चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन

आश्विन १८, काठमाडौँ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिकाे बिहीबार बसेको बैठकले चिनीकाे खुद्रा बिक्री मूल्य प्रतिकिलाे ६३ रूपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएकाे हो  ।

केहीसमय अघि चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनीको खुद्रा मूल्य ६३ रुपैयाँसम्म पर्ने बताएका थिए। यही मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको हो।

बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको खुद्रा मुल्य अधिकतम मुल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो। मन्त्रालयले ७० रुपैयाँ भन्दा महँगोमा चिनी बिक्री गरेमा कारबाही गर्ने चेतावनि दिउको थियो।

यस्तै चिनीकाे मूल्य बृद्धिकाे सन्दर्भमा थप छानविन गर्न समितिले उपसमिति गठन गरेकाे छ।

सिंहदरबारमा बिहीबार बसेकाे सार्वजनिक लेखा समितिकाे बैठकले ५ सदस्यीय उपसमिति गठन गरेकाे हाे। लेखाराज भट्टकाे संयाेजकत्वमा ५ सदस्सयीय छानविन उपसमिति गठन गरिएको हो। चाडपर्व नजिकिएसँगै चिनी लगायत खाद्य वस्तुकाे मूल्य वृद्धि भएकाे भन्दै साे विषयमा अध्ययन र छानविन गर्न समितिकाे आजको बैठकले उपसमिति गठन गरेकाे हाे।

उपसमितिले दीर्घकालीन रूपमा समस्या समाधान गर्न र बजार भाउकाे विषयमा अध्ययन गरेर प्रतिवेदन समितिमा बुझाउने छ। उपसमितिलाई समग्रबजारकाे अवस्था अध्ययन गरी ७ दिन भित्र प्रतिवेदन समितिमा बुझाउने समयसीमा दिइएकाे छ।
 source : ekantipur.com
Facebook Comments