उत्खनन्मा वैज्ञानिक पद्धति अपनाउन सुझाव

शनिश्चरे, असोज ५ । अर्जुनधारा नगर क्षेत्रबाट बग्ने नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्दा वैज्ञानिक पद्धति अपनाउन सुझाव दिइएको छ ।

नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न भएको नदीजन्य सामग्री व्यवस्थापनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा सरोकारवाला समुदायले त्यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले प्राकृतिक स्रोतको दोहन होइन प्रयोग गर्नुपर्ने बताएका छन् ।

नगरपालिकामार्फत सुरु भएको ठेक्का प्रक्रिया यो वर्ष पहिलो भए पनि विगतमा जसरी नदीजन्य सामग्रीहरु उत्खनन्मा मापदण्ड मिचेर जथाभावी उत्खनन् गर्ने कार्यलाई नियन्त्रण गरिने प्रमुख रानाले प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहजकर्ता भूगर्भविद् यदुनाथ तिम्सिनाले वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ बमोजिम जिल्ला समन्वय समितिबाट स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) प्रतिवेदनमा उल्लेख भएको नदीजन्य सामग्री उत्खनन् तथा संकलन गर्ने तरिका, आवश्यक मापदण्डलगायतको विषयमा सहजीकरण गरेका थिए ।

स्वीकृत भएको उक्त प्रतिवेदनको विषयमा यसअघि नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रममा नगरपालिका क्षेत्रभित्र बग्ने नदीहरुबाट दिगो रुपमा नदीजन्य सामग्रीहरु संकलन तथा उत्खनन् कार्यको आइइ प्रतिवेदनसम्बन्धी बैठकमा छलफल भई सुझावहरु संकलन गरिएको थियो । नगर क्षेत्रका सात स्थानबाट नदीजन्य सामग्री संकलन तथा उत्खनन् गर्न मिल्ने भए पनि दुई स्थानमा यस वर्ष ठेक्का नलगाइने भएको छ ।

जनप्रतिनिधिहरु, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको कार्यक्रमका अधिकांश सहभागीहरुले मापदण्ड मिच्दै जथाभावी नदीजन्य सामग्री उत्खनन् गर्दा कृषि क्षेत्रलगायतमा परेको असरबारे जिज्ञासा व्यक्त गरेका थिए ।

बिरिङ जलाधार केन्द्रीय व्यवस्थापन समितिका अध्यक्ष छविलाल शिवाकोटीले नदीजन्य सामग्रीहरु उत्खनन् गर्दा नागरिकहरुलाई प्रत्यक्ष सम्बोधन गर्दै उनीहरुलाई सुविधा पुग्ने गरी उत्खनन् गर्नुपर्ने सुझाव राखेका थिए । ‘वैज्ञानिक पद्धतिअनुसार नदीजन्य सामग्रीहरु उत्खनन् हुनुपर्दछ’, उनले भने ।

त्यसैगरी, कार्यक्रमका सहजकर्ता भूगर्भविद् तिम्सिनाले प्राविधिज्ञसहितको सहभागितामा नियमित रुपमा अनुगमनसहित मापदण्डअनुसार नदीजन्य सामग्रीहरु उत्खनन् गरिँदा क्षति कम हुने दाबी गरेका थिए ।

Facebook Comments