‘देशकै उत्कृष्ट बन्यो नागबेली’

शान्तिनगर, असोज ५ । नेपाल सुपारी खेती विकास समितिका अध्यक्ष देवीप्रसाद खतिवडाले नागबेली सुपारी उत्पादन सहकारी संस्था नीति नियम र मान्यताअनुसार संस्था चलेको हुँदा विषयगत सहकारीमा नेपालकै उत्कृष्ट बन्न सफल भएको बताएका छन् ।

संस्थाको पाँचाँै वार्षिक साधारणसभाको उद््घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष खतिवडाले सहकारीले सबै जातजाति वर्ग र क्षेत्रलाई समेट्न सफल भएको भन्दै छरिएर रहेको पुँजीलाई वित्त बजारमा ल्याउन पनि सहकारीले ठुलो भूमिका खेलेको बताए । सहकारीले सहकार्य गरी उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गरेको र देशकै उत्कृष्ट सहकारी बन्नु शेयर सदस्यका लागि गौरवको विषय भ्ाएको भन्दै सबै शेयर सदस्यलाई अझ एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै, विशिष्ट अतिथि बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष वासुदेव खतिवडाले संस्थाको आर्थिक क्षेत्रफल अझ फराकिलो बनाउन संस्थाको प्रगति र उन्नतिमा सबै सदस्यहरुले चिन्तन गर्नुपर्नेमा जोड दिए । विशिष्ट अतिथि तथा वडा नम्बर ५ का वडाध्यक्ष शम्भु पौड्यालले वित्तीय पहुँच कमजोर भएका वर्ग, सबै समुदाय र क्षेत्रमा पहुँच विस्तार गरी विपन्न वर्गमा उद्यमशीलता, स्वरोजगार र बचत वृद्धि गराउने उद्देश्य रहेको भन्दै खुसी व्यक्त गरे ।

संस्थाको तर्फबाट कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष गंगाराम राईले नागबेली सुपारी उत्पादन सहकारी संस्था बुद्धशान्ति ५ को आर्थिक वर्ष ०७४/०७५ को आम्दानी र खर्च विवरण, भावी योजनासहितको प्रगति विवरण प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक युवराज खतिवडाद्वारा प्रस्तुत गरिएको लेखा समितिको प्रतिवेदन साधारणसभाले अनुमोदनसहित पारित गरेको थियो ।

२०६६ साल असार २१ गते सहकारी ऐनअन्तर्गत स्थापना भएको उक्त सहकारीमा ४६ लाख ५८ हजार ७ सयभन्दा बढीे शेयर पुँजी रहेको छ भने ३ सय ५० शेयर सदस्य रहेका छन्ा् । संस्थाको निक्षेप संकलन ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ । संस्थाले ९६ लाख ३१ हजार ५ सय ४७ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कूल सम्पत्ति १ करोड ३१ ल्ााख ३३ हजार १५ रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्ष ०७४/०७५ मा २३ लाख ५० हजार ३ सय ८७ रुपैयाँ आम्दानी गरेको सहकारीले आर्थिक वर्ष ०७५/०७६ को अनुमानित वार्षिक बजेट ४ करोड २५ लाख २० हजार राखेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यक्रममा ज्येष्ठ सहकारी सदस्यको रुपमा हेमप्रसाद खतिवडा र घनश्याम पौड्याललाई एकएक हजार र सम्मानपत्र सहित सम्मान गरिएको छ । त्यसैगरी, २०७५ को एसइइ परीक्षामा उत्कृष्ट अड्ढ ल्याउन सफल शेयर सदस्यका छोराछोरीलाई नगद १५ सयसहित सम्मान गरिएको थियो । यसरी नगदसहित सम्मानपत्रद्वारा सम्मानित हुने शेयर सदस्यका छोराछोरीतर्फ छात्रा पूजा दाहाल र छात्रतर्फ अनुराग खतिवडा रहेका छन् ।

संस्थाको बुधबार गडीगाउँ माविमा भएको पाँचौँ वार्षिक साधारणसभाको अवसरमा खारखोला सुपारी उत्पादन सहकारी समायोजन गर्दै पुन: गंगाराम राईको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन भएको छ । त्यसैगरी, नवनिर्वाचित समितिको उपाध्यक्षमा पवित्रा न्यौपाने, सचिव हेमराज भट्टराई, सहसचिव प्रमिला परियार, कोषाध्यक्ष ज्ञानेन्द्र खतिवडा, सदस्यहरुमा रुद्रमणि खतिवडा, शम्भु पौड्याल, कमल सिटौला, झहादुर कटवाल, यदुनाथ पराजुली र खेमराज भट्टराई चयन भएका छन् ।

समितिको कार्यकाल २ वर्षबाट बढाएर यस आर्थिक वर्षबाट ३ वर्ष बनाइएको छ । साथै, संस्थाले सुपारी प्रशोधनलाई पनि मुख्य कार्यक्षेत्रको रुपमा सुपारी प्रशोधनलाई राखेको हुँदा नाम नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था राखिएको व्यवस्थापक यदुनाथ पराजुलीले जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा चुल्ठे सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष होमप्रसाद लोहार, हाम्रो शान्ति महिला सुपारी सहकारीका अध्यक्ष चम्पा खतिवडा, गौतम बुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक पद्युम्न भट्टराई, सञ्चारकर्मी आयुष निरौला लगायतलाई मायाको चिनो प्रदान गरिएकोे थियो । कार्यक्रमको सञ्चालन सहकारी सदस्य हेमराज भट्टराईले गरेका थिए ।

Facebook Comments