लोकगीतमा लर्किए मनोज

ताप्लेजुङको डुम्रिसेमा जन्मिएर मोरङको रङ्गेलीमा हुर्किएका मनोज पाठक ‘सानु’ संगीतमा लिप्त छन् । मोफसलमा संगीतको प्रभावकारी शिक्षा कमैमात्र लिन पाइने हुँदा उनी हाल काठमाडाँैमै बसेर संगीत सिकिरहेका छन् । उनले केही महिनाअघि तीजको गीत ‘नरौन पियारी’ बाट सांगीतिक क्षेत्रमा डेब्यु समेत गरे । सामना शाहको शब्द तथा संगीत गैरेको लय संकलनमा तयार पारिएको यस गीतबाट केही हौशला मिलेको उनको भनाइ छ ।

संघीय राजधानीमा रहेर संगीत प्रशिक्षक हेमराज गुरुङसँग औपचारिक ज्ञान बटुलिरहेका उनी यही क्षेत्रमा भविष्य खोज्दैछन् । उनले पहिलो गीतको हौशलापछि अर्को गीतको तयारी भइरहेको बताए । गीतको शब्द उनी आफले लेखेका हुन् भने संगीत चर्चित गायक तथा संगीतकार पुस्कल शर्माको रहेको छ । सानैदेखिको गायक बन्ने शोखका कारण उनी यो क्षेत्रमा लागेको उनले बताए । पछिल्लो समय लोकगीतमा पनि पश्चिमा देशको ‘भुत’ ले छौएको उनी बताउँछन् । उनी भन्छन्, ‘लोक गीत भन्नेबित्तिकै संस्कार संस्कृति झल्किनु पर्नेमा पश्चिमा छाडापनले पूरै घेरेको छ ।’ लोकगीतमा विकृति फैलिएको उनको बुझाइ छ ।

पछिल्लो समय पारिवारिक वातावरणमा बसेर हेर्न मिल्ने कम भिडियोहरु सिर्जना भइरहेकाले यसलाई नियन्त्रण गर्नु पर्नेमा उनको जोड छ । संगीतमा लगानी बालुवामा पानी भइरहेको यस अवस्थामा विभिन्न रुपले भित्रिएका यस्ता छाडा संस्कृतिलाई निमिट्यान्न पार्नसके मात्र आफ्नो देशको कला र संस्कृति बचाउन सकिने उनले बताए ।

Facebook Comments