फिफा ग्रासरुट फुटबल फेस्टिबल सुरु

शनिश्चरे । कम उमेरका बालबालिकालाई फुटबल खेलप्रति आकर्षित गर्दै युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले झापामा फिफा ग्रासरुट फुटबल फेस्टिबल सुरु भएको छ ।

झापा जिल्ला फुटबल संघको आयोजनामा पहिलोपटक फिफा ग्रासरुट फुटबल फेस्टिबल–२०७५ सुरु भएको हो । अर्जुनधारा–११ स्थित संघको खेल मैदानमा सुरु भएको फेस्टिबलको उद्घाटन नगर प्रमुख हरिकुमार रानाले गरेका थिए । जिल्लामा रहेका १६ वटा सामुदायिक र संस्थागत विद्यालयबाट आठदेखि १२ वर्ष उमेर समूहका पाँचजना छात्र र पाँचजना छात्रासहित १६० जना विद्यार्थीको फेस्टिबलमा सहभागिता रहेको संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले जानकारी दिए । फेस्टिबलअन्तर्गत उनीहरुलाई आधुनिक प्रविधिको प्रयोगद्वारा प्रशिक्षण दिइने, फ्रेन्डली म्याचलगायत सञ्चालन गरिने बताइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यतालिकाअनुसार चार वर्षसम्म निरन्तर सञ्चालन हुने दाबी गरिएको उक्त फेस्टिबल जिल्लाको सबै १५ वटा स्थानीय तहसँग समन्वय गरी स्थानीय तह क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीलाई सहभागी गराई वर्षैभरि सञ्चालन गरिने अध्यक्ष आलेले जानकारी दिए ।

एन्फाका केन्द्रीय सदस्य दिपक राई, अर्जुनधारा–१० का वडाध्यक्ष बलदेवसिंह गोम्देनलगायतले बोलेको कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, नगर सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङ, शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ, नगर कृषि शाखा प्रमुख शालिकराम भट्टराई, रेफ्री संघका केन्द्रीय सदस्य प्रदिप बस्नेत, संघका पूर्वअध्यक्ष बालजित राईलगायतको आतिथ्यता रहेको थियो । संघका उपाध्यक्ष मनेष दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुन्दर बस्नेतले गरेका थिए ।

Facebook Comments