मिस प्रोविन्सको उपाधि सुप्रियालाई

एजुकेसन एन्ड माइग्रेसन कर्नर मिस प्रोविन्स वानको उपाधि झापा दमककी सुप्रिया कडरियाले जितेकी छन् । सहभागी अन्य २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्टको आयोजनामा भएको प्रदेश नम्बर १ स्तरीय सो प्रतियोगिताको फस्ट रनर अफ झापा अर्जुनधाराकी दिपशिखा नेपाल र सेकेन्ड रनर अप इलाम सूर्योदय नगरपालिकाकी सुप्रिया कोइराला घोषित भए ।

उनीहरुलाई मिस मेची समीक्षा खतिवडा, मिस टिन साङमा शेर्पा र मिस एसइइ स्नेहा संग्रौलाले ताज पहराइदिएका थिए । विजेताहरुले क्रमश: ५० हजार, २० हजार र १५ हजार नगद पुरस्कारका साथमा छात्रवृत्ति, मोडलिङ सम्झौता प्राप्त गरेको आयोजक कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए । प्रतियोगिताको निर्णायकको रुपमा मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, सञ्चारकर्मी तथा समजसेवी पुष्पाञ्जली सिन्हा, एक्सेल बैंकका सिइओ दिनेश पोखरेल, एन प्याब्सनका केन्द्रीय सदस्य धर्म माझी र इष्ट होराइजन इंग्लिस स्कुलकी ११/१२ संयोजक रेखा दाहाल क्षेत्री रहेका थिए । प्रतियोगितामा प्रदेश नम्बर १ का १४ जिल्लाका २६ जना सहभागी थिए ।

यसअघि मिस मेचीका नाममा सञ्चालन भइरहेको प्रतियोगितालाई देश संघीय संरचनामा गइसकेपछि प्रदेश १ स्तरीय बनाउँदै मिस प्रोविन्स वान बनाइएको हो । प्रदेश नम्बर १ को नाम टुंगो लागेसँगै प्रतियोगिताको नाम पनि टुंगो लगाइने आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए । विजेता तीनै जनाले आफ्नो कक्षा १२ को अध्ययन पूरा गरेपछि मिस नेपालमा सहभागिता जनाउने छन् ।

Facebook Comments