सैनिकलाई खुदुनावारी गोल्डकपको उपाधि

शनिश्चरे, असोज २८ । खेलको अन्तिम क्षणमा उत्कृष्ट प्रदर्शन गरेपछि झापाको अर्जुनधारामा आयोजित दोस्रो खुदुनावारी गोल्डकपको उपाधि सैनिक युथ क्लब बिर्तामोडले चुमेको छ ।

स्थानीय प्रस्तावित प्राकृतिक रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा न्यू स्टार क्लब खोपबाडीलाई २-१ गोल अन्तरले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा न्यूस्टार रनर अप बन्न बाध्य भयो ।

सैनिकको जीतका लागि खेलको २२औं मिनेटमा राजकुमार कन्दङवाले गोल गरेका थिए भने न्यूस्टारका लागि देवेन्द्र तामाङले पेनाल्टीमार्फत ५९औँ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । तर, इन्जुरी समयमा निशान्त खड्काले गोल गरेपछि सैनिकको जीत निश्चित बनेको हो । विजेता टिमले नगद एक लाख १ हजार १११ सयसँगै ट्रफी पायो भने उपविजेता टिमले ५१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट न्यू स्टारका सनम राई, बेस्ट फरवार्ड, न्यू स्टारकै युसुफ थपलिया, बेस्ट मिडफिल्डर सैनिकका अभिषेक गुरुङ, बेस्ट डिफेन्स सैनिककै प्रवेश गुरुङ, बेस्ट गोलरक्षक सैनिकका विप्लव गुरुङ, बेस्ट कोच सैनिकका प्रवेश कटुवाल, हाइ स्कोरर सैनिकका बुद्धबल तामाङ, फाइनल खेलका म्यान अफ दी म्याच सैनिकका राजकुमार कन्दङवा र राइजिङ प्लेयर आयोजक च्यारिटी युथ क्लबका रोशन मगर घोषित भए । बेस्ट कोचलाई तीन हजार र बाँकी सबैलाई नगद पाँच हजार पुरस्कार दिइयो ।

दुवै टिमका खेलडीहरुलाई पूर्व सांसद् प्रेमबहादुर गिरी, वडा समिति-३का वडाध्यक्ष जीवनकुमार भण्डारी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेल, क्लबका पूर्व अध्यक्ष होमनाथ दुलाललगायतले उक्त पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग र्पुयाउने अर्जुनधारा नगरपालिका, अर्जुनधारा-३ वडा समितिको कार्यालय, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह र शान ओभरसिज बिर्तामोडलगायतलाई कदरपत्रबाट सम्मानित गरिएको थियो ।

सोही प्रतियोगिताको सन्दर्भमा हाल वैदेशीक रोजगारीको क्रममा कतारमा रहेका स्थानीय गणेश दुलालको परिवारकोतर्फबाट विपन्न १२ परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका थिए । नगर प्रमुख हरिकुमार राना र दाताका बुबा विष्णुनाथ दुलालले संयुक्तरुपमा हस्तान्तरण गरेका उक्त सामग्रीहरुमा चामल, दाल, तेल र नून रहेका छन् ।

आयोजक च्यारिटी युथ क्लबका अध्यक्ष दिपक दुलालको अध्यक्षता र प्रदेश नम्बर १का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन सचिव युवराज चापागाईंले गरेका थिए ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको उपशाखाका अध्यक्ष भोला बरालले जानकारी दिए ।

Facebook Comments