कालोबजारी गर्नेलाई छुट !

मोरङ, असोज २४ । चाडपर्व नजिकिएसँगै विराटनगरमा उपभोक्ता ठगी र कालोबजारी बढेको छ । खरिद मूल्यभन्दा ८ गुणा बढी मूल्य राखेर व्यापारीले खुलेआम सामान कालोबजारी गर्दा पनि अनुगमन समितिले कुनै कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन ।

अनुगमनमा खटिएको जिल्ला प्रशासन कार्यालय मोरङले कालोबजारी गर्ने व्यापारीलाई उन्मुक्ति दिने प्रयास गरेको पाइएको हो । विराटनगरका अधिकांश कपडा तथा जुत्ताको बिक्री कारोबार गर्दै आएका व्यापारीले चाडपर्व लक्षित गरी वृद्धि गरेको मूल्य नियन्त्रणमा स्थानीय प्रशासन मौन देखिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा वाणिज्य कार्यालयको प्रमुखसहितको संयुक्त अनुगमन टोलीले विराटनगरस्थित ग्यालेक्सी मार्ट र साकेत रेडिमेड कपडा पसलमा केही दिन अगाडि अनुगमन गरेको थियो । कपडा र जुत्तासँगै म्याद गुज्रेको खाद्य सामग्रीसमेत बिक्री गर्दै आएका उनीहरूलाई कुनै कारबाही भएको छैन ।

अनुगमनमा ग्यालेक्सीले बिक्री मूल्य खरिद मूल्यभन्दा ८ गुणा बढी राखेको पाइएको थियो । ग्यालेक्सी मार्टले ४७५ रुपैयाँमा खरिद गरेको जुत्तालाई ३ हजार ९०० रुपैयाँमा बिक्री गर्ने गरेको अनुगमनको क्रममा भेटिएको थियो । साकेतमा पनि ४८२ मा खरिद गरेको स्पोर्टस जुत्ता १ हजार ५८५ रुपैयाँमा बिक्री गरेको अनुगमन टोलीले भेट्टाएको थियो । ग्यालेक्सीले ४५५ रुपैयाँमा खरिद गरेको जिन्स पाइन्ट १ हजार ३७५ रुपैयाँमा र साकेतले ४०० रुपैयाँ पर्ने पाइन्ट १ हजार ३०० रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको थियो ।

अनुगमन टोलीमा संलग्न वाणिज्य कार्यालय विराटनगरका प्रमुख कुमार दाहालका अनुसार दुबै पसललाई कालोबजारी गरेको भेटिएकोले ७ दिनभित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छ । जबकि ७ दिनभित्रमा दसैँ बजार अन्तिम अवस्थामा पुगेको हुन्छ । अचाक्ली मूल्यवृद्धि गरी कालोबजारी गर्ने व्यापारीलाई अधिकारसम्पन्न अनुगमन टोलीले ७ दिनको म्याद राखेर कार्यालयमा कागजात बुझाउन निर्देशन दिनु भनेको ठगीलाई छुट दिएको उपभोक्तावादी उत्तम ढुंगेलको भनाइ छ ।

जुत्ता र कपडाको कारोबार गर्दै आएका दुबै पसलले चकलेट, भुजिया जस्ता खाद्य वस्तुसमेत बिक्री गर्ने गरेका छन् । जसको कुनै कारोबार अनुमति उनीहरूले लिएका छैनन्। तर प्रशासनले ७ दिने म्याद दिएर पत्र मात्रै थमाउनुमा मिलेमतोमा कालोबजारी भइरहेको आशंका उपभोक्ताले गरेका छन् । अनुगमन टोलीको नेतृत्वकर्ता सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने कालोबजारी गरेको देखिएकाले जिल्ला प्रशासनमा उपस्थित हुन दुबै पसलका सञ्चालकलाई निर्देशन गरिएको बताए । अघिल्लो वर्षमा अनुगमन टोलीले कालोबजारी गरेको भेटिए तत्काल शिलबन्दी गर्ने र थप कारबाहीको प्रक्रिया अगाडि बढाउने गर्दै आएको थियो ।

व्यापारमा खरिद मूल्यको २० प्रतिशतसम्म मुनाफा आर्जन गर्न पाउने कानुनी प्रावधान छ । तर, ९०० प्रतिशतसम्म मुनाफा लिएको भेटिए पनि त्यस्ता व्यापारीलाई कारबाही नहुँदा कालोबजारी र महँगी बढेको छ ।

Facebook Comments