‘सुरुवात’बाट झुल्किएकी गायिका गीता

नवगायिका गीता बस्नेतले एल्बम ‘सुरुवात’ लिएर बजारमा आएकी छन् । झापा अर्जुनधारा १ सिस्नेकी बस्नेतको यो पहिलो एल्बम हो । एल्बममा गीतकार नविन चापागाइर्ंको शब्द, गायक तथा संगीतकार तारावीर पाण्डेको संगीत रहेको छ । एल्बमको शीर्ष गीत ‘तिम्रो नियत नै खोटो रहेछ’ को म्युजिक भिडियोसमेत निर्माण गरी सार्वजनिक गरिएको छ । केही दिनअघि बिर्तामोडमा आयोजना गरिएको एक कार्यक्रमका बीच एल्बम ‘सुरुवात’ को विमोचनसँगै म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । एल्बममा ‘ओए काली ओए काली’, ‘परदेशी’, ‘तिम्रो साथ छोडे पनि’ गरी चारवटा गीत समावेश गरिएको छ ।

संगीतमा गरेको लगानी सितिमिति फिर्ता नहुने भए पनि धेरैजनाले रहरकै भरमा लगानी गर्ने गरेका छन् । यही क्षेत्रमा भविष्य खोज्नेहरु लगानी फिर्ता नहुने चिन्ताले पिरोलिरहेको प्रशस्त उदाहरण भेटिन्छ । तर, गायनमा सानै उमेरदेखि लगाव भएकी बस्नेत यही क्षेत्रमा भविष्य खोज्दै अघि बढेको बताउँछिन् । पहिलो एल्बममा उनको १ लाखभन्दा बढी लगानी छ । रहरकै भरमा यो क्षेत्रमा अघि बढ्नेहरु धेरैजना असफलका शिकार बनेका छन् । तर, नवगायिका बस्नेतले भने संगीतमा अघि बढेरै छोड्ने दृढता व्यक्त गरेकी छन् । मेहनत र संर्घषबाट मात्र सफलता हात पर्ने बताउँदै उनले व्यावसायिक रुपमा नै अघि बढ्ने बताइन् ।

२०७५ साल असार २८ गते पहिलो गीत ‘तिम्रो नियत नै खोटो रहेछ’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी बस्नेतले धरैको राम्रो प्रतिक्रिया प्राप्त गरेको बताएकी छन् । पारिवारिक साथका कारण यो क्षेत्रमा प्रवेश गर्न सफल भएको बताउने उनले आउँदै गरेको महान चाड दसैँसम्ममा अर्को गीत निकाल्ने तयारी भइरहेको जानकारी दिइन् ।

Facebook Comments