बिर्तामोडमा मोटरहेड मोटरसाइकल लन्च

बिर्तामोड, कात्तिक २० । नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर ट्रेड एन्ड टेक्नो प्रालिले पूर्वमा मोटरहेड कम्पनीको मोटरसाइकल लन्च गरेको छ ।

झापाको बिर्तामोड-५ स्थित महानन्दचोकमा पूर्वका लागि आधिकारिक बिक्रेता टु-स्टार टे्रडले मोटरहेड मोटरसाइकल सार्वजनिक गरेको हो । टे्रडले पत्रकार भेटघाटका क्रममा सो मोटरसाइकल लन्च गरेको हो । युवावर्गलाई लक्षित गरी पूर्वमा लन्च गरिएको मोटरसाइकल १५० देखि २५० सिसीसम्मको इन्जिन क्षमता भएको बिर्तामोडमा उपलब्ध हुने ट्रेडका सञ्चालक कर्मसेन गोम्देनले बताए । ३ लाखदेखि ४ लाख ३५ हजार रुपैयाँसम्म मूल्य पर्ने उक्त बाइक ३५ हजार ५ सय ११ किलोमिटर गुडाएर गिनिजबुकमा नाम दर्ता गराउन सफल भएको अर्का सञ्चालक सुरज सापकोटाले जानकारी दिए ।

एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको शोरुममा सर्भिस र स्पेयर पार्टस् समेत सहज रुपमा उपलब्ध गराइने सञ्चालक गोम्देनले बताए । आइतबार बिर्तामोडमा लन्च गरिएको सो मोटरसाइकल एकै दिनमा तीनवटा बिक्री भएको जनाइएको छ । मोटरसाइकलको पहिलो खरिदकर्ता बिर्तामोड-३ का इन्द्रबहादुर बुढाथोकी भएको सञ्चालक गोम्देनले बताए । सो मोटरसाइकलले प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने उनको भनाइ छ ।

Facebook Comments