विद्यालयस्तरीय नृत्यमा शनिश्चरे प्रथम

शनिश्चरे, असोज २४ । नगर स्रोतकेन्द्रअन्तर्गत सामुदायिक र संस्थागत विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगितामा शनिश्चरे माध्यमिक विद्यालय प्रथम भएको छ ।

महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधारा-११ ले आयोजना गरेको प्रतियोगितामा आठवटा विद्यालय सहभागी थिए । प्रतियोगितामा आयोजक महारानीगञ्ज मावि दोस्रो, सिंहदेवी मावि तेस्रो र प्रगति अंग्रेजी आवासीय मावि तेस्रो भएको विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए । प्रतियोगिताको विजेतालाई क्रमश: आठ हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्रदान गरियो ।
प्रतियोगिताको निर्णायकहरुमा विद्यालयका पूर्वप्रधानाध्यापक एवम् कलाकार हस्तबहादुर परियार, पूर्वशिक्षक ध्रुव श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लवकुश गौतम रहेका थिए । सोही अवसरमा विद्यालयले दसैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षता र नगर शिक्षा शाखाकी प्रमुख जानुका गुरागाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक टिकाराम भूजेलले गरेका थिए ।

शिक्षक मणिलाल खड्कासहित विद्यार्थीहरुबाट सामुहिक रुपमा स्वागत गीत प्रस्तुत गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बलिराज इङनाम, शिक्षक अभिभावक संघका अध्यक्ष शेरबहादुर इङनाम, भूमिदाता कृष्णप्रसाद बराल, पूर्वप्रधानाध्यापक बच्चेलाल चौधरी, इन्दिरा गिरी, जगत रानामगर, डिल्लीप्रसाद चापागाईं, प्रेमप्रसाद लामिछाने, बोलप्रसाद कोइरालालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लीलाधर चौलागाईंले गरेका थिए ।

Facebook Comments