सनराइज बन्यो च्याम्पियन

शनिश्चरे, कात्तिक १९ । बिर्तामोडको रेडियो सनराइज विवेचना दैनिकले आयोजना गरेको दोस्रो झापा मिडिया कप च्याम्पियन बनेको छ ।
२६औँ वार्षिकोत्सवको अवसरमा ग्रासरुट फबल मैदानमा आयोजित फबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा सनराइजले जनसंसद् र लोकतन्त्र पोष्टको संयुक्त टिमलाई सडन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा पनि २-२ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा ५-४ गोलअन्तरबाट सनराइज भाग्यमानी सावित भयो । उसले नगद ३१ हजार, ट्रफी पायो भने उपविजेता जनसंसद् र लोकतन्त्र पोष्टको टिमले नगद १५ हजार र ट्रफीमा चित्त बुझायो ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलका विजेता टिमलाई अर्जुनधारा १० का वडा अध्यक्ष बलदेवसिंह गोम्देन र ११ का अध्यक्ष भैरव खड्काले संयुक्त रुपमा नगदसहित ट्रफी प्रदान गरे । उपविजेता टिमलाई एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले नगद र ट्रफी प्रदान गरे ।

फाइनल खेलको म्यान अफ दि म्याच सनराइजका कप्तान प्रकाश बानियाँलाई खेल संयोजक रमेश समदर्शी राईले नगद १ हजारसहित ट्रफी प्रदान गरे । प्रतियोगितामा फेयर टिम नेसनल मिडिया ग्रुप घोषित हुँदै नगद ५ हजार र ट्रफी पाउन सफल भयो भने खेलको म्यान अफ दि टुर्नामेन्ट जनसंसद् र लोकतन्त्रका खेलाडी सुमन विक घोषित हुँदै एक थान एन्ड्रोइड मोबाइल पाउन सफल भए । उनलाई रुप मोबाइल घरका सञ्चालक खगेन्द्र नेपालले माोबाइल र ट्रफी प्रदान गरे ।

त्यस्तै, सनराइजकी सुष्मा राजवंशी बेस्ट कोच, बेस्ट गोलकिपर सविन खवास घोषित हुँदै नगद १५ सयसँगै ट्रफी पाए उनीहरुलाई सम्पादक हिमाल खरेलले नगद र ट्रफी प्रदान गरे । नेसनल मिडिया ग्रुपका इन्द्रजित मुखियाले बेस्ट मिडफिल्ड सुरक्षित गर्दै नगद १५ सयसँगै ट्रफी पाए । संयुक्त टिमका अरुण राई बेस्ट डिफेन्स, उसकै सचिन सुब्बा बेस्ट फरवार्ड घोषित हुँदै जनही नगद १५ सयसँगै ट्रफी पाउन सफल भए ।

सञ्चारकर्मी अच्युत सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सहयोगीका तर्फबाट शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउत, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, प्रमुख अतिथि शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । खेल संयोजक राईले स्वागत गरेको कार्यक्रम विवेचना प्रकाशन समूहका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको थियो । खेल सम्पन्न गर्न एन्फा झापा अध्यक्ष भगिरथ आले र रेफ संघले विशेष सहयोग गरेका थिए ।

Facebook Comments