प्रगति महिलालाई तीज गीतको उपाधि

शनिश्चरे, भदौ २२ । महिला कृषक समूहबीच गराइएको प्राङ्गारिक कृषिमा आधारित तीज गीत प्रतियोगितामा अर्जुनधारा-१० को प्रगति महिला कृषक समूह प्रथम भएको छ ।

प्राङ्गारिक कृषि उपज उत्पादन गर्न प्रेरित गर्ने उद्देश्यले नगरको कृषि शाखाद्वारा आयोजित प्रतियोगितामा १२ समूह सहभागी थिए । जसमध्ये २३५ अंकका साथ प्रगति महिला कृषक समूह प्रथम भएको हो । जसमा १९५ अंकसहित अर्जुनधारा-७ को नमूना महिला कृषक समूह दोस्रो, १६८ अंकसहित नगरका निर्वाचित महिला जनप्रतिनिधिको समूह तृतीय र १६२ अंकसहित अर्जुनधारा-६ को सरस्वती महिला समूह चाँैथो भयो ।

विजेता समूहरुलाई क्रमश: सात हजार रुपैयाँ, पाँच हजार रुपैयाँ, तीन हजार रुपैयाँ र दुई हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो । प्रथम हुनेलाई नगर प्रमुख हरिकुमार राना, दोस्रो हुनेलाई उपप्रमुख कमला खतिवडा आचार्य र तेस्रो हुनेलाई प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले प्रदान गरेका थिए । नगर उपप्रमुख आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले गरेका थिए ।

कार्यक्रममा बोर्डकी प्रवक्ता सकुन्तला बराल, बोर्ड सदस्यहरु दिलमाया दास, लक्ष्मी तामाङ राई, हरिमाया दाहाल भण्डारी, वडाध्यक्षहरु पूष्पकुमार प्रसाईं, बलदेव गोम्देन, भैरवबहादुर खड्कालगायतको सहभागिता रहेको थियो । विभिन्न समूहका कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा सहभागीहरुलाई दर खुवाइएको थियो ।

Facebook Comments