पुराणको हिसाब खोज्दा दातामाथि उजुरी

रमेश समदर्शी

शनिश्चरे, भदौ २२ । अर्जुनधारा-७ स्थित एक मन्दिरले लगाएको महापुराणको हिसाब सार्वजनिक गर्न माग गर्ने जग्गा दाताविरुद्ध नगरको न्यायिक समितिमा मुद्दा दायर भएको छ ।

स्थानीय दुर्गा पाञ्चायन मन्दिरले दुई वर्षअघि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको थियो । लामो समयसम्म हिसाब सार्वजनिक नभएपछि मन्दिरका आजीवन सदस्य, जग्गा दाता र दान गर्ने सदस्यले हिसाब खोज्दा मन्दिर व्यवस्थापन समितिले पाँच जनाविरुद्ध अर्जुनधारा नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेको हो । दाताहरुले महायज्ञसहित संस्थाको आय-व्यय सार्वजनिक तथा साधारणसभाको माग गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिले आफरुमाथि ‘मानहानी’ गरेको भन्दै मन्दिरका जग्गादाता पृथ्वीबहादुर लामिछाने, आजीवन सदस्यहरु इन्द्रबहादुर लामिछाने, घनेन्द्र काफ्ले, ध्रुवराज ढुंगाना र युवराज पौड्यालको नाममा उजुरी गरेको छ । यस्तै ७ नम्बर वडाका अध्यक्ष नवराम ढुंगानाविरुद्ध पनि व्यवस्थापन समितिले समस्या समाधान गर्न ‘गम्भीर’ नभएको भन्दै उजुरी दिएको छ ।

हिसाब सार्वजनिक गर्न माग गर्ने सदस्यहरुले गएको भदौ १६ गते दुर्गा बस्नेतको अध्यक्षतामा एक कार्यक्रम गरेका थिए । तर, उनीहरुविरुद्ध मन्दिर व्यवस्थापन समितिले मानहानीको आरोपसहित निवेदन पेस गरेको उनीहरुको आरोप छ । समितिकी अध्यक्ष यशोदा गुरागाईं निरौलाले पेसेको निवेदनमा आरोपित समूहले गाउँमा होहल्ला गरी आतंक मच्चाउँदै समितिका पदाधिकारी, सदस्यको ‘मानाहानी’ गरेको उल्लेख छ ।

संस्थाको आयव्यय सार्वजनिक गर्नुस् भनेर आग्रह गर्दा समितिले आफरुविरुद्ध मानाहानीको आरोप लगाएर उजुरी गरेको आजीवन सदस्य ध्रुवराज ढुंगानाले बताए । ‘संस्थाको आयव्ययसँगै वार्षिक साधारणसभाको माग आजीवन सदस्यले गर्दा मानाहानी हुन्छ कि अधिकार हो ?’ उनले प्रश्न गरे । समितिको आरोपअनुरुप मानाहानी हुने किसिमको कार्य नगरेको उनीहरुको दाबी छ ।

अर्का आरोपी तथा आजीवन सदस्य इन्द्रबहादुर लामिछानेले विगत आठ महिनादेखि समितिले मन्दिरमा तालाबन्दी गरी कुनै पनि गतिविधि सञ्चालन नगरेर ढाकछोप गरिरहेको आरोप लगाए । हप्तामा एक दिन हुने कीर्तनसमेत गर्न छाडेर समिति पन्छिँदै हिँडेको उनी बताउँछन् ।

गएको श्रीकृष्ण जन्माष्टमीमा पूजाआजा गर्न मन्दिरको चाबी दिन पनि नमानेको अर्का जग्गा दाता पृथ्वीबहादुर लामिछानेले बताए । ‘मन्दिरको सामान हराएमा आफो जिम्मा हुने भनेर अनुरोध गरेपछि मात्र एक दिनलाई चाबी दिइयो’, उनले भने । पूजाअर्चना र साँझ भजनकीर्तन गर्न पनि धेरै संघर्ष गर्नुपरेको उनको भनाइ छ ।

यसै विषयमा समितिले आयव्यय सार्वजनिक नगरेको र साधारणसभा समेत नगरेको भन्ने व्यहोराको वडामा निवेदन परेपछि साधारणसभा गर्न मिति तोकी आय-व्यय सार्वजनिक गर्न समितिको नाममा पत्र काटेको वडाध्यक्ष ढुंगानाले बताए । पत्र काटेपछि गएको भदौ १६ गते साधारणसभा गर्ने व्यहोरा उल्लेख भएको पत्रसहित तत्कालिन पण्डित जगदीश पौड्यालको संयोजकत्वमा गठन भएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ आयोजक समितिले तयार पारेको महायज्ञको आर्थिक प्रतिवेदनमात्र प्राप्त भएको उनको भनाइ छ । त्यसपछि कुनै जानकारी आफाई प्राप्त नभएको उनको भनाइ छ ।

यता समितिकी अध्यक्ष निरौला भने मन्दिर परिसरमा पटक-पटक आयव्यय सार्वजनिक गर्न मिति तोके पनि सबै भेला नभएकाले तेस्रो पटक उपस्थित भएका सदस्यहरुबीच आर्थिक प्रतिवेदन सार्वजनिक गरेको दाबी गरिन् । उनीहरुले लगाएको आरोप निराधार भएको भन्दै उनले मन्दिरमा वैशाख अन्तिमबाट तालाबन्दी भएको र आवश्यक समयमा धार्मिक गतिविधिहरु सञ्चालन हुने गरेको बताइन् ।

समितिको कार्यसम्पादन विश्वासिलो नभएको भन्दै पुराणमा प्राप्त जग्गा बेचबिखन गरी रकम आए पनि समितिलाई बुझाइएको छैन । त्यस्तै, केही दाताले जग्गा दिने घोषणा गरे पनि उनीहरुले अर्को नयाँ समितिलाई मात्र उपलब्ध गराउने बताउँदै आएका छन् ।

Facebook Comments