सुनिल गुरुङको “द गिफ्ट” पुरस्कृत

नेपाली फिल्ममा स्क्रिप्टको ठुलो अभाव छ । दशकअगाडि स्क्रिप्टमा उत्ति साह्रो मेहनत गर्नु पर्दैन थियो । ४ वटा गीत, २/३ वटा एक्सन र हल्का रोनाधोना भए फिल्म सुपरहिट हुन्थे । तर आज समय फेरिएको छ । अझ भन्ने हो भने, फिल्म ’लुट’ पछि फिल्म मेकिङको शैलीमा नै परिवर्तन आएको छ । फिल्म पनि दुई धारमा विभाजित भएका छन् ।

नयाँ र पुरानो । छविराज ओझाले बनाउने फिल्मलाई पुरानो धारको भनिन्छ भने निश्चल बस्नेतका फिल्मलाई नयाँ धारको भन्ने गरिन्छ । यो हुनुको प्रमुख कारण स्क्रिप्ट नै हो । कलाकारलाई ५० लाख तिर्न तयार हुने निर्माता र निर्देशकहरु स्क्रिप्टमा १ लाख तिर्न नाक खुम्च्याउँछन् । यही कारण नयाँ सोच र फरक धारका फिल्म बन्न नसकेको आरोप केही वर्षदेखि लाग्दै आइरहेको छ । नेपाली फिल्मको कथामा देखिँदै आएको कमजोरीलाई महसुस गर्दै ‘स्टोरी’ पक्षलाई बलियो तुल्याउन मनोज अधिकारीको टिमले सन् २०१२ बाट ’स्क्रिप्ट राइटिङ प्रतियोगिता’ सुरु गरेको थियो ।

यो प्रतियोगिताको तेस्रो संस्करणको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच विजेता घोषणा गरिएको छ । १ सय ५० स्क्रिप्ट प्रतियोगितामा सहभागी भए पनि सुनिल गुरुङको स्क्रिप्ट ‘द गिफ्ट’ पुरस्कृत भएको छ । विजेता भएसँगै उनले तीन लाख पुरस्कारस्वरुप पाएका छन् । विजेता घोषणा भएपछि सुनिल भावुक भएका थिए । उनले आफूले अहिलेसम्मकै सबैभन्दा ठुलो जीत हासिल गरेको बताए ।

Facebook Comments