डान्स धमाकामा डीआईडीकी सोनालको प्रस्तुति

भारतीय रियालिटी शो डान्स इण्डिया डान्स (डीआईडी) सिजन ६ की प्रतिस्पर्धी सोनाल भिचारेले दमदार प्रस्तुति दिएकी छन् ।

झापाको अर्जुनधारा-८स्थित शनिश्चरे डान्स एकाडेमीद्वारा आयोजित शनिश्चरे डान्स धमाकामा सोनालले आफो प्रस्तुति राखेकी हुन् । एकाडेमीको प्रथम वार्षिकोत्सव तथा विजया दशमीको अवसरमा ‘शनिश्चरे डान्स धमाका’ कार्यक्रम आयोजना गरिएको हो । शनिश्चरे माध्यमिक विद्यालयको प्राङ्गणमा एकाडेमीका अध्यक्ष एवम् कार्यक्रम संयोजक प्रताप सुनुवारको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

बुधबार साँझ आयोजित कार्यक्रममा उनीसहित छमछमी सिजन ३का विजेता सरोजराणा प्रजा र हिमशिखर डान्सिङ आईडल सिजन १का विजेता दिपेश राईलगायतले विभिन्न विधाका नृत्यहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा डीआईडी सुपर किड्सको तयारीका लागि मुम्बईबाट प्रशिक्षण लिएकी अर्जुनधाराकी दृष्टि तामाङको प्रस्तुति अर्को लोभलाग्दो बन्यो । त्यस्तै, आयोजक शनिश्चरे डान्स एकाडेमी, द डान्स टीम क्रीउ, सोरठी कला केन्द्र बिर्तामोड, धुलाबारी डान्स सेन्टर, युएमडीसी काँकरभिट्टालगायतका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा छमछमी सिजन १का टप फाईभका कलाकार विक्रम वि.क.लगायतलाई सम्मानित गरिएको थियो । कार्यक्रममा वडा समिति १०का वडाध्यक्ष बलदेवसिंह गोम्देन, नृत्य कलाकार संघ प्रदेश नम्बर १का अध्यक्ष सुनिल थापा, संघ झापाका अध्यक्ष लोकचन्द्र श्रेष्ठ, अभिनेता गोपाल एक्तेनलगायतको आतिथ्यता रहेको थियो ।

इभेन्ट म्यानेजर कुमार उप्रेतीले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन कोरियोग्राफर राज सुब्बा र गोपाल पोखरेलले गरेका थिए ।

Facebook Comments