प्रहरीको त्यो ‘फेक इन्काउन्टर’

श्यामप्रसाद मैनाली

सधैँझ गएको आइतबार पनि स्कुलबाट हासीखुसी फर्किएका निशान खड्का अब कहिल्यै पनि उक्त स्कुल जानेछैनन् । काठमाडौँको काँडाघारीस्थित हाइल्यान्ड स्कुलको कक्षा ६ मा पढ्ने ११ वर्षीय निशानलाई अपहरणपश्चात् हत्या गरी जमिनमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनकी आमाले टाउन प्लानिङमै चिया पसल गरेर जीविका गुजारा गर्दै आएकी थिइन् भने बाबुचाहिँ रोजगारीको सिलसिलामा मलेसियामा रहेका रहेछन् ।

अपहरणपश्चात् ४० लाख फिरौती मागेका अपहरणकारीले अपहरणको हल्ला फैलिनासाथ बालकको हत्या गरी जमिनमा गाडेको हुनसक्ने प्रहरीको निष्कर्ष छ भने यता दुवै अपहरणकारीको प्रहरीले इन्काउन्टरमा मृत्यु भएको भनेर विज्ञप्ति जारी गरे तापनि प्रहरीको उक्त ‘इन्काउन्टर’ चरम विवादमा पर्दै आएको छ । सम्प्रेषित समाचार र सूचनाहरुलाई आधार मान्ने हो भने, बालक निशानको अपहरणपश्चात् हत्या गरेर गाड्ने भनिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई प्रहरीले उनीहरुकै डेराबाट फउ गरी लगेको कुरा प्रत्यक्षदर्शीले बताइसकेका छन् । प्रहरीले अपहरणकारीलाई उनीहरुकै डेरामा चरम कुटपिटपश्चात् गाडीमा हालेर झुर सूर्यविनायकभन्दा माथि रहेको घ्याम्पेडाँडाको जंगलमा लगेर गोली हानी हत्या गरेको भन्ने आरोप लागिरहँदा यता प्रहरी भने ती अपहरणकारीहरु इन्काउन्टरमै मारिएको भनेर आफो बचाउ गर्दै छ ।

के हो इन्काउन्टर ?

सन् १९९० देखि २००० को दशकको मध्यतिर भारत तथा पाकिस्तानमा खुबै चर्चामा रहेको ‘इन्काउन्टर’ सिको र प्रयोग नेपालमा पछिल्लो समय ह्वात्तै बढेर गएको छ । यद्यपि कतिपय ‘फेक’ इन्काउन्टरले गर्दा प्रहरी प्रशासन बेलाबखत विवादमा पनि तानिँदै आएको छ । पछिल्लो ताजा घटनाक्रमलाई हेर्ने हो भने प्रहरीले ती दुई अपहरणकारीलाई इन्काउन्टरमा मारेको भनेर विज्ञप्ति जारी गरे तापनि उपलब्ध समाचार र भरपर्दा स्रोतहरुलाई नियाल्दा सो घटना फेक इन्काउन्टर थियो ।

खासमा कुनै पनि अपराधी या त्यस्तै प्रकृतिको खराब आचरण भएको वयक्ति वा समूहसँगको आकस्मिक जम्काभेटमा प्रहरी या सुरक्षा निकायले आफो आत्मसुरक्षाको खातिर त्यस्ता समूह या व्यक्तिमाथि गर्ने सर्च अपरेसन या जवाफी फायरिङ नै इन्काउन्टर हो । इन्काउन्टर खासमा त्यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्ति या समूहलाई नियन्त्रणमा लिन गरिने विशेष सर्च अपरेसन हो । यस्तो अवस्थामा त्यस्ता अपराधी समूहका व्यक्तिको मृत्यु पनि हुन सक्छ । तर खासमा त्यस्ता आपराधिक व्यक्ति या समूहलाई नियन्त्रणमा लिनकै लागि इन्काउन्टर गर्नुपर्ने हुन्छ । तर, घ्याम्पेडाँडामा भएको सोमबारको कथित ‘इन्काउन्टर’ नभएर प्रहरीद्वारा जबर्जस्त गरिएको हत्या हो भन्न सकिने देखिन्छ ।

केही वर्ष पहिलासम्म भारत तथा पाकिस्तानमा आतंकवादी संगठनलाई नियन्त्रणमा लिन हदैसम्मको इन्काउन्टरका घटना हुने गर्दथे । त्यस्ता आतंकवादीहरुलाई सुरक्षा निकायको विशेष सर्च अपरेसन टोलीद्वारा सिधै इन्काउन्टरमा पारेर मार्ने गर्दथे । खासमा आतंककारीहरुकै लागि भनेर भारत र पाकिस्तानमा इन्काउन्टरको अभ्यास अत्यधिक भए तापनि बेलाबखत त्यस्ता इन्काउन्टरहरु विवादमा पनि तानिएका छन् ।

कतिपय मानवअधिकारकर्मीले त्यसरी गरिने इन्काउन्टर अपरेसन धेरै मात्रामा फर्जी हुने र मान्छेले इन्काउन्टरको नाममा अनाहकमा ज्यान गुमाउन बाध्य हुने भन्दै आपत्ति पनि जनाएको थिए । साथै, अन्तर्राष्ट्रिय समुदायले पनि भारत र पाकिस्तानले अवलम्बन गरेको विशेष अपरेसन इन्काउन्टरको चर्को विरोधपश्चात् हाल यी देशहरुमा इन्काउन्टरका घटनामा पनि उल्लेख्य कमि आएको छ । यद्यपि फाट्टफुट्ट रुपमा अझै पनि यस्ता घटना दोहिरिइ नै राखेका छन् । पछिल्लो समय असान्दर्भिक हुँदै गइरहेको इन्काउन्टरलाई नेपालले भने खुबै पछ्याएको देखिन्छ ।

पछिल्लो समयमा इन्काउन्टरमै पारेर कतिपय गुन्डा नाइकेहरुको हत्या नेपालको प्रहरीले गर्दै आएको छ । त्यस्तै कतिपय फर्जी इन्काउन्टर खडा गरी त्यस्तै आपराधिक समूहमा संलग्नलाई प्रहरीले मार्ने पनि गरेको छ । घ्याम्पेडाँडा इन्काउन्टर पनि केवल फर्जी इन्काउन्टर मात्र हो ।

कहा“ चुक्यो प्रहरी ?

अपहृत बालक निशान खड्कालाई शायद प्रहरीले जिउँदै उद्धार पनि गर्न सक्थ्यो । विशेष परिस्थिति भन्दै अदालतको स्वीकृतिबिनै टेलिकमबाट सिधै कल डिटेल लिएको प्रहरीले अपहरणकारीको मोबाइलमा ‘बालकलाई फिर्ता नगरे जे पनि हुन सक्ने’ भन्ने म्यासेज पठाउनु नै बालक मारिनुको प्रमुख कारण लाग्दछ । जब लोकेसन र कल डिटेल सबै प्राप्त गरिसकिएको छ भने प्रहरीले सूक्ष्म अपरेसन गर्नुपर्दथ्यो ।

बालक पनि सकुशल फिर्ता गर्न सकिने र अपहरणकारी पनि सहजै फन्दामा पार्न सकिने मौका प्रहरीले आफै त्रुटिको कारण गुमाएको मात्र छैन कि एउटा बालक सकुशल फिर्ता गर्न सक्ने सामर्थ्यबाट पनि प्रहरी गम्भीर रुपले चुकेको देखिन्छ । यसमा प्रहरीको ‘हिरोइज्म’ बन्ने सपना अत्यन्तै गलत तरिकाले तुहिएको मात्र छैन, प्रहरीको नियतमै अनेक शंका अनि प्रश्नहरु तेर्सिएका छन् ।

अपहरणकारी रहेको भनिएको झुर नगदेशस्थित श्याम लवटको घरमा डेरा लिई बसेका ती दुई अपहरणकारीको प्रहरीले जब लोकेसन पत्ता लगायो, तब अत्यन्तै सम्वेदनशील र सतर्कताका साथ ती दुवैलाई सहज रुपमै नियन्त्रणमा लिन सक्थ्यो भने बालकको पनि सकुशल उद्धार गर्न सकिन्थ्यो होला । तर, प्रहरीको उक्त एसएमएस सबैका लागि भारी मात्र परेन कि स्वयम् प्रहरी पनि यस्ता गम्भीर एवम् सम्वेदनशील विषयहरुमा कसरी चुक्दोरहेछ भन्ने विषयको उजागर हुन्छ ।

प्रहरीको यति ठूलो लापरबाहीले गर्दा अपरेसनमा खटिएको प्रहरी टोली त बद्नाम भयो-भयो, साथमा न बालक जीवित रहे, न सबुत प्रमाण नै हात लाग्यो । प्रहरीको उक्त सन्देशपश्चात् नै अपहरणकारीले प्रहरी अब हाम्रो पिछा गर्दै छ, हामी उम्किनै पर्दछ भन्ने मनसायले उक्त बालकको हत्या गरेको हुन सक्छ ।

अर्कोतर्फ जब प्रहरी अपहरणकारीकै डेरामा पुग्यो र अपहरणकारी समात्न सफल रह्यो भने किन घ्याम्पेडाँडामा लगेर गोली हानी र्मायो त भन्ने चर्को सवाल छ । उनीहरु बस्दै आएको डेरामै ती अपहरणकारीलाई मरणासन्न हुने गरी कुटेको थाहा पाएका घरबेटीले पुलिस चौकी लगेर जे गरे पनि गर्नुहोस् तर यहाँ यस्तो नगर्नुहोस् भन्ने आग्रहपश्चात् गाडीमा लगेर घ्याम्पेडाँडातर्फ लगेको रहेछ ।

जब त्यसरी नियन्त्रणमा लिई नै सकेपछि बालक अपहरण, फिरौती र हत्याका साथै ती अपहरणकारीहरुको विगतको बारेमा छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याएर दोषीलाई हदैसम्मको कानुनी कारबाहीको भागिदार बनाउनुपर्नेमा नक्कली इन्काउन्टरको नाममा किन र्मायो प्रहरीले ? किन नष्ट र्गयो प्रमाणहरु ? मुख्य प्रश्न यही नै हो ।

त्यस दिनको घटनाक्रम

घटनाक्रम नियाल्दा अपराधी पेशेवर नभएको पुष्टि हुन्छ । बच्चा अपहरण गरेर मारिसकेपछि पनि आफै डेरामा बसिरहेका ती अपहरकारीलाई पेशेवर अपराधी मान्न सकिन्न । पेन्टरको काम गर्दै आएका ती अपहरणकारी छिटो पैसा कमाउने लालसामा आफूहरु त डुबे नै, साथमा एउटा जीवन फक्रिन नपाउँदै कोपिलामै निमोठेका छन् । यस्तो भयंकर अपराधकर्मको सजाय त उत्तिकै कठोर त हुनै पर्दछ । नेपालमा अहिलेसम्म मृत्युदण्डको प्रावधान नभएको हुँदा ती अपराधीहरुलाई आजीवन कारावासको सजाय दिन सकिन्थ्यो भने शायद उनीहरुबाट यथेष्ट अन्य प्रमाणहरु पनि संकलन गर्न सकिन्थ्यो । तर प्रहरी यो विकल्पबाट गम्भीर रुपमा चुकेको छ ।

सानोठिमीस्थित डेरामा आफू अबेर फर्कने जानकारी गराएका उनीहरु राति १२ बजेतिर मात्र फर्किएका रहेछन् । शायद त्यति बेलासम्म उनीहरुले बालकलाई मारेर गाड्नसम्म भ्याइसकेका थिए होलान् । डेरामा फर्किंदा पूरै हिलाम्य भएकाले राति नै लुगा र जुता धोएर रेलिङमा सुकाएका रहेछन् । बिहान ७ बजेतिर प्रहरी उनीहरुको कोठामा छिरेर ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी कुटेको रहेछ ।

उनीहरुकै बयानका आधारमा प्रहरीले बालकको शव पनि खोतलेर निकाल्यो । त्यसपछि दुवै आरोपीलाई प्रहरीले आँखामा पट्टी बाँधेर ११ बजेतिर गाडीमा हाली लगेको रहेछ । दिउँसो १ बजेतिर बल्ल समाचारहरु आउन लागे- घ्याम्पेडाँडामा प्रहरीसँगको इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु भनेर । अपहरणकारी इन्काउन्टरमा मारिएको खबरले सामाजिक सञ्जालहरु गर्माए । प्रहरीहरु स्याबासीका पात्र बनाइए । तर कसैको ‘हिरोइज्म’ बन्ने प्रहरी अधिकारीको महत्वकांक्षा त पूरा भयो तर बालकलाई किन बचाउन सकिएन भन्ने मूल विषय ओझेलमा र्पयो । प्रहरीले आरोपीलाई जंगलमा लगेर इन्काउन्टरको नाम दिई गोली ठोक्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान स्वत: कमजोर भएको छ ।

केही अनुत्तरित प्रश्नहरु

काँडाघारीबाट अपहरणमा परेका ती बालकको अपहरणपछि फिरौती मागलगत्तै बालकको हत्या, अनि लगत्तै अपहरणकारीको इन्काउन्टरमा मृत्यु । यी सबै घटना केलाउँदै जाँदा प्रहरीको गतिविधि शंकास्पद र प्रतिक्रिया सतही देखिन्छन् । खासमा अपहरणकारीलाई प्रहरीले डेराबाटै पक्रिएर ११ किलोमिटर टाढा घ्याम्पेडाँडाको जंगलमा लगेर गोली ठोकेको रहेछ । यसबाट मुख्य गरेर केही सवालहरु पैदा हुन्छन् ।

१) जब डेराबाटै प्रहरीले फउ र्गयो भनेपछि उनीहरुलाई सोझै जंगलमा लगेर हत्या किन गरियो ?
२) त्यसरी फउ गरिसकेपछि बालक अपहरण, फिरौती र हत्याको कारण पत्ता लगाउनुपर्दैन ?
३) प्रहरीमा नयाँ हाकिम आउनासाथ आफो सस्तो लोकप्रियताको लागि इन्काउन्टरको भ्रम फैलाएर आफू हिरो बन्न खोज्ने प्रवृत्तिले कस्तो सन्देश देला ? यो घटना इन्काउन्टर नभएर आफू ‘हिरोइज्म’ बन्ने मेथोड मात्र रहेछ भन्ने पुष्टि भयो ।
४) त्यसरी फउ गरिसकेपछि ती अपहरणकारी र हत्याराद्वारा विगतमा गरेका कर्तुतको पनि खोजनीति गर्नुपर्दथ्यो वा पर्दैनथ्यो ?
५) प्रहरीले उनीहरुको डेरामा गएर बाहिरका मान्छेले नै सुन्ने गरी कुटेर उनीहरुले नै अपहरण, फिरौती र हत्या गरेको हो भनेर बकाएछन् । हुन सक्छ – प्रहरीको लातको मारमा अन्य परेर खासमा अपराधी भागेको वा भगाइएको पो कि ?
६) इन्काउन्टरमा मारिएका भन्ने ती दुवैजना अपहरणकारी नै हुन् भन्ने दरिलो प्रमाण प्रहरीसँग के छ ?
७) चिया पसल गर्दै आएकी बालककी आमाले पसलमा चिनजान भएकै आधारमा आफो नितान्त व्यक्तिगत कारोबारको लागि पनि ग्राहकको सहारा लिनुपर्नाको कारण के हो ?
८) आफ घ्याम्पेडाँडाको जंगलमा लगेर मार्ने अनि इन्काउन्टरमा मारिएको भनेर हल्ला फैलाएर प्रहरी संगठनले कस्तो सन्देश दिन खोजेको होला ?
९) बालकको बुबा मलेसियाको जागिरे, आमाले चिया पसल चलाएर गुजारा गर्दै आएकी, ती अपहरणकारीलाई कसरी थाहा भयो कि यिनीहरुसँग यति रकम माग्यो भने सहजै उपलब्ध हुन सक्छ भनेर ?
१०) मुख्य कुरा यति छिट्टै बालक किन मारियो, तत्कालै प्रहरीले खबर पाए तापनि बालकको जीवितै उद्धार किन गर्न सकिएन ? वा, कथित अपहरणकारीले बालकलाई यति छिट्टै मारेर गाड्नुको उद्देश्य के थियो ? यी सबै विवरणहरु संकलन गर्नबाट किन चुक्यो प्रहरी ?
११) अपराधको अनुसन्धान कुनै पनि कोणबाट गर्न सकिन्छ । बालककी आमा र कथित ती अपहरणकारीबीचको सम्बन्ध के हो, कनेक्सन के हो ? यसबारेमा प्रहरीले किन अनुसन्धान नै गर्न चाहेन ?

Facebook Comments