पुराना दसैंहरुको नयाँ सम्झना

धर्म गौतम

यसपालि, यस स्तम्भको, दसैंपूर्वको यो आखिरी लेख हुन पुगेको छ । त्यसैले सम्पूर्ण पाठकमा दसैंको मंगलमय शुभकामना पुगोस् ।

दसैंलाई कसैले हिन्दुको चाड भनेको सुनिन्छ । वास्तवमा दसैं नेपालीहरुको चाड हो । कुनै न कुनै रुपमा सबै नेपालीले यस चाडलाई मनाउँछन् । यो हाम्रो एउटा सामाजिक पर्व हो । परम्परागत रुपमा दसैंको सामाजिक महत्व छ । हाम्रोमा कुनै पनि चाडपर्वमा निम्ता नपाई कसैकोमा जाने चलन छैन । तर दसैं मात्रै यस्तो एउटा चाड हो जसमा बिनानिम्ता, बिनापूर्वसूचना, मान्यजनकोमा जाने गरिन्छ । यति हुँदाहुँदै पनि यसको मान्य परम्परा पितृ सत्तात्मक प्रकृतिको छ । उमेरले जति नै जेठा भए पनि चेली पक्षकाहरु माइती पक्षकामा नै टिका थाप्न जाने चलन छ । यसमा सुधार गरी ज्येष्ठतालाई आधार मानेर टिका थाप्ने गर्न सकिन्छ । कनिष्ठ भदाले ज्येष्ठ फूलाई भन्दा ज्येष्ठ फूले कनिष्ठ भदालाई टिका लगाइदिएर आशीर्वाद दिनु उपयुक्त देखिन्छ ।

परम्परागत रुपमा दसैं सरसफाइको चाड समेत हो । यसको स्वागतका लागि घर आँगन मात्रै होइन बाटाघाटाको समेत सरसफाइ र मर्मत गर्ने चलन थियो, अझधेरैतिर यो चलन कायम छ । दसैंमा घर लिपपोत तथा रंगरोगन गर्ने चलन सहर बजारतिर हट्दै गएको छ । आफो सुविधाअनुसार यस्तो कार्य अन्य समयमा गर्न थालिएको छ ।

सहरको तुलनामा गाउँघरमा यस्तो लिपपोतको चलन अझकायमै छ । तर लिपपोत गर्ने पुराना सामग्रीमा भने परिवर्तन आउँदैछन् । उहिले गाउँघरमा चुना पाइँदैन थियो, त्यसैले सेतो कमेरो र रातो माटोले घर पोत्ने चलन थियो । कमेरो लिन लाठेहरु जान्थे, त्यो जहाँ तहाँ पाइँदैन थियो । साथै यस्तो कमेरो खन्ने काम अलिक कठिन र जोखिमको समेत हुन्थ्यो । रातो माटो भने मड्केनामा गएर महिलाहरु नै लिएर आउँथे । यस क्रममा यदाकदा दु:खद घटना पनि हुन्थे, मड्केनामा महिला पुरिन्थे मास्तिरको ढिस्कनु खसेर, कतिको ज्यानै जान्थ्यो ।

दसैंको विशेष परिकारमा चिउरा पर्छ तिहारको सेल रोटी जस्तै । गाउँघरमा दसैंमा घरघरमै चिउरा कुट्ने चलन हुन्थ्यो । दिनमा भन्दा पनि राति कुटिन्थ्यो चिउरा, दिनको साविकको काम सिध्याएर । त्यसैले, राति अबेरसम्म गाउँभरि ढिकी बजेको आवाज गुञ्जिरहन्थ्यो । यस्तोमा पर्मा जसरी परिवार परिवारमा आलोपालो गर्ने चलन समेत थियो ।

मासुमंस चल्ने परिवारमा चलनअनुसार खसी, बोका, राँगा, सुँगुर आदिको समेत जगेडा गर्ने चलन थियो/छ । शाकाहारी परिवारमा दही र केराको जोगाड गरिन्थ्यो चिउरासँग खान । मासुमंस चल्ने परिवारमा पनि शाकाहारी पाहुना आउन सक्ने भएकाले त्यस्ता घरमा समेत दही र केराको बन्दोवस्त गरिन्थ्यो । दसैंमा घरैपिच्छे केराका घरी कसरी पुग्थे, अरु बेला के हुन्थ्यो, विचार गर्दा उदेक लाग्छ ।

कतै आफन्त आदिकामा जाँदा खालि हात नजानु भन्ने सामाजिक मान्यताअनुसार मानिस केही न केही सामग्री लिएर जाने चलन छँदैछ । त्यसलाई कोसेली भनिन्छ तर दसैंको कोसेलीको विशेष नाम छ- सिसार । आफो गच्छेअनुसारको सिसार लाने चलन थियो । सहज उपलब्धताका आधारमा कतिले केराका काइँया बोक्थे । पशुपालन सर्वत्र जसो हुने भएकाले दूधको कुराउनी बनाएर लाने चलन निकै व्यापक थियो ।

कुराउनी पोको पार्ने अचेल जस्तो प्लास्टिक थिएन, त्यसैले पातका बोहोता, टपरीमा कुराउनी राखेर माथिबाट पातैले मोर्ने चलन थियो सिन्कम उनेर । कतैकतै त्यसलाई चोयाले बनाएका पेरुङ्गामा राखेर अझ सुरक्षित गरिन्थ्यो । चलनअनुसार खासगरी जनजातिका मानिस यस्तो पेरुङ्गामा मासु समेत राखेर लाने गर्दथे । दसैंमा रित बुझाउन भनेर केटा पक्षले मारेका सिङ्गै राँगा, सुँगुर समेत लाने चलन थियो केही जनजातिहरुमा ।

दसैं सबैभन्दा बढी लाग्थ्यो केटाकेटीलाई । उनीहरुका लागि दसैं पापा, नाना, चाचा पाउने अवसर हुन्थ्यो । पंक्तिकारकै बाल्यकालमा मात्रै होइन निकै पछिसम्म पनि उसले पाउने नयाँ कपडा भनेको दसैंको एक जोर हुन्थ्यो । त्यो पनि अधिकतर स्कुलको युनिफर्मका रुपमा । एकजोर कपडाले दसैं पनि मानिन्थ्यो, वर्ष दिनलाई स्कुल ड्रेस पनि हुन्थ्यो । अचेलजस्तो स्याहारी नसक्ने गरीका कपडा हामी सपनामा पनि देख्दैन थियौँ ।

कपडासँग अर्को समस्या थियो सिलाउने । अचेल जस्तो तयारी पोशाक नपाइने भएकाले थानबाट कपडा लिएर दर्जीकहाँ सिलाउन दिनु पर्ने । बिचरा दर्जीहरुलाई भ्याइनभ्याइ । इलाम बजारमा मेन्टोल बालेर रातिसम्म कपडा सिलाउँथे दर्जीहरु । लुगा सिलाइसक्ने अन्तिम म्याद एकै दिन हुन्थ्यो- फपाति । कथम् त्यस दिन कपडा सिलाइ सकिएन भने रुवाबासी चल्थ्यो केटाकेटीमा ।

मलाई सानैदेखिको राम्रो सम्झना छ, फपातिका दिनहरुमा नयाँ लुगा लगाएर फपाति हेर्न टुँडिखेल गएको । निकै टाढाका गाउँघरबाट समेत मानिस लस्कर लागेर फपाति हेर्न आउँथे । जुत्तासहितको नयाँ पोशाकमा टुँडिखेल लाग्दा बाटामा आधा समय मात्रै रमिता हेरिन्थ्यो, बाँकी आधा समय आफै पोशाक नियाल्नमा खर्च हुन्थ्यो । क्या, रमाइला हुन्थे ती दिनहरु ।

दसैंमा घरमा टिका लगाएपछि हतारो पर्थ्यो मावल जानको । मावलीमा टिकाका साथमा दक्षिणाका रुपमा सिक्काहरु पाइन्थे । तिनले नै बढी तान्थे होला मावलतिर । निकै यस्ता घरमा टिका लगाएपछि गोजी सिक्काको भारीले लच्किन्थ्यो । बेलाबेला गोजीबाट निकाल्दै गन्ने पनि गरिन्थ्यो । दौतरीसँग कसका पैसा धेर भनेर दाँज्ने चलन नभएको होइन । धेरै हुनेले आफाई विशेष ठानिन्थ्यो होला ।

स्कुलहरुले विद्यार्थीहरुलाई विशेष रुपले सधाउँथे फपातिमा परेड खेलाउन र खेलकुद प्रदर्शनका लागि । पिटी अर्थात् फिजिकल ट्रेनिङ भनेर शारीरिक कौशलहरु प्रदर्शन गरिन्थ्यो । फपातिका नानाथरीका खेलकुदमा पिटीको छुट्टै आकर्षण हुन्थ्यो । विजेता स्कुललाई पुरस्कारका रुपमा रनिङ शिल्ड दिइन्थ्यो । सदरमुकामतिर सरकारी आयोजनामै सम्पन्न हुन्थे फपातिका कार्यक्रमहरु ।

धेरैधेरै रमाइला सम्झनाहरु छन् दसैंसँग जोडिएका । उसबेला गरिबी निकै व्यापक थियो । त्यसैले दसैंलाई दशा समेत भनेको सुनिन्थ्यो । उखान थियो- आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई । खासगरी जनजाति समुदायमा मासु र जाँड रक्सीको अत्यधिक चलनले साँच्चै ऋण बोकाउँथ्यो । गरिब दु:खीले पनि ऋण गरेरै सही दसैं त मनाउनै पर्ने ।

यसपालि पनि दसैं आयो तर मुलुकको अवस्था रमाइलो गर्ने खालको छैन । खासगरी महिलामाथिको बढ्दो हिंसाले समाज आक्रान्त छ । बालिका बलात्कार र हत्याका घटनाका विरुद्ध मुलुकभर विरोध र प्रदर्शन जारी छ । केही घटनाहरुमा प्रहरी प्रशासन नै आलोचनामा परेको छ । अपराधीलाई जोगाउने प्रयास राजनीतिक एवम् प्रशासनिक निकायबाटै भइरहेका आरोपहरु छन् ।

सामान्य बहुमतको मात्रै होइन दुईतिहाइको सरकार छ । त्यसमा पनि कम्युनिस्ट पार्टीको । कम्युनिस्ट पार्टीलाई परम्परागत रुपमा क्रान्तिकारी तथा आमूल परिवर्तनकारी मानिन्छ तर हाम्रा सन्दर्भमा त्यो कल्पनाको खेती मात्रै सावित भएको छ । तथापि समय बाँकी छ, आश मारिहाल्ने बेला भएको छैन । मानिसको जीवनको मुख्य भरोसा आशामा जोडिएको हुने रहेछ ।

जे जस्तै भए पनि, दसैं हाम्रो ठुलो चाड हो । सामाजिक सद्भाव बाँड्ने अवसर हो । अभाव, पीडा र व्यथा आफा ठाउँमा छन् । कुनै न कुनै तहका यस्ता कुरा सधैँ जसै रहन्छन् । त्यसैले तिनलाई बिर्सेर पनि पर्वमा रमाउने हाम्रो चलनलाई निरन्तरता दिनु नै छ । दसैं एक प्रकारले आध्यात्मिक पर्व पनि हो । त्यसैले यसपालिको दसैंले सबैमा सुख र शान्ति देओस्, पुन: सबैमा हार्दिक शुभकामना ।

Facebook Comments