भेट्रान फुटबलमा चार टिम सेमिफाइनलमा

शनिश्चरे, कात्तिक १९ । मेचीनगर १२ स्थित नवकालिका खेल मैदानमा आइतबारदेखि सुरु छैंटौं भेट्रान फुटबल प्रतियोगितामा चार टिमले सेमिफाइनल यात्रा तय गरेको छन् ।

धाइजन-चारआली फुटबल भेट्रान क्लबको आयोजनामा भएको खेलबाट आयोजकसँगै बिर्तामोड भेट्रान एफसी, सीएमजी स्वास्थ्य क्लब विराटनगर र काँकरभिट्टा भेट्रान एफसी विजय हुँदै सेमिफाइनलमा पुगेका हुन् । क्लबका अध्यक्ष आशिष वनको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले उद्घाटन गरेका थिए ।

समूह चरणको पहिलो खेलमा आयोजकले खुदुनावारी भेट्रान एफसीलाई ४-० गोलअन्तरले पराजित र्गयो । उसका लागि किरण राई, प्रेम शेर्मा, लोचन लिम्बू र सुरज लिम्बूले गोल गरे ।

दोस्रो खेलमा बिर्तामोडले दमक-लखनपुर भेट्रान एफसीलाई टाइब्रेकरमा ४-१ ग्ाोलको नतिजाबाट पाखा लगायो । निर्धारित समयमा १-१ गोल भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

तेस्रो खेलमा सीएमजीले सुरुङ्गा भेट्रान एफसीलाई ४-२ गोलअन्तरले पराजित गरेको थियो । विजयी टिमका लागि सुरजकुमार श्रेष्ठले ह्याट्रिक पूरा गरे । थप एक गोल विजयकुमार भुजेलको नाममा रह्यो । सुरुङ्गाका लागि हेमबहादुर नेम्वाङ र एनीकुमार तामाङले गोल फर्काए । अन्तिम खेलमा काँकरभिट्टाले धरमपुर भेट्रान एफसीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । विजयी टिमका लागि लाक्पा लामा र लिलन प्रसाईंले गोल गरेका थिए ।

सोमबारको पहिलो सेमिफाइनल खेल बिर्तामोड र काँकरभिट्टा र अन्तिम सेमिफाइनल खेल आयोजक धाइजन-चारआली र सीएमजी विराटनगरबीच हुने क्लबका अध्यक्ष वनले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ६१ हजार, उपविजेताले ४१ हजार र ट्रफी पाउने आयोजकले जनाएको छ ।

Facebook Comments