जातीय विभेदले लोकेश र देवका ‘भूमिगत’

झापा, असोज २५ । जातभात मान्नुहुँदैन भन्दै सहर-बजार  र गाउँटोलमा चर्कै नारा घन्किरहेका छन् । जातीय आधारमा विभेद गर्नेलाई कानुनले ‘अपराधी’ करार गर्छ ।

तर परिवार, समाज र प्रहरी प्रशासन तिनैतिरबाट प्रताडित बनेको छ, अन्तरजातीय विवाह गरेको झापाको एक जोडी । बुद्धशान्ति गाउँपालिका वडा २ जयपुरका लोकेश दर्जी र कनकाई नगरपालिका ७ की देवका विमलीले दुई महिनाअघि प्रेम विवाह गरे । तर, दर्जीसँग बाहुनीले विवाह गरेको पचाउन नसक्ने परिवार, समाज र प्रहरी प्रशासनबाट ज्यान जोगाउन दुई महिनादेखि एक बन्द कोठामा कैदी सरहको जीवन बिताइरहेको छ यो जोडी । झापाबाट जसोतसो फुत्केर काठमाडौँ पुगेको यो जोडीलाई युवातीका माइतीतर्फका आफन्तले खटाएका गुन्डासँग डर छ । उनीहरुकै पक्षमा रहेको प्रहरी प्रशासनसँग डर छ ।

नजिकिँदो चाडबाडको उल्लासको झोक्का उनीहरुसम्म पनि पुग्छ । तर, मन अमिलो बनाएर फर्किन्छ । ‘दसैंतिहार आउँदैछ । सबै मान्छे देशविदेशबाट घर फर्किरहेका छन् । हामी यहीँ भएको मान्छे यसरी भूमिगत भएर बन्द कोठामा लुकेर बसिरहनु परेको छ’, श्रीमती देवकातिर हेर्दै लोकेशले मनको बह पोखे ।

उत्साह र त्रास दुवै मिसिएका आँखा जुधाउँदै देवकाले थपिन्, ‘चाडपर्वमा कल्लाई घर जान मन लाग्दैन । हामी नयाँ जोडीलाई बाबाआमाको हातबाट दसैंको टिका थाप्न मन छ । तर, ज्यानको सुरक्षा छैन कसरी जाने ?’

केही दिनअघि गुन्डाले उज्याएको खुकुरी जस्तो धारिलो देखेछन् लोकेशले देवकाको प्रश्नवाचक चिह्न । भुइँतिर हेरेर एकछिन मौन रहे । तर समयले जिन्दगीको यात्रामा प्रश्न लगाइदिएपछि सामना नगरी कहाँ धर छ र ? लोकेश आफले प्रश्नवाचक उत्तर फर्काए, ‘गोजीमा भएको पैसा सकिसक्यो । यहाँ पनि आफन्तकोमा बसिरहेका छौँ । झापादेखि न्याय खोज्दै र ज्यान बचाउँदै यहाँसम्म आइपुगियो । अब हामी जाने कहाँ ?’

प्रेमको गोरेटो यसरी कोरियो

निरासाको बादल मडारिएको लोकेशको आँखामा एकाएक चमक फर्कियो । उनले सुनाए, ‘म कपडा पसलमा सेल्सम्यानको नोकरी गर्थें । उनी पल्लोपट्टि पार्लर सिक्न आइन् । यसरी हाम्रो देखभेट भयो ।’ देखभेट र बोलचालपछि देवकाले फेसबुकमा फन्ड रिक्वेस्ट पठाइन् । च्याटमा उनीहरुको कुराकानी हुन थाल्यो । त्यसपछि मोबाइल नम्बर लेनदेन भयो । कुराकानी बढ्दै गयो । प्रेमको बिरुवा हुर्किंदै गयो ।

मनमा गाँठो परेर बसेको प्रेम एक दिन राति फोनमा कुरा गर्दैगर्दा लोकेशले देवका समक्ष फुकाउने मनसाय बनाए । उनले मुटुको रक्तचाप बढिरहेको महसुस गरे । हिम्मत गरेर भनिदिए, ‘म तिमीलाई माया गर्छु ।’

देवकाले फोन काटिदिइन् । लोकेशलाई मनको भारी बिसाएकोमा शान्ति र देवका रिसाएकोमा पीर दुवै एकैपल्ट महसुस भयो । लोकेश सिरानी काखमा च्यापेर छटपटिँदै थिए । टङटङ फोनको घन्टी बज्यो । म्यासेज देवकाको थियो । फेरि मुटुको धड्कन बढ्न थाल्यो । म्यासेजे खोलेर हेर्दा लेखिएको थियो- लभ यु टु ।

लोकेशले यति बताउँदै गर्दा देवकाले आफातर्फको कहानी सुनाइन्, ‘उहाँले प्रपोज गर्दा मलाई डर लाग्यो । के भनुम् के भनुम् भयो । माया त थियो तर भन्न सकिरहेको थिइनँ । मुखले भन्न नसकेर म्यासेजबाट जवाफ फर्काएँ ।’ उनीहरु त्यसपछि रातभर पनि फोनमा गफिन थाले ।
कुरा के हुन्थे त ? दुवैलाई थाहा छैन । तर, कुरा गर्दागर्दै उज्यालो हुन्थ्यो । देवका लोकेशको घर आउजाउ गर्न थालिन् । लोकेशले आमासाँग कुरा गरिसकेका थिए । लोकेशकी आमाले बुहारीको रुपमा स्वीकारिसकेकी पनि थिइन् ।

हिम्मतवाली देवका

जातभातको साँघुरो बाटो भत्काएर प्रेमको चौडा मैदान बनाउने काम देवकाबाट भएको हो। बाहुन परिवारकी उनी जातभातको कुसंस्कारबाट बाहिर निस्किसकेकी थिइन् । लोकेश भन्छन्, ‘मैले कहिलेकाहीँ कुरा निकाल्दा उनी रोक्थिन् । मलाई प्रोत्साहित गर्थिन् ।’ प्रेम सधैँ सिधा बाटोको यात्रा होइन । माया नै माया बाँड्दै गर्दा कहिलेकाहीँ अलिकति झगडा पनि मिसिन पुग्छ । एकदिन प्रेम मिश्रित झगडा भयो यी दुईबीच । देवकाको चित्त दुख्यो । रुँदै फोनमा अशोकसँग बोलिरहेकी थिइन् । पछाडिबाट उनकी आमाले सुनेकी रहिछन् । अलि-अलि पहिल्यैदेखि शंका थियो उनलाई । देवका सम्झिन्छन्, ‘कोसँग बोलेको होस् भनेर उहाँले अलिअलि गाली गर्नुभो । मेरो फोन फुटालेर फालिदिनु भयो ।’

छटपटीको क्षण

त्यसपछि ८ दिनसम्म उनीहरुको कुराकानी हुन पाएन । पानीबिनाको माछा जस्तै छटपटाए दुवै । गत साउन १४ गते लोकेश देवकाको घर खोज्दै पुगे । देवकालाई नदेखेपछि फर्किएको खबर पाइन् । देवकाले पल्लो घरबाट फोन गरेर फर्काइन् । उनीहरुले भेटे गरे । प्रेम बसेको तीन वर्ष भइसकेको थियो । देवकाले प्रेममा केही आवेश मिसाएर भनिन, ‘बिहे गर्ने भए गरुम् जुम् (गरौँ जाउँ )।’

शुभ विवाह

लोकेशले बाइकमा बस्न संकेत गरे । देवका बसिन् । त्यसपछि विवाह भयो । उनीहरु इलाम जान भनेर निस्केका थिए । साँझ परेकाले गाडी पाइएन । तीन दिन बर्ने गएर बसे । उनीहरु सानीआमा कहाँ बसेका थिए । त्यहाँ बस्दा प्रहरीले उनीलाई सम्पर्क र्गयो । ‘प्रहरीले केही हुँदैन फर्किनुहोस्’ भने । प्रहरीले आइडिया पनि सुझायो, ‘आमाबुवाका अगाडि राजीखुसीले विवाह गरेका हौँ भनिदिनुहोला । उमेर पुगेको रहेछ, डराउनुपर्दैन ।’

परिवारको धम्की

उनीहरु लोकेशको घर फर्के । घर पुगेकै दिन देवकाकी दिदी भने पुलिस लगेर सानीआमा पुगिन् । त्यहाँबाट सानीआमाको फोन आयो, ‘तिमीहरुलाई त पुलिसले खोज्दै यहाँसम्म आएको छ । भागिहाल ।’ उनीहरु भागेर सिक्किम पुगे । त्यहाँ केही दिन बसे । उनीहरुलाई ५ दिनभित्र पुलिस स्टेसनमा हाजिर हुन भनिएको खबर पठाइयो । फर्केर आए ।

जबर्जस्ती लगिएको भनेर प्रहरीमा निवेदन हालिएको रहेछ । प्रहरीले देवकालाई केरकार र्गयो, ‘म आफै खुसीले गएको हो’ भनिन् । त्यसपछि देवका बुबाले ‘छोरी यहाँ आइज म गफ गर्छु’ भने । ‘जे सोध्न’ छ यहीँ सबैको सामु सोध्नुस् । म आउँदिनँ,’ देवकाले अड्डी कसिन् ।

देवकाले नमानेपछि जबर्जस्ती तानेर लगियो । घिसार्दै पुलिस स्टेशन भन्दा पर लगेर गेटबाहिर लान खोजेका थिए । तर, दलित संघका सुरेश बराइली र वडा अध्यक्ष दिलिपले गेट बन्द गरे र उनका जेठाजुले भिडियो खिच्न थाले ।

त्यतिन्जेल मुकदर्शक बनेको प्रहरीले भिडियो खिच्न थालेपछि एकाएक आक्रोशित भयो । देवकालाई लिएर चौकीभित्र थुनिदियो । उनकी दिदी आइन् । उनले भनिन्, ‘भित्र मेरो दिदी आउनु भयो । मलाई घर हिँड अझै पनि केहि बिग्रेको छैन भन्नुभयो । तलाईं हामी काठमाडौँ पठाइदिन्छौँ । त्यहाँ एकदुई महिना बस् विदेश जालिस् भनेर फकाउनुभयो ।’

बुवाको मार्ने वचन

उनले आफूले प्रेम गरेको मान्छे छाड्न नसक्ने अड्डी कायम राखिन् । त्यसपछि आफो बुबाले दिएको धम्की सम्झिन्छिन् देवका, ‘ल ठिक छ उसोभए हामीले जे गर्न सक्छौँ गर्छौं । त्यसका लागि कहाँसम्म जानुपर्ने हो जान्छौँ । नसके तँलाइ मारेर फालिदिन्छौँ ।’

देवकाका आफन्त गइसकेपछि वडा अध्यक्षको रोहबरमा प्रहरीले उमेर पुगेको कागज गरिदियो । उनीहरु घर फर्के । कागजमा भनिएको थियो, ‘देवकालाई केही भए लोकशलाई कारबाही गरिने ।’

गुन्डा लिएर दिदीको जबर्जस्ती

कागज गरे पनि अवस्था सामान्य भयो भनेर घर बसिरहेका थिए । विवाह भएको २० दिन भएको थियो । देवका घरबाहिर बसेर कोरीबाटी गर्दी थिइन् । लोकेश अर्को घरमा थिए । देवकाले आफी दिदी आफूले नचिनेको तीनजना मान्छेसँग आइरहेकी देखिन्। उनले भनिन्, ‘हेर्दै डरलाग्दा थिए । म झटपट तलको रुममा छिरेँ र लुकेँ ।’ उनीहरुले बहिनी र भाइलाई लिन आएको र भोलि फर्काइने बताए । त्यसो भनिरहँदा देवका बाहिर निस्किइन् । उनलाई आमा बिरामी रहेकाले खोजिएको उनीहरुले बताए । त्यसपछि गाउँलेले तलमाथि भए लोकेशलाई पक्रिने प्रहरीले कागज गरेकाले लैजान नदिने अड्डी कसे । ‘घरसम्म तीनजना मात्रै आउनुभएको रहेछ । तर, १५ जना लुकेर बसेका रहेछन्’, देवकाले भनिन्, ‘एकएक गरी आउन थाले ।’

प्रहरीको असहयोग

देवकाले ममी बिरामी भएको भए आफू फोनमा बोल्ने भन्दै अड्डी कसिन् । घरमा यसरी अपरिचित मान्छे आउन थालेपछि लोकेशले प्रहरीमा उजुरी दिन चाहे । उनले भने, ‘हामीले त्यहाँ उजुरी दिन खोज्दा प्रहरीले यस्तो झगडा लफडाको उजुरी सुनिँदैन भन्नुभयो ।’ उनले आफूलाई सुरक्षा चाहिएको भन्दा प्रहरीले आफो सुरक्षा आफ गर्ने भनेको उनी सम्झिन्छन् ।

काठमाडौ“मा भूमिगत

त्यसपछि उनीहरुलाई घरमा बस्न डरमर्नु भयो । काठमाडौँ आए । तर, अहिले उनीहरुलाई सहयोग गर्नेहरुलाई फोन गरेर देवकाका माइतीले धम्काइरहेका छन् । उनीहरु काठमाडौँ आएपछि लोकेशको परिवारमाथि फेरि धरपकड भयो । ‘मेरो दिदीहरु गएर तिनीहरुलाई ५ दिनभित्र झिकाउनु भनेर प्रहरीलाई दबाब दिएछन् । प्रहरीले मेरो जेठाजुलाई उहाँको फस हाउसबाट फर लगे । उहाँले म ५ दिनभित्रमा ल्याउँछु भनेर छुट्नु भएछ ।’
‘फेरि कागज गरिसकेपछि हाजिर किन नगराएको भन्दै जेठाजुलाई पुलिसले लगे । हामीलाई न्याय कतैबाट छैन उल्टो दबाब छ’, लोकेशले भने । देवकालाई लाग्छ, ‘पुलिस प्रशासनले सहयोग गरेको भए यो कुरा उहिल्यै मिलिसक्थ्यो । उहाँहरुले मेरो कागजपत्र मगाइदिएर सहयोग गरेको भए हाम्रो विवाह दर्ता भइसक्थ्यो ।’

न्यायको पर्खाइमा जोडी

गाउँमा १४ वर्षको चेलीको बिहे हुँदा प्रहरी र ठुलाबडा मान्छे भोज खान गएको लोकेशले देखेका छन् । उनी प्रश्न गर्छन्, ‘तर हामी उमेर पुगेकोले राजीखुसी बिहे गर्दा किन यसरी दु:ख दिइन्छ ?’

उनीहरु न्यायको पर्खाइमा छन् । खुला आकाशमा स्वतन्त्र जीवन जिउन चाहन्छन् । घरीघरी उनीहरु बन्द कोठामा निस्सासिए जस्तै महसुस गर्छन् । देवका भन्छिन्, ‘बाबाहरुलाई आफूभन्दा सानो जातकोसँग गएर इज्जत फाली भन्ने लागेको होला । तर, म आफो खुसीले इज्जत साथ उहाँसँग आएकी हुँ । उहाँसँगै जीवन बिताउन चाहन्छु ।’

लोकेशले आवेगमा देवकाका माइतीले त्यस्तो गरे होलान्जस्तो लाग्छ । उनलाई एकदिन सबथोक भुलेर अपनाउनलान् भन्ने आशा पनि छ । तर, अहिले लुक्नुको विकल्प देखेका छैनन् । किनकि मान्छेले आवेगमा त हो विवेक गुमाउने । समाज र प्रहरीले सहयोग गरेको भए परिवारको रिस शान्त हुन त समय लाग्दैनथ्यो जस्तो लाग्छ उनलाई ।

आफन्तको रिसलाई एकदिन प्रेमले जित्ने सपना यो जोडीले देखेको छ । तर, समाजको ढोंगलाई केले जित्ने ? आदर्शको बलियो कवचभित्र ढोंग रहेसम्म लोकेश-देवकाहरु कोठामा बन्दी जीवन बिताउन बाध्य भइरहनेछन् । विस्थापित भइरहनेछन् ।

Facebook Comments