पाँचथर सरोकार समाज बिर्तामोडमा कमल

बिर्तामोड, असोज २१ । बिर्तामोड आएर बसोबास गर्ने पाँचथरेहरुको प्रथम ऐतिहासिक भेला बिर्तामोडमा सम्पन्न भएको छ ।

‘पाँचथर सरोकार समाज बिर्तामोड’ नामाकरण गर्दै सम्पन्न भेलाले कमल खरेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा धनराज योङहाङ र मोहन अधिकारी, सचिवमा सुवास भट्टराई, सहसचिवमा छवि विश्वकर्मा र कोषाध्यक्षमा संगीता चिमरिया रहेका छन् । सदस्यहरुमा ओमभक्त सेडाईं, भानु शिवाकोटी, सागर योङहाङ, दुर्गा थापा, सैलेन्द्र कुरुङवाङ, देशमाया बेघा र सञ्चार नेम्वाङ रहेका छन् ।

भेलाले ११ सदस्यीय सल्लाहकार समिति, ५ सदस्यीय विधान मस्यौदा समिति र ३ सदस्यीय प्रचार विभाग समिति पनि गठन गरेको सचिव सुवास भट्टराईले जानकारी दिए । बिर्तामोडस्थित आदर्श पार्टी प्यालेसमा आयोजित भेलाको उद्घाटन संघीय संसद्का सांसद् राजेन्द्र लिङ्देनले गरेका थिए । भेलाको उद्घाटन मन्तव्य राख्दै सांसद् लिङ्देनले गठन हुन लागेको समाज राजनीति र धार्मिक दृष्टिकोणले अलग किसिमको हुनुपर्ने धारणा व्यक्त गरे । भ्रष्टाचारले हरेक क्षेत्रलाई गाँजेको बताउँदै लिङ्देनले समाज विशुद्ध सेवामुखी र भ्रष्टाचारसहित हुनुपर्नेमा जोड दिए ।

भेलामा विशेष अतिथिको रुपमा निम्त्याइएका पाँचथरबाट निर्वाचित संविधानसभाका पूर्वसांसद् भीष्मराज आङदेम्बेले पाँचथरबाट झापा आई बसोबास गरेका व्यक्तिहरुले अब आफ्नो पुरानो ठाउँको बारेमा पनि सोच्न आग्रह गरे । सो अवसरमा प्रदेश सांसद् जसमाया गजमेर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेल, बिर्तामोड नगर प्रमुख ध्रुव शिवाकोटी, बिर्तामोड नम्बर ४ वडाध्यक्ष कुलप्रसाद संग्रौला, जनप्रतिनिधि भीष्मराज खरेललगायतले मन्तव्य राख्दै समाजका लागि केही गरे मात्रै संस्था गठनको औचित्य हुने बताएका थिए ।

सो अवसरमा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले समिति गठन गर्नुको औचित्य, विधान र कार्यक्रमबारे प्रकाश पारेका थिए भने भेलाले दुई दर्जन वृद्धवृद्धालाई सम्मान समेत गरेको थियो ।
खड्गप्रसाद भट्टराइको सभापत्वि रहेको कार्यक्रममा ओमभक्त सेडार्इंले स्वागत गरेका थिए भने सञ्चालन सुवास भट्टराइले गरेका थिए ।

Facebook Comments