वाइआरसिसी विराटनगर विजयी

सुरुङ्गा, असोज ७ । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा वाइआरसिसी क्लब विराटनगर विजयी भएको छ ।

विराटनगरले बिर्तामोडको युनाइटेड क्रिकेट क्लबलाई ८ विकेटको फरक अन्तरले पराजित गरेको हो । प्रतियोगितामा टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो । बिर्तामोडले निर्धारित २० ओभरमा ८१ रन जोडेको थियो । बिर्तामोडका लागि बसन्त कार्कीले सर्वाधिक २० रनको योगदान दिँदा बिर्तामोडबाटै खेलेका राष्ट्रिय टिमका सदस्य तथा नेपालका अन्डर नाइन्टिन टिमका पूर्वक्याप्टेन भुवन कार्कीले १२ रन जोडे । बिर्तामोडलाई सस्तैमा समेट्नका लागि एमडी खालिदले सर्वाधिक ४ विकेट लिन सफल भए ।

मैक कुमारले ३ विकेट लिए । विराटनगरले ८२ रनको सामान्य लक्ष्य १० ओभर ३ वल खेल्दा २ विकेटको क्षतिमा हासिल गरेको थियो । विराटनगरका लागि राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले नटआउट ३१ रन जोडे भने अर्का ब्याटम्यान मुरली चौधरीले २५ रन जोडे । बिर्तामोडका तर्फबाट भुवन कार्की र विनित बास्तोलाले १/१ विकेट लिए । प्रतियोगितामा ४ विकट लिनेे विराटनगरका एमडी खालिद म्यान अफ द म्याच भए । उनलाई प्रविन तिम्सिनाले नगद २ हजार प्रदान गरे ।

Facebook Comments