एसियाडमा २० वर्षपछि नेपाललाई रजत पदक

झापा, भदौ १४ । १८ औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टबाट रजत पदक जितेको हो । बुधबार पाँचौँ चरणको खेल सकिएसँगै नेपालले रजत जितेको हो । यो इभेन्टमा जापानले स्वर्ण जित्यो । आयोजक इन्डोनेसियाले कास्य पदक हात पारेको छ ।

एसियाली खेलकुदमा नेपालले २० वर्षपछि रजत पदक जितेको हो । यसअघि सन् १९९८ को बैंकक एसियाली खेलकुदमा सविता राजभन्डारीले तेक्वान्दोबाट रजत जितेकी थिइन् । योसँगै नेपालले एसियाली खेलकुदमा दोस्रो रजत जितेको छ ।

नेपाल जापानसँग २७ अंकले पछि परेको छ । ’नेपालले पदक जितेकोमा धेरै खुसी लागेको छ’, नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले भने, ’तर थोरैै अंकले स्वर्ण जित्न नसकेेेमा दुुु:ख लागेको छ ।’ यसअघि मंगलबारे टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोस्रो स्थानमा उक्लिएको थियो । नेपालको कुल २ हजार ७ सय ९८ अंक जोडेको थियो । पहिलो स्थानमा रहेको जापानको ३ हजार २ सय ९८ अंक थियोे ।

२ हजार १ सय ९२ अंकसहित दक्षिण कोरिया तेस्रो स्थानमा थियो । अन्य खेलहरुमा खराब प्रदर्शन गरेको नेपालले एघारौँ दिन प्याराग्लाइडिङबाट पदक जित्ने आशा कायम राखेको थियो । क्रस कन्ट्री इभेन्टमा नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले प्रतिस्पर्धा गरेका थिए । क्रस कन्ट्री इभेन्ट इन्डोनेसियाको बेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो । यही इभेन्टको महिलामा भने नेपाल छैटौँ भएको छ ।

पाँच राउन्डको पहिलो २ राउन्डमा नेपाल तेस्रो स्थानमा थियो । तेस्रो दिन चौथो स्थानमा झरेपछि नेपाल दबाबमा आएको थियो । तर चौथो दिन नेपाल उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको थियो । पाँचौ दिन पनि नेपालले धैर्यपूर्ण खेल्दै पदक पक्का गरेको हो । प्याराग्लाइडिङमा नेपालले पहिलोपटक भाग लिएको हो ।

प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा नेपाल एसियाको उत्कृष्ट राष्ट्रमध्ये एक हो । यसअघि प्याराग्लाइडिङमा नेपालले एक्युरेसीको पुरुष तथा महिलामा व्यक्तिगत तथा टिम इभेन्टमा प्रतिस्पर्धा गरेको थियो । एसियाली खेलकुदमा नेपालले पछिल्ला २ संस्करणमा एकएक कास्य मात्र जित्न सफल भएको थियो । सन् २०१० मा चीनको ग्वान्झाउमा भएको एसियाली खेलकुदमा नेपालका लागि दिपक महर्जनले बक्सिङबाट कास्य जितेका थिए । यस्तै सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा करातेकी विमला महर्जनले कास्य पदक हात पारेकी थिइन् ।

यसअघि नेपालले एसियाली खेलकुदमा जितेको सबैभन्दा ठूलो पदक सन् १९९८ मा सविता राजभण्डारीले जितेको रजत पदक हो । उनले तेक्वान्दोबाट पदक जितेकी थिइन् । यसअघि नेपालले बक्सिङ, कराते र तेक्वान्दोबाट पदक जितेको थियो । एसियाली खेलकुदमा पदक जित्ने प्याराग्लाइङडिङ नयाँ खेल भएको छ । योसँगै नेपालले नेपालको एसियाली खेलकुदमा २४ औँ पदक जितेको छ ।

Facebook Comments