बाल कल्याणलाई ढुंगेलले दिइन् कम्प्युटर

झापा, कात्तिक २२ । झापाको शिवसताक्षी ५ स्थित बाल कल्याण आधारभूत विद्यालयको भूतपूर्व विद्यार्थी समाजले नेपालीहरुको महान चाड तिहारको अवसर पारेर दुई थान कम्प्युटर प्रदान गरेको छ ।

विद्यालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी समाजको तर्फबाट एक थान र समाजकी अध्यक्ष भगवती ढुंगेलले व्यक्तिगत एक थान कम्प्युटर प्रदान गरेका हुन् ।

शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सन्थाल समुदायको संस्कृतिक नाच र ताजपुरिया राजवंशी समुदायको परम्परागत नाच प्रस्तुत गरिएको थियो । त्यस्तै, विद्यालयका तर्फबाट समेत नृत्य प्रस्तुत गरिएको थियो ।

नगर प्रमुख शेर्मा र भूपू विद्यार्थी समाजका अध्यक्ष ढुंगेलले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् शिवसताक्षी ५ का वडा अध्यक्ष सत्यनारायण राजवंशीले गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दधिकुमार गणेशले गरेका थिए भने कार्यक्रमका बारेमा समाजकी अध्यक्ष ढुंगेलले प्रकाश पारेकी थिइन् ।

Facebook Comments