नेपालमा कमेडी फिल्मको बाढी

पछिल्लो समय नेपालमा कमेडी फिल्महरुको बाढी आइरहेको छ । यसँसगै चर्चित हास्यकलाकारहरु टिभी सिरियल छोडेर फिल्म निर्माण र अभिनयमा सक्रिय बनेका छन् । अहिले चलेका सबैजसो हास्यकलाकारहरु विभिन्न टिभी सिरियलबाटै चिनिएका हुन् । तर, उनीहरुमध्ये एकाधलाई छोडेर सबै सिरियलबाट टाढा भएका छन् । सानोपर्दाबाट उनीहरुको सक्रियता ठूलो पर्दामा सरेको छ ।

‘तितो सत्य’ बन्द भएपछि दिपकराज गिरी र दिपाश्री निरौला फिल्म निर्माणमा होमिए । थुप्रै हास्य कलाकारको सहकार्यमा निर्माण भएको फिल्म ‘६ एकान ६’ ले दर्शकलाई हलमा तान्न सफल भयो । त्यसयता उनीहरुले ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’ का दुई सिक्वेल बनाइसकेका छन् । छक्का पञ्जाले व्यापारिक सफलताको कीर्तिमान नै राखेको छ ।

यो समूहमा दिपक र दिपासहित केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङलगायत छन् । सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे भने ‘छक्का पञ्जा’ पछि यो टिमबाट अलग्गिएका छन् । वरिष्ठ हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य टिभी सिरियलमा नदेखिएको धेरै भयो । उनीहरुको पछिल्लो हास्य टेलिशृंखला ‘हरिबहादुर मदनबहादुर’ ले दर्शकलाई निराश बनाएको थियो । अहिले यो जोडी फिल्म निर्माणमा लगेको छ । मह सञ्चार र किरण केसीद्वारा निर्मित फिल्म ‘सत्रु गते’ ले अपार सफलता पाएपछि अर्को फिल्म ‘दाल भात तरकारी’ को घोषणा भइसकेको छ ।

‘मेरी बास्सै’ बाट चिनिएका हास्य जोडी हुन् सीताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’ । पछि यसमा विल्सनविक्रम राई ‘तक्मे बुढा’ पनि जोडिएका थिए । माग्ने र तक्मेले ‘मेरी बास्सै’ छोडेको धेरै भइसक्यो । उनीहरु मिलेर ‘खासखुस’ नामक सिरियल सुरु गरे । तर, अहिले दुवै फिल्ममा नै बढी सक्रिय छन् । माग्नेबुढा ‘छक्का पञ्जा’ टिमको महत्वपूर्ण सदस्य हुन् भने ‘तक्मे बुढा’ को पनि नेपाली फिल्ममा राम्रै डिमान्ड छ । मेेरी बास्सैबाट चर्चित अर्का कलाकार दम्पत्ति धुर्मुस सुन्तली पनि केही समयदेखि यो सिरियलमा देखिएका छैनन् । भुकम्पयता यो जोडी कलाकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय छ । यद्यपि अहिले उनीहरु पनि फिल्म निर्माणमा होमिने घोषणा गरेका छन् । उनीहरुले अहिले स्क्रिप्ट लेखनमा व्यस्त छन् । उनीहरुसँग हास्यव्यंग्यकर्मी मनोज गजुरेल पनि जोडिएका छन् ।

Facebook Comments