भारतमा पनि ब्रान्ड बन्दैछ निलडेभिड्स सलुन

झापा, भदौ ३१ । दुई महिनाअघि मात्र झन्डै एक करोड भारतीय रुपैयाँ लगानी गरेर भारतको नयाँ दिल्लीमा आफो पहिलो सलुन सञ्चालन गरेका नेपालका लोकप्रिय हेयर स्टाइलिस्ट निलडेभिड कटवाललाई नयाँ दिल्लीका विभिन्न स्थानका लागि शिवमाया कम्पनीले मास्टर फन्चाइजका लागि अनुबन्ध गरेको छ ।

बुवाको मुख हेर्ने दिन निलडेभिडले आफो स्वर्गीय बुवा कृष्णबहादुर कटवालको आशीर्वादस्वरुप ठुलो उपहार पाएको अनुभव गरेका छन् । नयाँ दिल्लीको जिके टु एम ब्लकमा निलडेभिड्स सलुनले राम्रो बजार पाइरहेको बेला कटवालको ब्रान्डलाई शिवमाया कम्पनीले दिल्लीकै लाजपतनगरबाट विस्तार गर्ने अन्तिम तयारी गरेको छ । तीन साताभित्रै नीलडेभिड्स ब्रान्डको दोस्रो सलुन दिल्लीमा सञ्चालन हुने भएको हो ।

नयाँ दिल्लीभरिका लागि शाखा विस्तार गर्ने सम्झौता पाएकै दिन निलडेभिड भारतकै उत्तर प्रदेशबाट पनि त्यस्तै प्रकारको शाखा विस्तारका लागि अनुबन्धित भएका छन् । भारतको उत्तर प्रदेशको भिनस इन्टरनेसनल ग्रुपका निर्देश्ाक हिमांशु गुप्ता तथा उनको समूहले उत्तर प्रदेशका लागि पनि निलडेभिड्स ब्रान्डको मास्टर फन्चाइजका लागि अनुबन्ध गरिसकेका छन् । भिनसले निलडेभिड्स सलुनलाई ५० लाख भारतीय रुपैयाँमा उत्तर प्रदेशका लागि सम्झौता गरेको हो ।

यसका साथै निलडेभिडले प्रत्येक नयाँ सलुनबाट एकपटकका लागि दुईदेखि तीन लाख भारतीय रुपैयाँ र १५ देखि २५ हजार रुपैयाँ मासिक रोयल्टी समेत पाउने छन् ।

निलडेभिडका फन्चाइजी प्रमुख सन्तोष उपाध्यायका अनुसार भिनस इन्टरनेसनलले आफो पहिलो निलडेभिड्स इन्टरनेसनल सलून नोयडामा सञ्चालन गर्ने भएको छ । उपाध्यायका अनुसार आगामी दुई वर्षमा निलडेभिड्स ब्रान्ड भारतकै एउटा मजबुत ब्रान्ड बनेर आउने निश्चित छ । नेपाली हेयर स्टाइलिस्ट भएर नेपालको नामलाई फेसनबाट चिनाउने निलडेभिड्स ब्रान्डले ठुलो भूमिका निर्वाह गर्ने उपाध्यायको बुझाइ छ । उनका अनुसार निलडेभिड्स ब्रान्डलाई अबको एक वर्षभित्र दिल्ली, उत्तर प्रदेश तथा पश्चिम बंगालका विभन्न सहरमा विस्तार गरिनेछ ।

नेपाल र भारतपछि सन् २०२० पछि यो ब्रान्डलाई दुबई, लन्डन तथा अस्टे्रलियासम्म पनि विस्तार गरिने योजना छ ।

यसैबीच, नीलडेभिडको नयाँ सलुन भारत र भुटानको सीमा क्षेत्र नजिक पर्ने जयगाउँमा पनि अक्टोबर ३ देखि सञ्चालन हुने भएको छ । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तल्लामा समेत यही सेप्टेम्बर २९ का दिन निलडेभिड्स सलुनको नयाँ शाखा सञ्चालनमा आउँदैछ । यसका साथै ललितपुरको कुमारीपाटी, इटहरी, बिर्तामोड, भैरहवा तथा नेपालगञ्जमा पनि निलडेभिड्सको शाखा विस्तार हुने अन्तिम तयारीमा छ ।

‘मेरो लागि यो ठुलो उपलब्धि भएको छ’, निलडेभिड भन्छन्, ‘झापाको लक्ष्मीपुरबाट प्रारम्भ भएको मेरो यात्रा यहाँसम्म आइपुग्दा झन्डै ५ सयभन्दा बढीलाई रोजगारी दिँदै अघि बढिरहेको छ । अबको केही वर्षमा झन्डै ५ हजारजनलाई रोजगारी दिलाउने मेरो लक्ष्य छ ।’ निलडेभिडले अर्को वर्ष लक्ष्मीपुरमै निलडेभिड्स इन्टरनेसनल एकाडेमी शिलान्यास गरेर नेपालमै अन्तर्राष्ट्रिस्तरको प्रशिक्षण केन्द्र सञ्चालन गर्ने योजना समेत सुनाए ।

Facebook Comments

Advertisement