“शब्दका जादुवाल” डिपी खनाल

गीतकार डिपी खनाल पछिल्लो समय अत्यन्त व्यस्त छन् । कारण उनले लेखेका प्राय: सबै गीतहरुले राम्रो चर्चा पाउने गर्छ । यही क्षेत्रमा नाम कमाउने ठुलो सपना बोकेर करिब एक दशकअघि पाँचथरबाट झोला बोकेर राजधानी प्रवेश गरेका उनी हिजोआज सफलता बटुलिरहेका छन् । युवा पुस्ताका मनहरुलाई कसरी जित्ने शब्द लेख्न सकिन्छ भन्नेमा उनी अन्यभन्दा एक कदम अगाडि नै छन् । सायद नेपाली सांगीतिक क्षेत्रमा उनले लेखेका गीतहरु मन नपराउने कमै होलान् । यस अर्थमा उनलाई शब्दका जादुवाल भने पनि हुन्छ ।

प्रमोद खरेलको आवाजमा रहेको गीत ‘दन्तैमा’ होस् या ‘लाइदेउन मायाले’ खनालकै शब्द हुन् । ‘सेल्फी हानौला’ हुँदै ‘ट्युसन पढाउँला’ सम्म पुग्दा धेरै युवाहरुको मन उनीतिर तानियो । युवाहरुमाझ लोकप्रिय बनेका खनालका शब्दहरुमा मायाप्रेम र यसमा घटिरहेका घटनाहरको यथार्थ भेटीन्छ । केही दिन अघि डुस म्युजिक मार्फत सार्वजनिक भएको शुसान्त खत्री र एलिसा राई अभिनित समीर राईको गीत ‘निरमाया’ को चर्चा सेलाउन नपाउँदै उनको अर्को गीत बाहिरी सकेको छ । अहिले उनी सबैलाई बाडुली चलाउन व्यस्त छन् । उनकै शब्द गायक जगदीश समालको स्वर तथा धनु ग्याग्मी मगरको संगीतमा रहेको गीत ‘बाडुली’ अहिले बजार तताउने दाउमा छ ।

संगीत तथा लेखनमा खासै आम्दानी हुँदैन भन्नेहरुका लागी गीतकार खनाल उदाहरण हुन् । मेहनत र परिश्रम गर्न सके हरेक क्षेत्र आम्दानीको स्रोत बन्न सक्छ भन्ने भनाइलाई चरितार्थ गदै खनाल गीत लेखनको क्षेत्रमा व्यावसायिक बनेका छन् । खनालका धेरै गीतहरु सार्वजनिक हुने तरखरमा रहेका छन् । दर्जनौँ गीतहरुबाट सफलता हात पारेका खनाल आगामी दिनहरुमा अझ मन छुने खालका गीतहरु लिएर आउने बताउँछन् ।

Facebook Comments