वीरता जेसीजद्वारा दुई पुरस्कार स्थापना

बिर्तामोड, असोज २५ । वीरता जेसीजले दुई लाख रुपैयाँको अक्षयकोषसहित दुईजना पूर्वअध्यक्षको स्मृतिमा पुरस्कारको स्थापना गरेको छ ।
वीरता जेसीजको सचिवालयमा बुधबार आयोजित एक कार्यक्रमबीच पुरस्कार स्थापनाको घोषणासँगै अक्षयकोषका लागि रकम हस्तान्तरण सम्पन्न भएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले दुई पुरस्कार स्थापनाको घोषणा गरेका थिए ।

पूर्वअध्यक्षहरुको स्मृतिमा ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार’ स्थापना गरिएको हो । उक्त पुरस्कारका लागि स्वर्गीय ढकालको परिवारका तर्फबाट श्रीमती सावित्रा ढकाल तथा छोरा-बुहारी सिर्जन र एलिनाले अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै, स्वर्गीय शर्मा (घिमिरे) को परिवारबाट श्रीमती रेखा घिमिरे र भाइ लब घिमिरेले अक्षयकोषको रकम प्रदान गरेका थिए । हरेक वर्ष वीरता जेसीजको साधारणसभामा प्रदान गरिने दुबै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ । पुरस्कार यसै वर्षबाट वितरण सुरु गरिने बताइएको छ । समारोहमा स्वर्गीय ढकालका परिवारका तर्फबाट भाइ मोहन ढकाल र लक्ष्मण ढकालले जेसीजको अगुवाइमा हुन लागेको कार्यको प्रशंसा गरेका थिए ।

त्यस्तै, पत्रकार महासंघ प्रदेश नम्बर १ कार्यसमिति सदस्य तीर्थ सिग्देल र महासंघ झापाका सचिव सन्तोष आचार्यले समेत जेसीजको कार्यको प्रशंसा गर्दै आफ्ना सुझाव राखेका थिए । वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष जीवनकुमार खड्का गरेका थिए ।

वीरता जेसीजले छुट्टै बैंक खातामार्फत अक्षयकोषको सञ्चालन गर्ने र त्यसका लागि आवश्यक कार्यविधि समेत बनाइने बताइएको छ । वीरता जेसीज तथा संस्थाको दीर्घकालीन योजना समिति र दाता परिवारको परामर्श र संलग्नतामा उक्त कार्यलाई अघि बढाइने अध्यक्ष गिरीले जानकारी दिए । पुरस्कृत प्रतिभा छनोटका लागि छुट्टै समितिमार्फत कार्य अघि बढाइने समेत बताइएको छ ।

वीरता जेसीजमा स्वर्गीय ढकाल र शर्माले र्पुयाएको योगदानको कदरस्वरुप उनीहरुको योगदानलाई कसैको विस्मृतिमा जान नदिन अक्षयकोषसहित पुरस्कार स्थापना गरिएको संस्थापक अध्यक्ष बस्नेतले बताए । मदन ढकाल सन् १९८४ र दिलकुमार शर्मा सन् १९८८ मा वीरता जेसीजको अध्यक्ष भएका थिए ।

वीरता जेसीज तथा जेसीज संस्थाको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिनेछ । वीरता जेसीजमा वर्षभरि सक्रिय रहने पूर्वअध्यक्षहरुमध्येबाट एकजनालाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिनेछ ।

Facebook Comments