इलाममा खानेपानी आयोजनाका लागि एडिबीसँग सम्झौता

इलाम, साउन ३० । नगरमा सञ्चालन हुने इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि चार पक्षबीच सोमबार वित्तीय सम्झौता भएको छ ।

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण गरिने योजनाका लागि खानेपानी आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम बजार खानेपानी सरसफाइ उपभोक्ता संस्थाबीच वित्तीय सम्झौता भएको हो । खानेपानी आयोजना व्यवस्थापन कार्यालयको तर्फबाट उपनिर्देशक लीलाप्रसाद ढकाल, नगर विकास कोषका आयोजना संयोजक सुवास पन्त, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र आयोजना उपभोक्ता समितिका अध्यक्ष केदार थापाबीच वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

८५ करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको अबको काम भने टेन्डर प्रक्रियाबाट हुने भएको छ । साउन महिनाभित्र टेन्डर हुने र त्यसपछि आयोजना निर्माणको ढोका खुल्नेछ । नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत आयोजना सञ्चालन हुन लागेको हो । आयोजनाका लागि एडिबीमार्फत नेपाल सरकारले ७० प्रतिशत (५८ करोड ५७ लाख), नगर विकास कोषबाट २५ प्रतिशत ऋण सहयोग (२० करोड ९२ लाख), प्राप्त हुनेछ भने उपभोक्ताबाट पाँच प्रतिशत अर्थात चार करोड २७ लाख १५ हजार रुपैयाँ संकलन भइसकेको छ । उपभोक्ताबाट पाँच प्रतिशत रकम संकलन भएपछि योजना निर्माणका लागि चार पक्षबीच वित्तीय सम्झौता भएको हो ।

आयोजना उपभोक्ता समितिले उपभोक्तबाट १५ हजार २०० रुपैयाँका दरले रकम संकलन गरेको हो । आयोजनाको ठेक्का लागेपछि दुई वर्षभित्र योजना सम्पन्न हुनेछ । लामो समयदेखि इलाम नगरबासीले झेल्दै आएको खानेपानी समस्या समाधान हुने छ ।
साना सहरी आयोजनाले आउँदो २० वर्षसम्म सदरमुकामको खानेपानी माग पूरा गर्ने अनुमान छ । नगरमा प्रतिसेकेन्ड ३२ लिटर पानीको माग हुँदै आए पनि अहिले प्रतिसेकेन्ड ८ लिटर मात्र आपूर्ति भइरहेको छ । तर, अब आयोजना बन्ने निश्चित भइसकेकाले दुई वर्षपछि प्रतिसेकेन्ड ४४ लिटर पानी आपूर्ति हुनेछ । यस आयोजनाबाट ४ हजार १०० घरधुरीका २८ हजार १७२ जना लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए ।

आयोजना इलाम नगरपालिका ६, ७, ८ र ९ को आधाआधा भागका उपभोक्ता लाभान्वित हुनेछन् । आयोजना निर्माण सम्पन्न पश्चात त्यसको सबै स्वामित्व इलाम नगरपालिकाले लिनेछ । आयोजना निर्माणका लागि जिल्लाको सन्दकपुर गाउँपालिकामा रहेको गिताङ, राते र मेवा खोलाको पानी आपूर्ति गरिनेछ । हाल पनि नगरमा गिताङ खोलाको पानी आपूर्ति भइरहेको छ । नगर विकास कोषका आयोजना संयोजक सुवास पन्तले आयोजना निर्माणको लागि निर्माण कम्पनीसँग सम्झौता भएकै दिन ऋण तथा व्यवस्थापन सम्झौता पनि हुने भएको जानकारी दिए ।

Facebook Comments