जनशक्ति कृषि सहकारीको नाफा २ लाख आठ हजार

बिर्तामोड, असोज ५ । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सञ्चालित जनशक्ति कृषि सहकारी संस्थाले आर्थिक वर्ष ०७४/०७५ मा दुई लाख आठ हजार २६२ रुपैयाँ नाफा गर्न सफल भएको छ ।

कृषिको माध्यमबाट सदस्यको जीवनस्तर उकास्नेखालका योजना सञ्चालन गर्ने उद्देश्यले ०७१ असारमा स्थापित भई बिर्तामोडलाई कार्यक्षेत्र बनाएको सो सहकारीको बुधबार बिर्तामोडस्थित आदर्श बेङ्क्वेटमा सम्पन्न चौथो साधारणसभामा संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी १ करोड २३ लाख ७१ हजार पुगेको छ । संस्थाले आर्थिक वर्ष ०७४/०७५ मा २ करोड ६१ लाख ९९ हजार १३९ निक्षेप संकलन गरेको छ भने ३ करोड २२ लाख ५८ हजार ३४१ रुपैयाँ कर्जा लगानी गरेको छ । सो वर्ष ७४ लाख ८८ हजार ७७७ रुपैयाँ आम्दानी गरेकोमा ७२ लाख ८० हजार ५१५ रुपैयाँ खर्च भएको अध्यक्ष विष्टले जानकारी दिए ।

संस्थाका सदस्य विष्णुप्रसाद योङहाङले स्वागत र सचिव मणिराज दंगालले सञ्चालन गरेको साधारणसभा उद्घाटन समारोहमा उत्कृष्ट बचतकर्ता तुलाचन लुहागुन, बाल बचतकर्ता आयुम बेस्रा, उत्कृष्ट ऋणी सन्तुमाया राई, उत्कृष्ट एकल उद्यमी महिला कमलावती राजवंशीलाई नगदसहित सम्मान गरिएको थियो भने परिश्रमी कर्मचारीको रुपमा उषा पालुङ्वालाई पुरस्कृत गरिएको थियो ।

यसैगरी, स्थापनाकालदेखि आबद्ध रही भरखरै संस्थाबाट विदा लिएकी लेखापाल मेनुका कार्कीलाई विशेष सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि ढकालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

‘जनशक्ति कृषि सहकारीको चाहना, आधुनिक कृषि प्रणालीमा आधारित समृद्ध नेपालको परिकल्पनिा’ भन्ने नारालाई आत्मसात गर्दै ३१ जनाबाट सुरु भएको संस्थामा हाल ११८० सदस्य रहेका छन् । त्यसमा पुरुषको संख्या ५२९ र महिलाको संख्या ६५१ रहेको छ ।

समारोहमा प्रमुख अतिथि ढकालले सहकारीले कृषि वस्तु उत्पादनमा जोड दिनुपर्ने बताए । उनले वैदेशिक व्यापारघाटाको भयावह अवस्थालाई कम गर्न कृषि उत्पादनबाट मात्रै सम्भव भएकोले सहकारी संस्थाहरुले सामुहिक रुपमा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताए । सहकारीहरुले कृषिसम्बन्धी आधुनिक खेती प्रणाली, उद्योग स्थापना र बजारीकरणमा सहकारी संलग्न हुनुपर्ने उनको भनाइ थियो ।

प्रमुख अतिथि ढकालले नयाँ सहकारी ऐनले सहकारीका लागि केही सुविधाजनक व्यवस्था गरेकोले त्यसबाट सहकारीहरुले फाइदा लिनुपर्ने पनि बताए । तर, स्थानीय तहहरुले सहकारी संस्थाहरुलाई हेर्ने फरकखाले दृष्टिकोण र सहकारीसम्बन्धी स्थानीय तहहरुको फरक-फरक नियमले समस्या पनि आइरहेको उनको भनाइ थियो । जिल्ला सहकारी संघ सदस्य संस्थाहरुको क्षमता विकासका लागि अगाडि बढिरहेको बताउँदै ढकालले सहकारीहरु उद्देश्यअनुरुप सञ्चालन हुनुपर्नेमा जोड दिए ।

संस्थाका सदस्य गायक/संगीतकार चेतन चुडालले समधुर गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेको सो कार्यक्रममा हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष पृथ्वी ओली, सबैको समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष बोधराज दाहाललगायतले शुभकामना मन्तव्य राख्दै संस्थाले छोटो अवधिमा उल्लेख्य प्रगति गरेको उल्लेख गरे ।

Facebook Comments