हराउन थाले रैथाने जातका कुखुरा

झापा, असोज २४ । स्थानीय जातका (लोकल) कुखुरा भनेपछि मान्छेहरु हुरुक्कै हुन्छन् । मांशहारीहरु लोकल कुखुरा खोजीखोजी खाने गर्छन् । लोकल कुखुरा पाएसम्म उन्नत जातका कुखुरामा उनीहरुको खास मन जाँदैन ।

ग्रामीण भेगमा निर्वाहका लागि पालिने यस्ता स्थानीय जातका कुखुरा क्रमश: संकटमा पर्दै जान थालेका छन् । सहरीकरणको बढ्दो प्रभाव ग्रामीण भेगमा समेत पर्न थालेपछि कुखुराको रैथाने जाति हराउँदै जान थालेको छ । उन्नत जातका कुखुराको उत्पादन बढेसँगै रैथाने कुखुरा घट्दै र हराउँदै गएको विज्ञहरुले बताएका छन् ।

उन्नत जातका कुखुराबाट छोटो समयमा धेरै उत्पादन लिन सकिने, थोरै दानामा पनि धेरै उत्पादन हुन सक्ने र आम्दानी पनि बढी लिन सकिन्छ । तर, स्थानीय जातका कुखुराको वृद्धि निकै ढिलो हुने, बाहिर खुला छाडेर पाल्नुपर्ने, अण्डाको उत्पादन पनि कम हुने हुँदा किसानहरुको रुचि पनि घट्दै जान थालेको छ ।

रैथाने जातका कुखुराको सरंक्षण गर्ने र उत्पादन बढाउने विषयमा अनुसन्धान गरिरहेका सरोज सापकोटाले रैथाने जात ढिलो बढ्नु, गाउँघरमा लामो समय कुरेर कुखुरा पाल्ने चलन हराउँदै जानु र काम गर्ने युवा विदेश र सहर पलायन हुँदा स्थानीय जात हराउँदै गएको बताए । स्थानीय जातका कुखुरा ग्रामीण भेगमा घरासयी प्रयोजन र कोही पाहुना आउँदा स्वागतका लागि मात्रैं पाल्ने चलन अहिले पनि विद्यमान छ ।

स्थानीय कुखुराको बजार माग धेरै भए पनि व्यावसायिक उत्पादन खास छैन । ग्रामीण भेगमा सडक र बिजुलीको पहुँच पुग्न थालेपछि उन्नत जातका कुखुरा व्यवसायिक रूपमा पाल्न थालिएको छ । पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईका अनुसार नेपालका हिमाली भागका जिल्लाहरूमा समेत पछिल्लो समयमा उन्नत जातका कुखुराको व्यावसायिक उत्पादन गर्न थालिएको छ । नेपालमा ३ प्रकारका स्थानीय जातका कुखुराहरु पाइन्छ ।

गाउँघरमा पाइने घाँटी खुइँले, प्वाँख उल्टे (दुम्से) र साकिनी जातका कुखुरा रैथाने हुन् । घाँटी खुइले र प्वाँख उल्टे जातका कुखुरा हराउँदै गएका छन् । यी जातका कुखुरा कतैकतै मात्र फेला पार्न सकिन्छ । त्यसमध्ये साकिनीको संख्या बढी पाइए पनि अन्य दुई प्रजातिका कुखुराको संख्या उल्लेख्य मात्रामा घट्दै गएको विज्ञ डा. निराजन भट्टराईले जानकारी दिए । यी दुई प्रजातिको उचित संरक्षण नभएमा लोप हुने खतरा रहेको विज्ञ डा. भट्टराईले चिन्ता व्यक्त गरे ।

उनका अनुसार घाँटी खुइले प्रजाति अत्यधिक गर्मी सहन सक्नेमा पर्दछ । उपभोक्ताले घाँटीमा रौँ नभएकै कारण देख्दा मन नपराउने कारणले संख्या घट्ने क्रम बढेको छ । देशको कुल मासु उत्पादनको १७ दशमलव २ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । तर, यसमा स्थानीय जातको कुखुराको खासै योगदान छैन ।

रैथाने कुखुरा कति छन्, यसको एकिन तथ्यांक छैन । लिन पनि सजिलो छैन । पशु सेवा विभागको सन् २०१७ को तथ्यांकअनुसार नेपालमा करिब ७ करोड कुखुराको संख्या रहेको छ । यसमा रैथाने जातका कुखुराको संख्या समावेश गरिएको छैन ।

स्थानीय जातका कुखुरालाई ग्रामीण पर्यटन र व्यावसायिक उत्पादनलाई जोड्न सक्ने हो भने आत्मनिर्भर र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विज्ञहरू बताउँछन् । स्थानीय निकायले ग्रामीण होमस्टेको प्रवर्द्धनमा स्थानीय जातका कुखुराको उत्पादनलाई जोडन सके निकै राम्रो हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका पशु प्रजनन तथा जैविक प्रविधि विभागका प्रमुख डा. निराजन भट्टराईले सुझाए । थोरै लगानीमा रैथाने कुखुरा पाल्न सकिने डा. भट्टराईले बताए ।

रैथाने जातिका कुखुरामाथि अनुसन्धान

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक सरोज सापकोटाले स्थानीय जातका कुखुराको उत्पादन वृद्धि र लागत घटाउने विषयमा अनुसन्धान गरिरहेका छन् । सापकोटाले चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पिएचडी गर्दैछन् । रैथाने जातको कुखुराको वृद्धिदर कम छ । छोटो समयमा कुखुराको तौल बढाउने र अण्डामा कसरी बढी उत्पादन लिने भन्नेबारेमा सापकोटाले अध्ययन गरिरहेका छन् । उनले अध्ययन थालेको ५ वर्ष पुग्यो । अझकेही वर्ष लाग्ने सापकोटाले बताए ।

सापकोटाले ०७१ मा तराई, मध्य पहाड र उच्च पहाडबाट रैथाने साकिनी जातका आठदेखि १२ हप्तासम्मका चल्ला ल्याए । रैथाने जातको साकिनीमा अण्डा र मासुका लागि पालिने कालो अस्ट्रालोर्प, न्यु हयाम्पसायर र गिरिराजसँग क्रस गराउन थालेका छन् । क्रस गराएर निस्किएको चल्लाको शारीरिक वृद्धिदर र अण्डा उत्पादनको अवस्थामा बारेमा उनले अध्ययन गरिरहेका छन् ।

सापकोटाका एडभाइजर एवम् विश्वविद्यालयका रजिष्ट्रार प्राडा मनराज कोलाक्षपतिले स्थानीय जातका कुखुरामा गराइएको क्रसबाट ६ महिनामा २ किलो र अण्डा एक वर्षमा १४० देखि १६० सम्म बढाउन सकिएको बताए । स्थानीय जातका कुखुरा ६ महिनामा डेढ किलो हुने र अण्डा वार्षिक ६० देखि ७० वटा मात्रै दिन सक्छन् ।

स्थानीय जातका कुखुरासँग कालो अस्ट्रालोर्प, न्यु हयाम्पसायर क्रस गराउँदा जन्मिएको पहिलो पुस्तालाई उन्नत जातका कुखुरासँग क्रस गराउँदा ६ महिनामा २ किलो ५० ग्राम तौल पाइएको प्राडा कोलाक्षपतिले बताए । अनुसन्धानबाट ६ महिनाको अवधिमा एक किलो मासु बढाउन सकिने देखिएको छ । अण्डाको उत्पादन वार्षिक प्रतिकुखुराबाट १८० देखि १९० सम्म उत्पादन गर्न सकिने देखिएको छ । यही कुखुराले स्थानीयस्तरमा ५० देखि ६० भन्दा बढी पार्न सक्दैन ।

कोलाक्षपतिले मासुको तौल बढाउनेभन्दा पनि अब ६ महिनाको अवधिलाई ४ महिनामा झार्ने बारेमा अनुसन्धान भइरहेको बताए । ‘अब हामी तौल बढाउनेभन्दा अवधि घटाउने तर्फ लागेका छौँ’, प्राडा कोलाक्षपतिले भने, ‘त्यसले लागत पनि घट्ने छ, स्थानीय जातका कुखुराको तौलवृद्धि र अण्डा उत्पादन वृद्धिलाई असर गर्ने जीनको पहिचान गरी सुधार गर्नेतर्फ अनुसन्धान केन्द्रित हुन्छ ।’

तीनवटा रैथाने जातका कुखुरामध्ये साकिनी धेरै राम्रो छ । यसमा हाइ प्रोटिन र कम फाट हुन्छ । सहरमा रैथाने जातका स्थानीय कुखुराका माग भए पनि उत्पादन भने छैन ।

Facebook Comments