बुधबार शनिश्चरे डान्स धमाका हुने

शनिश्चरे, असोज २३ । अर्जुनधाराको शनिश्चरे माध्यमिक विद्यालयमा डान्स धमाका आयोजना गरिने भएको छ ।

शनिश्चरे डान्स एकाडेमीको आयोजनामा असोज २४ गते बुधबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नृत्य कलाकारहरुको प्रस्तुति हुने भएको हो । स्थानीय कलाकारमा अन्तरनिहित प्रतिभाको खोजी गरी प्रशिक्षण दिँदै प्रस्तुति गर्ने उद्देश्यले विगत एक वर्षदेखि अर्जुनधारा-८ मा सञ्चालनरत उक्त एकाडेमीको प्रथम वार्षिकोत्सव र विजया दशमीको अवसरमा कार्यक्रमको आयोजना गरिएको सोमबार आयोजित पत्रकार भेटघाटमा एकाडेमीका अध्यक्ष एवम् कार्यक्रम संयोजक प्रताप सुनुवारले बताए ।

डान्स धमाकामा डान्स इन्डिया डान्स (डिआइडी) सिजन ६ का टप ८ सोनल भिचारेले प्रस्तुति दिने भएका छन् । त्यस्तै, छमछमी सिजन ३ का विजेता सरोजराणा प्रजा, हिमशिखर डान्स आइडल सिजन १ का विजेता दिपेश राईलगायतको प्रस्तुति रहने कोरियोग्राफर एलसी श्रेष्ठले जानकारी दिए ।

दुई सय रुपैयाँ टिकट दर राखिएको कार्यक्रम सम्पन्न गर्न अनुमानित छ लाख रुपैयाँ लाग्ने कार्यक्रममका इभेन्ट म्यानेजर कुमार उप्रेतीले जानकारी दिए । स्थानीय तथा राष्ट्रियस्तरको कलाकारसँगै विभिन्न डान्स एकाडेमीका कलाकारहरुको सहभागिता रहने कार्यक्रममा दुई दर्जनभन्दा बढी प्रस्तुति रहने एकाडेमीका डान्स प्रशिक्षक रिना तामाङले जानकारी दिइन् । त्यसैगरी, एकाडेमीले असोज २५ गते हिपहप, वाइकिङ र क्रमपिङसम्बन्धी एकदिने कार्यशाला सञ्चालन गरिने बताइएको छ ।

Facebook Comments