पूर्वमा थिएटर क्रेज

पर्वत पोर्तेल

मन्डला थिएटरमा दुई वर्षजति नाटक सिकेका सागर खाती २७, का अघिल्तिर प्रशस्त अवसरहरु थिए । तर, सबै अवसरलाई उनले चटक्क छाडे । र, फर्किए होम टाउन मेचीनगर । गत वर्ष राजधानी छाडेका सागर गाउँमै थिएटर कल्चर सुरु गर्ने अभियानमा छन् ।

सीमा सहर काँकरभिट्टाको परिवर्तन थिएटरसँग आवद्ध छन् अहिले सागर । यही थिएटरमा जमेर काम गर्ने उनको सोच छ । ‘अब जे गर्छु आफ्नै गाउँठाउँमा गर्छु’, सागर भन्छन्, ‘सक्रिय रुपमा लाग्न सक्दा राजधानीको भन्दा धेरै सम्भावना यतै देख्छु म  ।’ सागरले परिवर्तन थिएटरमा आवद्ध भइसकेपछि ‘राजाको नयाँ लुगा’ र ‘वस स्टप’ दुई नाटक निर्देशन गरिसकेका छन् । मोफसलमै नाटकको भविष्य खोज्ने प्रयत्नमा यिनी लागिपरेका छन् ।

प्रकाश दाहाल, २५ ले पनि सागरले जस्तै गरे । काठमाडौँमा रहँदा केही नाटक र केही फिल्ममा समेत अभिनय गरिसकेका झापा बिर्तामोडका प्रकाश यतिबेला होम टाउनमा नाटक घर बनाउने ध्याउन्नमा छन् । लाटीको छोरो जस्तो चलेको नाटक र पशुपतिप्रसाद जस्तो लोकप्रिय फिल्मका यी कलाकारले ‘मित्र मन्डली’ नामक थिएटर ग्रुप बनाइसकेका छन् । उनले चाँडै थिएटर बनाउने योजना सुनाए । भने, ‘झापाका अन्य थिएटरहरुसँगको सहकार्यमा काम गर्ने योजना बनाएको छु ।’

सागर र प्रकाश प्रतिनिधि पात्र हुन् । उनीहरु जस्ता धेरै तन्नेरीको नजर यतिबेला थिएटरमा छ । थिएटरमा अरु पेशा व्यवसायमा जस्तो मनग्ये पैसा त हँुदैन । तर, पनि तन्नेरीको क्रेज अचम्मलाग्दो छ । परिवर्तन थिएटरकी अध्यक्ष तथा रंगकर्मी कविता नेपालको अनुभव छ, ‘पैसा कमाउँछु भन्नेहरु यो क्षेत्रमा नआए पनि हुन्छ । यहाँ पैसा त पाइँदैन, तर पैसाले पनि किनेर नपाइने सुख चाहिँ अवश्य पाइन्छ ।’ उनका अनुसार परिवर्तन थिएटरमा टिनएजर्स एक्टरको बहुमत छ । कोही कलेज भ्याएर, कोही सानोतिनो जागिरमा काम गर्दै पनि नियमित नाटकमा सहभागी बनिरहेका छन् ।

पूर्वमा अहिले करिब आठवटा जति नाटक समूह सक्रिय छन् । त्यसमध्ये झापामा मात्रै चारवटा थिएटर छन्  । काँकरभिट्टामा परिवर्तन थिएटर छ । बिर्तामोडमा क्षितिज नाट्य समूह र मित्र मन्डली तथा दमकमा कदम थिएटर । इलाममा चेतना नाट्य समूह र चुलाचुली नाट्य समूह, मोरङमा गुरुकुलसँगै झोरहाट नाट्य समूह र धरानमा अनाम नाट्य टोलीले पूर्वको रंगमञ्चमा इँटा थपिरहेका छन् । धरानको अनाम, आरम्भ विगत लामो समय सुस्ताए । अहिले पुन: तंग्रिँदै छन् ।

गुरुकुल, झोरहाट र परिवर्तन थिएटरले नियमित नाटक मञ्चन गरिरहेका छन् । भदौको आरम्भतिर गुरुकुलमा लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ प्रदर्शन भयो । झोरहाटले लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ देखायो । परिवर्तन थिएटरमा वैदेशिक रोजगारीको कहरलाई समेटेर तयार पारेको नाटक ‘खदामा’ जारी छ । विगत ७ वर्षदेखि रंगमञ्चमा सक्रिय परिवर्तन थिएटरका सीमित कलाकार पहिला सडक नाटक र कचहरी नाटकमा मात्रै थिए । विगत दुई वर्षयता मञ्चमै नाटक प्रदर्शन गरिरहेका छन् । गत वैशाखदेखि अस्थायी नाटकघरमार्फत सशुल्क शो गर्दैर् छन्  । गुरुकुल र झोरहाटको त आफ्नै नाटक घर छ ।

पूर्वमा नाटकको प्रशस्त क्रेज हुँदाहँुदै पनि प्राय: नाट्य समूहको आफ्नै नाटक घर छैन, जसले नियमित नाटक प्रदर्शनमा समस्या हुने गरेको छ । दमकको कदम र बिर्तामोडको क्षितिज नाट्य समूहसँग जग्गा छ । तर, आर्थिक अभावले नाटक घर बनाइहाल्ने आँट यी समूहसँग छैन । क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित भन्छन्, ‘दातामार्फत तीन कठ्ठा जमिन प्राप्त भएको छ, विस्तारै नाटक घर बनाउने योजनामा छौँ ।’ परिवर्तन थिएटरसँग त न जमिन छ, न त नाटक घर बनाउने रकम नै । अध्यक्ष कविता नेपाल भन्छिन्, ‘नाटक घरका लागि जमिनको खोजीमा छौँ ।’

चुलाचुली नाट्य समहका कलाकार चेतन आङथुपो मोफसलमा पनि राजधानीमा झ नाटकलाई व्यावसायिक रुपमा अघि बढाउने प्रयत्न भइरहेको सुनाउँछन् । उनले थपे, ‘पूर्वमा पैसा तिरेर नाटक हेर्नेर् संस्कार सुरु भइसकेको छ, यसले नाटक विस्तारै व्यावसायिक बन्न थालेको संकेत गर्छ ।’

विराटनगरबाहेक पूर्वका अन्य जिल्लामा नाटक घर छैन । जसका कारण विभिन्न सभा हलहरु भाडामा लिनुपर्ने बाध्यता छ । जसले नाटकलाई खर्चिलो समेत बनाउने गर्छ । इलामको चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलका अनुसार नाटकबाट खर्च समेत उठ्न गाह्रो छ । भन्छन्, ‘पैसा तिरेर नाटक हेर्ने दर्शक पाउनै मुस्किल छ ।’ पुराना रंगकर्मी समेत रहेका राष्ट्रिय सभाका सांसद खेम नेपालीले सांस्कृतिक उन्नयनमा राज्य उदासीन बन्ने गरेको बताए । उनले प्रदेश जिल्लामा नाट्यघर निर्माण गर्नुपर्ने सुझाव दिए ।

Facebook Comments