हुस्सुसँगै थालिएको विद्रोहको यात्रा

धर्म गौतम

– यसपालि त साह्रै गर्मी भयो ।
– पोहोर पनि यस्तै थियो ।
– थिएन हौ यति साह्रो त ।
– पोहोरको बिर्सिहाल्यौ…।

हो, जाडो अथवा गर्मीका सन्दर्भमा कुरा गर्दा अघिल्लो वर्षको सकस बिर्सिएको भन्ने गरिन्छ । वास्तवमा चालु याममा जाडो वा गर्मी कति छ भन्ने कुरा हामी आफै अनुभव र अनुभूतिका आधारमा गर्ने गर्दछौँ । विगतसँग पनि त्यही आधारमा दाँज्छौँ । बर्सेनिको ताफको अभिलेख हेर्ने, बुझे गरे त सत्य तथ्य थाहा हुन्थ्यो तर त्यसो गर्ने बानी हाम्रो छैन । वास्तवमा तथ्यपरक कुरालाई पनि मनोगत रुपमा हेर्ने हाम्रो संस्कृति जस्तै छ ।

यसपालिको इलामको मौसमलाई हेरेर मलाई पनि उहिलेको मौसमका यस्तै मनोगत कुरा गर्न मन लागेको छ । हामी केटाकेटी हुँदा इलाममा अधिकतर बाक्लो हुस्सु लाग्ने गर्दथ्यो । वर्षायाममा सातादस दिन सिमसिम पानी परिरहन्थ्यो । गाउँमा वस्तुभाउको धन्धा गर्नेहरु समेत सिकसिको मानेर गनगन गर्दथे मौसमका प्रति । हामी लुगा नसुकेर स्कुल कसरी जानु होला भन्ने संकटमा पर्थ्यौ र अंगेनामाथि सेकाउँथ्यौँ । कक्षामा दिनभरि धुवाँ गनाउँथ्यो आफै लुगा ।

गाउँमा बाक्लो हुस्सु लागेका बेला अर्काको बारीमा गएर घाँस चोर्ने गरिन्थ्यो । घाँस चोर्नुलाई उस्तो अपराध मानिँदैन थियो त्यसताका, भेटिहाले सामान्य हकारपकार गर्थे, उपल्लो गरे काटेको घाँस खोसेर राख्थे । वास्तवमा आफो बारीमा घाँस नभएरभन्दा पनि उपद्रोको रुपमा त्यसरी चोर्ने गरिन्थ्यो । यता स्कुलतिर छिमेकीका काँक्रा चौथी मारिन्थ्यो । काँक्रा चोरलाई मुड्के सास्ती भन्ने सामाजिक दण्ड विधान चल्तीमा थियो । त्यो पनि चोरलाई भेटे न हो । त्यसैले पनि उति डर लाग्थेन होला । दुईचार भाइ मिलेर योजनाबद्ध रुपमा भ्याएपछि कसको के लागोस् ।

विगत केही वर्षभन्दा यसपालि अलिक फरक हुँदैछ इलामको मौसम । वर्षा पनि अलिक बढी भयो र हुस्सु पनि गजबैले लाग्दैछ । उहिले यसरी लाग्ने हुस्सुसँगका धेरै सम्झनाहरु छन् । यी पंक्ति लेख्दै गर्दा हुस्सु छिर्छ भनेर झाल समेत बन्द गरेको छु । झालबाट बाहिर चिहाउँदा आफो घर समेत हुस्सुमै पो छ कि जस्तो लाग्छ । सम्झन्छु, यी पंक्ति झापामा पढ्दा यताको मौसमको आह्रिस लाग्दो हो ।

दुई हजार पचासको दशकमा एउटा गैससमा जागिर खाने क्रममा एसिया फाउन्डेसन नामको अन्तर्राष्ट्रिय गैससका कार्यक्रम अधिकृतहरुसँग गाउँगाउँ जानु पर्दथ्यो कार्यक्रमको अनुगमनका लागि । त्यस संस्थामा कार्यरत एक सवारी चालक कतै डाँडातिर पुग्दा ‘अब चाहिँ स्वर्ग आइपुगियो है’ भन्ने गर्दथे । त्यहाँबाट देखिने प्राकृतिक दृश्यलाई लिएर त्यसो भनेका होलान् भन्ने लाग्थ्यो ।

एक दिन दक्षिणी इलामको एउटा खोंच इलाकाबाट उकालो डाँडामा निस्कँदा बाटै नदेखिने हुस्सुमा पसियो । साविकझ ती चालकले दोर्होयाए, ‘अब चाहिँ स्वर्ग आइपुगियो है ।’

‘हुस्सुले बाटो त देखिँदैन केको स्वर्ग ?’ मैले भने ।
‘सर रामायण, महाभारत हेर्नु हुन्न कि क्या हो ?’ मेरो टिप्पणी सुनेर उनले भने ।
‘अलिअलि हेरेको हो’, मैले भने । उनले प्रस्ट्याए ‘अनि त्यहाँ स्वर्ग यस्तै देखाउँछ त, यस्तै कुहिरो, बादलबाट निस्कन्छ भगवान चढेको रथ ।’
उनले भनेको स्वर्गको अर्थ साँच्चै घतमा गएर सबै हाँसेका थियौँ ।

मैले दुई दशकजसो सक्रिय राजनीति पनि गरेँ, त्यो पनि विद्रोही । यसपालि दुर्गा सुवेदीको ‘विमान विद्रोह’ पढ्दा पो निकै जोखिमका कामहरु गरिएछ भन्ने लाग्यो । उस बखतका दुईचार यस्ता प्रसङ्ग सम्झनामा आए, जसबाट संयोगले मात्रै ज्यान जोगिएको थियो । दिन नपुगी मरिँदैन भनेको साँच्चै हो जस्तो लाग्यो । हुनत मूर्खसँग भूत समेत डराउँछ भन्छन् ।

विद्रोहको जोखिमयुक्त कामको थालनी गरेको दिन पनि बाक्लो हुस्सु लागेको थियो इलाममा । कक्षा आठमा थिएँ । झापाबाट विद्यार्थी आन्दोलन उठेछ । एसपी काण्डका नामले जानिन्छ त्यो आन्दोलन । इलाममा पनि शिक्षण संस्था बन्द गरेर आन्दोलनलाई सघाएका थियौँ । आन्दोलनका क्रममा पञ्चायती व्यवस्थाका विरुद्ध तयार गरिएको पर्चा इलाम पनि पुगेछ ।

एक बेलुकी बेनुप प्रसाईंले बोलाएकाले उनकोमा गएँ । इलाम बजारको मालापथ क्षेत्रमा त्यो पर्चा छर्ने जिम्मा मेरो भागमा परेको रहेछ । वर्षायाम नै हुनु पर्छ, साँझ छिप्पिएसँगै सिमसिम पानी पर्न थाल्यो, हुस्सु यति बाक्लो थियो भनेर सध्ये छैन ।

सर्टभित्र पेटमा पर्चाको बिटो च्यापेर निस्किएँ । सानो छाता र एउटा सानै टर्चलाइट थियो साथमा । फगाछीबाट बजारतिर आउँदा ठुलो टुँडिखेलबाटै बाटो जान्थ्यो । उताबाट आएको गोरेटो टुँडिखेलमा पस्यो । हुस्सुले गर्दा मधुरो टर्चको प्रकाश टर्चसँगै हराएजस्तो हुन्थ्यो तल भुइँ देख्ने कुरै भएन । तर, टुँडिखेलमा हिँड्न गाह्रो थिएन, उसमाथि दिनमा सयौँ फन्का मारेको खेल मैदान ।

निकैबेर हिँडिसकेँ तर टुँडिखेलको अर्को छेउ आइपुग्दैन । त्यस बेला इलाममा राति चुडेल हिँड्छ भन्ने हल्ला सुनिन्थ्यो । चुडेलका कथा कस्ता हुन्थे भने- एकपटक एउटा केटो राति कतैबाट घर फिर्दै थियो, बाटामा एउटी युवतीसँग भेट भयो । त्यसले आफपनि केटो गएतिरै जाँदै गरेको बताई र दुबै गफ गर्दै हिँडे । धेरै बेर हिँड्दा पनि गन्तव्यतिर नपुगेपछि केटोलाई शंका लाग्यो र उभिएर जोड जोडले गुहार भन्दै करायो । गुहारको आवाज सुनेर गाउँबाट मानिस कराए- को हो ? के भयो ?
मानिसका आवाज आएपछि त्यो केटी त्यहीँ अलप भई । केटो पनि वेहोश भएर त्यहीँ लड्यो । बिहान होश आउँदा त्यस केटोले आफाई सिंहवाहिनीमाथि बनमारा घारीमा पायो । उसलाई मानिसले घरमा ल्याएर निकै दिन धामी झाँक्री लगाएपछि मात्रै ऊ सञ्चो भयो । यस्ता घटनामा कति त मरेको पनि कथा सुनिन्थ्यो ।
डरले जिउ हप्प फयो । हिँड्न छाडेर ठिङ्ङ उभिएँ । मुटु फ्ला जस्तो भयो । कतै म पनि चुडेलका बाटातिर त हिँडिरहेको छैन ? एकछिनमा जुक्ति आयो । अब म देब्रे फिरेर सिधै अगाडि जान्छु, टुँडिखेल भए त्यसको भित्तामा पुगिन्छ । केहीबेर हिँड्दा पनि भित्तो आएन भने कराउँछु ।
अगाडि बडेको एकैछिनमा अनुहारमा झाम्म केले लाग्यो । अनुहारभरि पानी भयो । झसङ्ग भएर त्यो झपो छामेँ, टुँडिखेलको डिलबाट लत्रेको सालिम्बो रहेछ । टुँडिखेलमै छु भन्ने पक्का भयो । त्यसपछि त्यही भित्तै भित्तो अगाडि बढ्दा टुँडिखेल पार गरी सडक आइपुग्यो । त्यहाँ एकछिन उभिएर लामो लामो सास फेँ । शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो ।

त्यसभन्दा अगाडि एकदुई घर थिए । त्यसैले डर हरायो । बजार पस्दा सबै दोकान बन्द भइसकेका थिए । एकाध पसलका झडपका चेपबाट छिरेको मेन्टोलको प्रकाश पनि देखियो । चोक बजारमा त डराउने कुरा पनि भएन । आफा लागि तोकिएको क्षेत्रमा पर्चा छरिसकेँ । त्यस्तै सवा सयजति पर्चा थिए होला । अन्त्यमा एउटा चाहिँ खल्तीमा हालेर घर गएँ ।

घरभित्र पसेर लुगा फेँ । हातगोडा धोएर ओछ्यानमा बसेर कुपीको उज्यालोमा पर्चा निकालेर पढ्न थालेँ । वाफ रे ! त्यसमा त अञ्चलाधीश, पुलिस, प्रशासनलाई त तथानाम लेखिएको रहेछ । पढ्दा पढ्दै डर लाग्न थाल्यो । सम्झ, अघि त्यो छर्दा छर्दै रमनले भेटेको भए मेरो छाला काड्थ्यो होला । यति डर लाग्यो, त्यो पर्चा पूरा नपढी ओछ्यानको पत्रमा घुसारेर कुपी निभाइ सिरकमा गुटमुटिएँ ।

वास्तवमा बेनुपजीकोमा त्यो पर्चा लिँदा यसको जोखिमका बारेमा केही सोचेकै थिइन । बेनुपले त होसियारीपूर्वक छर्नु । छर्दा छर्दै कोही आइपुग्यो भने भाग्नु र लुक्नु त भनेका थिए । उनले त्यसरी सम्झाएको अर्थ बल्ल बुझस्तो लाग्यो । जे भए पनि सिमसिम पानी र बाक्लो हुस्सुले गर्दा मैले करिब सय मिटर क्षेत्रमा त्यो पर्चा सजिलै छरी सिध्याएको थिएँ ।

Facebook Comments