्षको मुख्य सिजनमा एक करोड ४३ लाख रुपैयाँको मात्रै भएको बताए ।

नगदेबालीमा भविष्य देखेका किसानलाई स्थानीय सरकारले समेत सहयोग गर्नुपर्नेमा उनले जोड दिए । बजारीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले चासो दिनुपर्ने कृषकको माग छ । प्रतिबोट ३ देखि ७ किलोसम्म गोलभेडा उत्पादन हुने गरेको कृषक काफेको भनाइ छ ।

बिरुवा रोपेको ९२ औँ दिनदेखि टमाटर टिप्न सुरु हुन्छ । पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकामा मात्रै टमाटर फल्ने सिजनमा प्रतिदिन ४० टन उत्पादन हुने गरेको छ । पाँचथर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मित्रप्रसाद काफेले टमाटरमा प्रयोग हुने विषादीलाई न्यूनीकरण गर्नुपर्ने, स्थानीय तहले टमाटरका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।

संघका अध्यक्ष दिपक नेपालले जिल्लालाई अर्गानिक बनाउनु पर्ने र बाली बीमा गर्नुपर्ने भन्दै विषादी प्रयोगमा किसान आफ सचेत हुनु पर्नेमा जोड दिए । नेपालले टमाटरका बजारीकरणका लागि संघले केन्द्र तथा प्रदेश सरकार लगायत सम्बन्धित निकायमा सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

Facebook Comments