तोङ्ग इल मोदोमा नेपाललाई १६ पदक

झापा, कात्तिक १९ । भारतमा सम्पन्न दसौँ तोङ्ग इल मोदो विश्व कप-२०१८ मा नेपाली राष्ट्रिय टोलीले ६ स्वर्ण, ३ रजत र ७ वटा कास्य पदक जितेको छ ।

स्वर्ण पदक विजेताहरुमा प्रशान्त चौधरी (कैलाली), ऋतु चौधरी (कैलाली), पवन हमाल (कैलाली), अनिता विष्ट (कैलाली), कृष्ण नेपाली (दाङ) र पूजा चौधरी (सुनसरी) छन् ।

प्रतियोगितामा धीरज चौधरी (कैलाली), रेशम सिंह (कैलाली) र झलक शाही (सुर्खेत) ले रजत पदक दिलाए । त्यस्तै, कास्य पदक जित्नेहरुमा विश्वजित गुरुङ (इलाम), विश्वास चौधरी (झापा), नम विष्ट (कैलाली), एञ्जल चौधरी (कैलाली) तीर्थ चौधरी (कैलाली ) र मीना बस्नेत (कैलाली) छन् ।

सो प्रतियोगिताको सामुहिक कला प्रदर्शनीतर्फ नेपालले दोस्रो र टिम च्याम्पियनसिपमा तेस्रो स्थान हाँसिल गरेको तोङ्ग इल मोदो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । विश्व तोङ्ग इल मोदो महासंघ र भारत तोङ्ग इल मोदो संघद्वारा तल्काटोरा एनडी एमसी इन्डोर स्टेडियममा संयुक्त रुपमा आयोजित प्रतियोगितामा विश्वभरका २६ वटा देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

राजधानी नयाँदिल्लीमा अक्टोबर ३० देखि नोभेम्बर २ तारिखसम्म सञ्चालित प्रतियोगिताका लागि ४० सदस्यीय राष्ट्रिय टोली भारत प्रस्थान गरेको थियो । दक्षिण कोरियाबाट भित्रिएर विभिन्न देशमा अभ्यास हुँदै आएको उक्त खेललाई फिलिपिन्सका अन्तर्राष्ट्रिय प्रशिक्षक लियो सिकारुम्बाले सन् २००५ मा नेपालमा सुरुवात गरेका थिए ।

एकीकृत मार्सल आर्टस् अन्तर्गतको सो खेललाई राष्ट्रिय खेलकुद परिषद्ले सन् २०१३ मा संघको मान्यता प्रदान गरेको थियो ।

Facebook Comments