भारतीयलाई नागरिकता दिने जेल चलान

विराटनगर, कात्तिक २० । आफै बाबु बनेर सात भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने सत्यनारायण पोद्दारलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

विराटनगर महानगरपालिका-१ घर भई कटहरी गाउँपालिका-१ मा बस्दै आएका ५५ वर्षीय पोद्दारलाई तत्कालको प्रमाणका आधारमा निर्दोष भन्न नसकिने भन्दै अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले पोद्दारले कीर्ते गरेर झुटा विवरण पेस गरी नागरिकता बनाइदिएको देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई हाटखोलास्थित जिल्ला कारागार चलान गरिएको छ ।

अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले मुलुकी ऐन फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम तत्काकालाई पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश भएको जानकारी दिए ।

पोद्दारले भारतीय नागरिकलाई आफो छोरा बनाउँदै नागरिकता दिलाउने गरेको आरोपमा प्रहरीले फउ गरेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा २०७१ पुसयता पोद्दारले सात भारतीय नागरिकलाई आफो छोरा भएको भन्दै झुटा विवरण पेस गरी नागरिकता बनादिएको खुलेको छ । अदालतमा बयानका क्रममा नागरिकता बनाइदिएका सातैजना आफै छोरा भएको बयान दिएका उनले श्रीमतीको नाम भने गल्ती भएको स्वीकार गरेका थिए ।

सोमबार उनीसँग अदालतबाट बयान लिने काम भएको थियो । बयान सकिनसाथ भएको थुनछेक बहसपछि उनलाई थुनामा राख्न अदालतले आदेश दिएको हो । आइतबार झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा पोद्दारसहित १६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा झुटा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको मुद्दा दायर गरिएको थियो ।

वडाध्यक्ष भागे

त्यस मुद्दामा प्रतिवादी बनाइएका विराटनगर महानगरपालिका-१ का वडाअध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित १५ जना फरार छन् । पोद्दार फउ परेपछि वडाअध्यक्ष अर्यालले दुईजना भारतीयलाई नेपाली नागरिकताका लागि सिफारिस गरेको खुलेको थियो ।

वडा सदस्य साह साक्षी बसेका छन् । पोद्दार फउको खबर पाएसँगै अर्याल, साह र सचिव तिम्सिना सम्पर्कमा नरहेको प्रहरीले जानकारी दिएको छ । श्रेस्तेदार ओझाका अनुसार झुटा विवरण पेश गरी पोद्दारले छोरा बनाएर नेपाली नागरिकता दिलाएका भारतीयहरुमा २२ वर्षीय सञ्जीव पोद्दार, २० वर्षीय धीरज पोद्दार, जितेन्द्र पोद्दार, २५ वर्षीय राजेन्द्र पोद्दार, रोशनकुमार पोद्दार, १८ वर्षीय मिथिलेश पोद्दार र १९ वर्षीय पवन पोद्दार छन् । उनीहरुको भारतीय थर पनि पोद्दार नै रहेको खुलेको छ ।

नागरिकता लिने सातैजनालाई मुद्दाको प्रतिवादी बनाइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सर्जमिन बस्ने पनि अभियुक्त

भारतीय नागरिकलाई नेपाली नागरिकता दिन सर्जमिन गर्नेहरु विराटनगर-१ की ४७ वर्षीय सीमादेवी राम, ५३ वर्षीय मनोज हरिजन, ६४ वर्षीय छोटेलाल मुखिया, सुनसरीको कोसी-१ का ४५ वर्षीय सुरेश पोद्दार र मोरङको कटहरी गाउँपालिका १ का ४३ वर्षीय बैजनाथ शर्मालाई समेत मुद्दाको अभियुक्त बनाइएको छ ।

मुख्य मुद्दामा अभियुक्त बनाइएका सत्यनारायणले कान्छी श्रीमतीपट्टिका छोराहरु देखाउँदै मोटो रकम लिएर भारतीयलाई नेपाली नागरिकता दिलाउने गरेको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले बताए । मोरङ प्रहरीले कीर्ते जालसाजी गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्दारलाई फउ गरेर अनुसन्धान थालेपछि सात भारतीय नागरिकलाई उनै बावु बनेर नेपाली नागरिकता दिलाएको खुलेको हो । उनलाई जनप्रतिनिधिले समेत सघाएको खुलेको छ ।

Facebook Comments