अर्जुनधाराधामको सयौँ माछा मरे

शनिश्चरे, साउन ३० । अर्जुनधारा जलेश्वरधामको पोखरीमा रहेको सयौँ माछा मंगलबार बिहान मरेका छन् ।

पूर्वको पशुपतिनाथ मानिने अर्जुनधाराधाममा साउनको अन्तिम सोमबार सकिएसँगै पोखरीका माछा मृत अवस्थामा फेला परेको हो । सोमबार विभिन्न स्थानबाट आएका झनहरुले जल चढाउन आउँदा पूजा सामग्री पोखरीमा हालेपछि ‘फुड पोइजन’ का कारण माछाको मृत्यु भएको अनुमान गरिएको छ ।

मन्दिरमा चढाउन ल्याएको सामग्री पोखरीमा हालिएका कारण माछा मरेको धाम समितिका महासचिव विष्णु निरौलाले बताए । उनका अनुसार गत वर्षदेखि नै पूजा सामग्री पोखरीमा नहाल्न अनुरोध गरिएको भए पनि अटेर गरी चढाइँदा ‘फ पोइजन’ भएर विभिन्न प्रजातिका माछा मरेका हुन् ।

पोखरीमा स्थानीय जातका माछासँगै मागुर, रहु र एउटा कछुवा मरेको अवस्था भेटिएपछि मंगलबार बिहानै धाम समिति र स्थानीयको सहयोगमा पोखरी सफा गरिएको थियो । बाँकी रहेका माछा पनि बिरामी अवस्थामा भेटिएको धाम समितिले जनाएको छ । पोखरीमा साना, ठुला गरी करिब एक क्वीन्टल माछा मरेको बताइएको छ ।

मृत भेटिएका माछालाई जमिनमा खाल्डो खनेर पुरिएको छ भने पोखरीको पानीलाई फिटकिरी, पोटास लगाएर सफा गरिएको समितिका सदस्य शेखर प्रधानले बताए । समितिका अध्यक्ष नवीन गट्टानीका अनुसार यस्तो समस्या दोहोरिएकोले अबका दिनमा पोखरीमा फूलपाती तिल, जौलगायतका सामान नपस्नेगरी तारजाली लगाएर पोखरीका माछाको संरक्षण गर्ने दाबी गरे ।

Facebook Comments