आयात रोक्न सामुहिक फूलखेती

बिर्तामोड, कात्तिक ८ । सामान्य कार्यक्रमदेखि पूजामा समेत प्रयोग हुने सयपत्री फूल र माला भारतबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिर्तामोडका महिलाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका छन् ।

बिर्तामोड नगरपालिकाका ३५ जना महिलाले यसपत्री फूलको व्यावसायिक खेती सुरु गरेका हुन् । ‘सामान्य कार्यक्रममा अतिथिलाई लगाउने मालादेखि पूजापाठमा प्रयोग गरिने फूलमा समेतमा भारतको भर पर्नुपर्ने भएकाले अभियान स्वरुप हामीले खेती सुरु गरेका हौँ’, फूलखेतीमा लागेका महिला उद्यमी संघकी अध्यक्ष गोमा भट्टराईले भनिन् । महिलाको समूह गठन गरेर खेती गरिएको उनले बताइन् ।

अहिले उनीहरूले रोपेको फूल ढकमक फूलेको छ । बजारमा माग पनि उच्च रहेको अध्यक्ष भट्टराईले बताइन् । अघिल्लो वर्ष सामान्य उत्पादन भएको फूलले नै बजार राम्रो पाएपछि यो वर्ष एक बिघा जमिनमा फूलखेती गरेको उनको भनाइ छ । ३५ जना महिलाको समूहले सामूहिक रूपमा बिर्तामोडमा सामुहिक फूलखेती गरेका हुन् । हाल दैनिक दुई सयदेखि तीन सय हाराहारीमा सयपत्री फूलका माला बिक्री हुने उनीहरू बताउँछन् ।

कुनै विषादीको प्रयोग नगरी शुद्ध अर्गानिक खेती पद्धतिमार्फत फूलखेती गरेकाले पनि भारतबाट आयात गरिएभन्दा आफूहरूले उत्पादन गरेको फूलको माग बढिरहेको अध्यक्ष भट्टराईले बताइन् । ‘समूहको लक्ष्य नै भारतबाट माला र फूल आयात घटाउनु हो, पहिले झापाको मुख्य बिर्तामोड क्षेत्रमा भारतको आयत घटाउँछौँ, बिस्तारै झापासहित अन्य जिल्लामा पनि यहाँकै फूल र माला र्पुयाउने लक्ष्य छ’, उनले भनिन् ।
फूलखेती गर्न महिलालाई बिर्तामोड नगरपालिकाले तालिम दिएर सहयोग गरेको थियो । भारतको कोलकात्ताबाट पहिलोपटक सयपत्री फूलको बीउ ल्याएर रोप्न सुरु गरेका महिलाले अहिले आफ बीउ पनि उत्पादन गर्दै आएका छन् । बीउ र लिजमा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा एक लाख ४० हजार मात्र खर्च हुने समूहको भनाइ छ ।

उनीहरूले उत्पादन गरेको सयपत्री फूलको माला प्रतिगोटा ४० देखि ६० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । सयपत्री फूललाई बाह्रै महिना फूलाउन सकिने भएकाले सिजन-सिजनमा यसलाई रोप्ने गरिएको छ । बीउ रोपेको पाँच महिनामा यसले उत्पादन दिन सुरु गर्ने जनाइएको छ । आगामी वर्ष यसलाई अझ बढाएर ४-५ बिघा बनाउने लक्ष्य राखेको अध्यक्ष भट्टराईको भनाइ छ ।

बिर्तामोड नगरपालिकाको वडा नम्बर १ ले फूलमा आफो वडालाई आत्मनिर्भर बनाउने अभियान नै सञ्चालन गरेको छ । तर, अझै पनि बिर्तामोडमा नै आर्गानिक फूलका माला पाइनछ भन्ने थाहा नपाउँदा मानिस भारततर्फ जाने गरेका छन् । महिला उद्यमी संघ नेपाल झापाले उत्पादन गरेका माला बिर्तामोड, सुरुङ्गा, बुधबारेलगायत क्षेत्रमा पनि बिक्री हुन्छ । यसपटक मौसमले पनि साथ दिएकाले सयपत्री ढकमक्क फूलिरहेको छ ।

Facebook Comments