गोदाममै थन्कियो अलैंची

धनकुटा, कात्तिक ११ । महालक्ष्मी-३ डाँडागाउँका विनोद थापाको घरमा विगत दुई वर्ष अघिदेखि पाँच मनभन्दा बढी अलैंची गोदाममै थन्किएको छ । गत वर्ष पनि उचित भाउ नपाउँदा उनले अलैंची यसैगरी थन्काए । यो वर्ष पनि उचित भाउ नपाए अलैंची गोदाममै थन्काउने उनले बताए ।

अलैंचीको भाउ उचित नपाउँदा उनीजस्तै डाँडागाउँका अधिकांश किसानले अलैंची बिक्री गरेका छैनन् । दुईतीन वर्षयता किसानले अलैंची गोदाममै थन्काएर राखेका छन् । भाउ बढ्ने आशले किसानले अलैंची बिक्री नगरी घर-घरमै गोदाम बनाई थन्काएर राखेको महालक्ष्मी-३ का वडाध्यक्ष भरत थापाले बताए ।

तीन वर्ष अघिसम्म अलैंचीको भाउ प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म पुगेको थियो । तर अहिले बर्सेनि घट्दै आएको छ । अहिले अलैंचीको भाउ प्रतिमन ३० हजार रुपैयाँ पुगेको छ । प्रतिमन ३० हजार रुपैयाँका दरले बिक्री गर्दा लागत खर्चसमेत नउठ्ने विनोद बताउँछन् । उनले भने, ‘प्रतिमन ६० हजार सम्म भाउ पाउँदा बल्ल किसानलाई केही राहत हुन्छ ।’

संखुवासभासँग सीमा जोडिएको डाँडागाउँका प्राय: सबै घरले अलैंची लगाएका छन् । चार सय ५० घरधुरी रहेको यस वडामा ८० प्रतिशत अर्थात तीन सय ५० भन्दा बढी घरधुरीले अलैंचीको व्यावसायिक खेती गरेका छन् । यहाँका किसानको अलैंची खेती प्रमुख आम्दानीको स्रोत अर्थात नगदेबाली हो । हरेक घरधुरीले कम्तिमा पनि १५ देखि २० रोपनी क्षेत्रफलमा अलैंची लगाएको वडाध्यक्ष थापाले बताए ।
उनका अनुसार विगत वर्षमा राम्रो भाउ पाउँदा किसानले हौसिएर अलैंची खेती लगाए । तर, अहिले उत्पादन दिने बेलामा उचित भाउ नपाउँदा किसान निरास छन् । अन्य स्थानमा खोलाखोल्सीमा अलैंचीको खेती गरिएको भए पनि यस डाँडागाउँमा भने अन्नबाली फल्ने ठाउँमा अलैंची खेती गरेका छन् ।
अधिकांश घरधुरीले अलैंची गोदाममै थन्काएर राखेको वडाध्यक्षले बताए । कतिपय किसानले दैनिक जीवनयापनमा समस्या पर्दा मात्रै अलैंची बेचेका छन् । राम्रो भाउ पाउने आशले फलेका अलैंची किसानको गोदाममा थन्किएका छन् । गोदाममा केही वर्षसम्म राख्दा पनि अलैंची नबिग्रिने भएकाले किसानले भाउ पर्खेर बसेको उनले बताए ।

२०३८ सालदेखि अलैंचीको व्यावसायिक खेती गर्दै आएका सोही गाउँका रत्नबहादुर थापाले अलैंचीको पछिल्लो भाउले किसानमा नैराश्यता छाएको बताए । ‘विभिन्न किसिमका रोगकीरा, ढुसीजन्य संक्रमणले अलैंचीको उत्पादन घटिरहेको बेला घट्दो भाउले किसान मर्कामा परेको अलैंची किसान रत्नबहादुरले बताए ।

जिल्लामै अलैंची उत्पादनको हिसाबले अग्रपंत्तिमा आउने डाँडागाउँका अलैंची किसानलाई वडा कार्यालयसँगको समन्वयमा अलैंची खेतीसम्बन्धी तालिम प्रदान गरेको कृषि प्राविधिक शेखर चापागाईंले बताए । एक गाउँ एक कृषि प्राविधिकअन्तर्गत अलैंची उत्पादनका हिसाबले पकेट क्षेत्र मानिएको डाँडागाउँमा सरकारले कृषि प्राविधिक खटाएको छ ।

Facebook Comments