बंगुर पालनमा सफल सञ्जीवकुमार

केशवराज भण्डारी

महेन्द्र राजमार्गअन्तर्गत कमल गाउ“पालिका वडा नम्बर ४ मा पर्ने चुलाचुलीमोडबाट २ किलोमिटर दक्षिण झरेपछि व्यवस्थित बंगुरपालन फार्म युवा उद्यमी सञ्जीवकुमार राईले सञ्चालन गरेको कुलुङ बंगुर फर्ममा पुगिन्छ । युवा जोस जाँगरले सञ्चालित व्यावसायिक बंगुर पालनका लागि गतिलो उदाहरण पेश गरेका राईको साहस र हिम्मतले जो कोहीलाई मोहित पार्न सक्छ ।

अहिले व्यावसायिक बंगुर पालनको सोच बनाएका उद्यमीहरुका लागि एउटा प्रेरणाको स्रोत बनेको यस फर्ममा दैनिकजसो सरदर ५ देखि ७ जनासम्म कृषकको आवागमन हुने गरेको छ ।

४६ वर्षीय युवा उद्यमी राई पूर्वी क्षेत्रका एक उदाहरणीय कृषि व्यवसायी हुन् । सुरुवातको स्थिति अत्यन्तै नाजुक आर्थिक अवस्थाको सामना गरेका राई विगत केही वर्षयता ठुलो मेहनतका साथ सफल कृषक बन्न प्रयत्नशील छन् । पारिवारिक अवस्थाका कारण सुरुवातको समयमा दु:खपीडासँग रुमलिँदै आफो कृषि पेशालाई निडर रुपमा अगाडि बढाएका राई अथक प्रयासबाट आज समाज अनि राष्ट्रकै नमुना कृषकको रुपमा परिचित छन् ।

कुलुङ बंगुर फर्म २०६१ सालबाट सुरु भएपश्चात फरक ढंगबाट बंगुर पालनको थालनी गरेका राई आज बंगुर पालनका क्षेत्रमा एक विशेषज्ञको रुपमा समेत परिचित छन् । करिब २६ कठ्ठा क्षेत्रफलमा फैलिएको यो बंगुर फर्मभित्र हाँस पालन पनि रहेको देख्न सकिन्छ । सुरुको लगानी ५ लाख ५० हजार रहेको यो बंगुर फर्म हाल नयाँ संरचनामा व्यवस्थित रुपमा पालिएको छ । यस फर्ममा रहेका बंगुरका जातमा हेम्पसायर, ल्यान्द्रइज, योर्कसायर, ड्युरो लगायतका रहेका छन् । करिब ४ करोड लगानी भइसकेको यो कुलुङ बंगुर फर्मभित्र बंगुरको हर्रा जातबाट क्रस गरिएको भनिएको बदेलको समेत पालन गरिएको छ ।

राज्यले डेढ लाखभन्दा बढीको संख्यामा रहेका साना तथा घरेलु उद्योगलाई पनि ५ प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था गर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा एउटा औद्योगिक ग्रामको स्थापना गर्ने, साना तथा घरेलु उद्योगलाई नयाँ प्रविधियुक्त बनाउन सहयोग गर्दै परामर्शको व्यवस्था गर्नसके कुलुङ बंगुर फर्मजस्ता ठुला फर्म तथा उद्योगले ठूलो राहत पाउने उनको भनाइ छ ।

औद्योगिक उत्पादन बढाउने, निर्यात बढाउने र रोजगारी बढाउने क्षमता भएका यी साना, मझौला तथा घरेलु उद्योगलाई राज्यले स्तरीकरण गरेर सहयोग गर्न जरुरी छ । कृषि उपज तथा पशु पालनका क्षेत्रमा प्रविधिको विकास भएसँगै कृत्रिम गर्भाधानको पनि विकास भइरहेको छ । यही कुलुङ बंगुर फर्म हो, जसले बंगुरको नश्ल सुधार तथा गुणस्तरीय पाठापाठी उत्पादनका लागि एआइ प्रविधि अर्थात कृत्रिम गर्भाधान गराउने ल्याबको पूर्वी क्षेत्रमा पहिलोपटक विकास गरी प्रविधिको क्षेत्रमा समेत निक्कै फड्को मारिरहेकोे छ ।

यसरी गाउँगाउँ अर्थात ठाउँ-ठाउँमा प्रविधियुक्त तवरले सञ्चालन गरेका कृषि फर्महरुको सबै क्षेत्रमा सफलता हात नपरिरहेको अवस्थामा यो बंगुर फर्म बंगुर पालक कृषक तथा पाल्न चाहने किसानका लागि एउटा अध्ययन केन्द्रको रुपमा लिन सकिने सम्भावना प्रचुर रहेको छ । फर्ममा कृत्रिम गर्भाधान भित्रिएसँगै फर्मबाट सेवा पुग्ने ठाउँका सम्पूर्ण कृषकलाई अब भाले बंगुर पाल्नु पर्ने झन्झट बेहोर्ने समस्या पनि निराकरण भएको छ ।
यस बंगुर फर्ममा ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । फर्ममा पालिएका बंगुरहरु निक्कै राम्ररी फस्टाएको देखिन्छन् । फर्म अवलोकन गर्न आउने जोकोही यहाँको भौतिक संरचना देखेर आश्चार्य पर्नु कुनै नौलो कुरा होइन ।

कुलुङ बंगुर फर्ममा हाल माउ बंगुरलाइ बढी प्राथमिकता दिइएको छ । जसले गर्दा देशमा गुणस्तरीय बंगुर उत्पादन तथा गुणस्तरीय पाठापाठी प्राप्त गर्ने स्रोत बनेको छ । हाल यस फर्ममा १३५ वटा उन्नत जातका बंगुर तथा क्रस बिका बंदेल समेत रहेका छन् । वर्षमा करिब १८ सय देखि २५ सयसम्म उन्नत पाठापाठी उत्पादन हुने गरेको कुलुङ बंगुर फर्ममा मासिक खर्च ७ लाख ५० हजार रहने गरेको छ । सुरुवातको अवस्थामा कृषि विकास बैंकमार्फत ऋण सहयोग पाए पनि फर्म विकसित हँुदै गएकाले अन्य निजी बैंकमार्फत कारोबार गरिरहेका छन् । राईलाई सुरुमा बैंकले सहयोग दिन पत्याएको थिएन तर अहिले ऋण उपलब्ध गराउन बैंकको होडबाजी चलेको छ ।
व्यावसायिक कृषि उद्यमी राई चाँडै बंगुरको मासुका परिकारहरु प्याकेजिङ गरेर बजारमा ल्याउने तयारीमा समेत जुटेका छन् ।

Facebook Comments