ट्रेल रनर मिरालाई अन्तर्राष्ट्रिय पदक

झापा, भदौ १४ । नेपालकी चर्चित ट्रेल रनर मिरा राईले इटलीस्थित भल म्यासिनो सोन्डारियामा सम्पन्न विश्व सिरिजअन्तर्गतको महिला ‘स्काइ रनिङ ट्रोफेओ किमा’ प्रतियोगितामा तेस्रो स्थान हात पार्न सफल भएकी छन् ।

सोमबार सम्पन्न प्रतियोगितामा मिराले ५२ किलोमिरटको दूरी ७ घण्टा ४१ मिनट ४६ सेकेन्डमा पूरा गरेकी थिइन् । मिराले कास्य पदक हात पार्दा अमेरिकी हिलारी जेराडीले स्वर्ण पदक हात पारिन् । जेराडीले ७ घण्टा ३७ मिनेट २९ सेकेन्डमा सो दूरी पूरा गरेकी थिइन् । यस्तै दक्षिण अफिाकी रोवेन ओवेनले ७ घण्टा ३९ मिनेट १ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जितेकी थिइन् ।

यो प्रतियोगितामा न्युरिया पिकासको कीर्तिमानी अहिलेसम्म कसैले भंग गर्न सकेको छैन । उनले ५२ किलो मिटरको दूरी ७ घण्टा ३६ मिनेट २१ सेकेन्डमा पूरा गरेकी थिइन् । खुट्टामा चोट लागेपछि शल्यक्रिया गरेर दुई वर्षसम्म आराम गरेकी मिरा राई गत वर्षबाट पुन: दौडमा फर्केकी थिइन् । उनले भनिन्, ‘अझै शतप्रतिशत निको भइसकेको छैन, तथापि आफूले आफलाई च्यालेन्ज गरिरहेकी छु, त्यसैले कमब्याक पछि पनि रित्तो हात फर्कनु परेको छैन, आफो प्रदर्शनप्रति सन्तुष्ट नै छु ।’

मिराले केही समय आराम गरेर फेरि स्पेनको फरेनर आइल्यान्ड हुँदै बेलायतमा दौडन जाने जानकारी गराएकी छन् । एसिया महादेशमा असाधाराण काम गर्ने ९ व्यक्तिहरुमध्ये मिरा परेपछि अगस्ट २३ तारिखमा एसिया सोसाइटीले उनलाई गेम चेन्जर अवार्डबाट सम्मान गर्ने घोषणा गरिसकेको छ । मिराले सन् २०१५ मा फन्सको मोन्ट ब्लन्क ८० किलोमिटरतर्फ विश्व कीर्तिमान राखेकी छन् भने उनी ‘नेसनल जोग्राफिक एडभान्चर अफ द इयर’ बाट पनि समेत सम्मानित भइसकेकी छन् ।

Facebook Comments