बिर्तामोड खुला दिसामुक्त घोषणा

बिर्तामोड, भदौ ८ । झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाको रुपमा बिर्तामोड नगरपालिका खुला दिसामुक्त घोषणा भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नगरपालिका खुला दिसामुक्त भएको घोषणा गरे ।

उनले नगरपालिका खुला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराएका थिए ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल र कार्यक्रमका प्रमुख अतिथि कार्कीले नगरपालिकालाई खुला दिसामुक्त क्षेत्रको प्रमाणपत्र प्रदान गरे ।

आधाररेखा सर्वेक्षणअनुसार १७ हजार ८ सय ९४ घरधुरी रहेको बिर्तामोड नगरपालिकामा ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमको सहयोगमा वडा नम्बर १ देखि ६ सम्म (साविक बिर्तामोडमा) मानव विकास केन्द्र र वडा नम्बर ७ देखि १० सम्म (साविक गरामनी) सहारा नेपालले खुला दिसामुक्त अभियान सहजीकरण गरिएको हो ।

साविक बिर्तामोडमा १ हजार १ सय ६५ घरधुरीमा नयाँ सुरक्षित शौचालय निर्माण गर्नुका साथै साविक गरामनीमा १ हजार ७ सय ११ नयाँ घरायसी शौचालय निर्माण भएका थिए । घोषणा समारोहमा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले पूर्ण सरसफाइ प्रतिबद्धता वाचन गरेका थिए भने वडा नम्बर ४ का अध्यक्ष एवम् वातावरण समितिका संयोजक कुलप्रसाद संग्रौलाले सरसफाइ प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लाखे नाच प्रदर्शन गर्नुका साथै देवी माध्यमिक विद्यालय, दुर्गा माध्यमिक विद्यालय र महेन्द्रज्योति माध्यमिक विद्यालयको तर्फबाट गीत र नृत्य प्रस्तुत गरिएको थियो । बिर्तामोड मुक्तिचोकदेखि सुरु भएको बाजागाजा र ¥याली अग्रसेन भवनमा सभामा परिणत भएको थियो ।

सो अवसरमा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सरसफाइ नै समृद्धिको प्रवेश विन्दु भएकोले सरसफाइबिना कुनै पनि ठाउँको विकास र समुन्नति सम्भव नहुने बताए । ‘हामीले समृद्धि र रुपान्तरणको कुरा गरिरहेका छौँ, तर हाम्रोजस्तो ठाउँमा अझै पनि चर्पी बनाउन र त्यसमा दिसा गर्न सिकाउनुपर्ने अवस्था छ’, उनले भने, ‘त्यसैले सामाजिक रुपान्तरणका लागि स्वस्थ जनता र स्वच्छ आनिवानी हुनुपर्छ, यसका लागि पूर्ण सरसफाइको यात्रालाई निरन्तरता दिनुपर्छ ।’

पहाडबाट आउने, मेची महाकाली यात्रा गर्ने र भारतबाट सिलगढी हुँदै आउनेहरुका लागि बिर्तामोड पहिचायक विन्दु भएको बताउँदै दिगो सरसफाइ प्रवद्र्धनको विस्तृत योजना बनाएर लाग्न बिर्तामोड नगरपालिकालाई उनले सुझाव दिए । सरसफाइ प्रवद्र्धन गर्नु र वातावरण सफा राख्नु प्रत्येक नागरिकको दायित्व भएको समेत उनले बताए ।

प्रदेश सभा सदस्य एकराज कार्कीले अभियानकर्ता, सहजीकरण गर्ने निकाय, सञ्चार क्षेत्र र वडाहरुको अथक प्रयासले खुला दिसामुक्त अवस्था हासिल गरेको बताउँदै पूर्ण सरसफाइ अभियानको निरन्तरताका लागि सबैसँग अपिल गरे । बिर्तामोड नगरपालिकाका रणनीतिक स्थानहरुमा सार्वजनिक शौचालय र स्नानगृह बनाउन समेत उनले नगरपालिकालाई सुझाव दिए । प्रदेशसभा सदस्य जसमाया गजमेरले झापा जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरेर सामाजिक समुन्नति र समृद्धिको यात्रामा लाग्नुपर्ने सुझाव दिइन् । नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन जय तिम्सिनाले गरेका थिए ।

घोषणा समारोहमा खुला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था, व्यक्ति र निकायहरुलाई कदरपत्र र अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
१५ स्थानीय तह रहेको झापामा बुद्धशान्ति, कमल, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा कनकाई, शिवसताक्षी र अर्जुनधारा नगगरपालिका यसअघि नै खुला दिसामुक्त घोषणा भइसकेका छन् । झापा गाउँपालिका र गौरादह नगरपालिकाका सबै घरधुरीमा चर्पी निर्माण भई अन्तिम गुणस्तर अनुगमनका लागि अनुरोध भइसकको र दमक नगरपालिका, कचनकवल गाउँपालिका तथा मेचीनगर नगरपालिका अभियानको अन्तिम चरणमा पुगेका छन् । सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकामा सबैभन्दा बढी चर्पी बनाउन बाँकी छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार भद्रपुरमा ४ सय ६३ चर्पी बनाउन बाँकी रहेको छ भने झापा जिल्लाभरमा ७ सय ५७ घरधुरीमा चर्पी निर्माण गर्न बाँकी छ ।

Facebook Comments

5 प्रतिक्रिया