अर्पणाको तीज गीतको भिडियो सार्वजनिक

दस वर्षदेखि गायनमा लागेकी दमककी गायिका अर्पणा श्रेष्ठको स्वरमा रहेको तीज गीतको म्युजिक भिडियो एक कार्यक्रमका बीच बिर्तामोडमा सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुलीले रेडमग क्याफे बिर्तामोडमा भएको एक सांगीतिक कार्यक्रममा अर्पणाको तीज गीत ‘वर्ष दिनको तीजमा ए मेरो हजुर’ को भिडियो सार्वजनिक गरेकी हुन् । कार्यक्रमको संयोजन रेड मग क्याफेका सञ्चालक सुरेन्द्र उप्रेती गोपीले गरेका थिए ।

नारायण सुवेदी आभासको शब्द, संगीत रहेको गीतको भिडियोको निर्देशन सिजन बरालले गरेका हुन् । सुलभ अधिकारीको क्यामेरा, निशान घिमिरेको सम्पादन रहेको भिडियो एरेन्ज विनय केटुले गरेका हुन् । भिडियोमा सविना थापा, कर्मा लामा र रेखा कँडेलको अभिनय रहेको छ ।
नारी हकहितमा संगीतका माध्यमबाट लाग्दै आएकी अर्पणाले यसपालिको तीजमा नारीहरुको वेदना, पतिपत्नीबीच हुने व्यवहार आदिलाई समेटेर ‘वर्ष दिनको तीजमा ए मेरो हजुर’ बोलको तीज भिडियो बजारमा ल्याएकी हुन् । उक्त तीज गीतमा घरमा बुहारीलाई छोरीको संज्ञा पनि दिन नसक्ने परिवारमा श्रीमानले आफै बहिनीको जसरी माया ममता दिनु पर्ने संस्कारलाई गीतमाफ बताउन खोजिएको छ । घरेलु हिंसा कम गर्न यो गीत बनाइएको गायिका श्रेष्ठले बताएकी छन् ।

गीतमार्फत महिला हिंसा कम गराउन सशक्त भूमिका खेल्न सकिन्छ भन्ने अपर्णाको विश्वास छ । नेपाली संगीतमा श्रेष्ठकी छोरी क्रिस्टिना श्रेष्ठ पनि आबद्ध छिन् । उनको पनि ‘रहर’ र ‘परी’ बोलको गीत युट्युबमा धेरैले हेरेका छन् ।
‘तिमी हिँड्ने गोरेटोमा’ बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी गायिका अर्पणाका ‘पूर्णेको जून’, ‘अर्को जुनी’ लगायतका हिट गीतहरु छन् ।

Facebook Comments