कात्तिक ३० मा ‘अनुग्रह’

चलचित्र ‘अनुग्रह’ कात्तिक ३० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । यसअघि कात्तिक १६ लाई प्रर्दशन मिति घोषणा गरिए पनि विविध कारणले गर्दा रिलिज डेट धकेलिएको निर्माण युनिटले जनाएको छ । कुमार केसीको निर्देशनमा रहेको यस चलचित्रमा नायकको रुपमा रोहण सेन्च्युरी र नायिकामा आरती गुप्ता तथा दिपशिखा सिलवाल रहेका छन् । बालकलाकारमा कृष्टिना सेन्च्युरीले अभिनय गरेकी छन् । केही वर्षअघि चलचित्र ‘क्षितिजपारिको मायालु’ बाट डेब्यु गरेका नायक सेन्च्युरी यस चलचित्रबाट जम्ने तरखरमा छन् । २०६५ सालबाट चलचित्रमा क्षेत्रमा प्रवेश गरेका उनी दिन प्रतिदिन खारिँदै गएका छन् । नायिका सिलवालको यो डेब्यु चलचित्र हो ।

करिब एक करोडको लगानीमा निर्माण गरिएको यस चलचित्रका निर्माता सन्तोष खवास हुन् । उनी चलचित्रका द्वन्द्व निर्देशक समेत हुन् । चलचित्रको कथालाई नायक सेन्च्युरी स्वयम्ले लेखेका हुन् । सामाजिक विषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रमा माया, प्रेम र यसबीचमा आउने विभिन्न आरोह, अवरोहको समिश्रण रहकाले चलचित्र विशुद्व पारिवारिक रहेको बताइएको छ । चलचित्रका सहनिर्माता राजु दोङ हुन् । विक्रम डिसीको छायांकनमा तयार पारिएको चलचित्र ‘अनुग्रह’ एउटा राम्रो चलचित्रको रुपमा हेरिएको छ ।

चलचित्रमा चारवटा गीतहरु समावेश गरिएका छन् । गीतमा गायक कमल रसाइली, किरण विमली तथा गायिका कविता शिवाकोटी र अनिसा मैनालीले स्वर दिएका छन् । चलचित्रमा समावेश रहेको गीत ‘यो जीवनमा’ को भिडियो केही दिनअघि नै सार्वजनिक भइसकेको छ । गीतमा स्वर्गीय दोषी नविन सुब्बाको शब्द संगीत रहेको छ ।

Facebook Comments