बालगायक मनिषलाई १ लाख ३७ हजार सहयोग

दमक, मंसिर ३ । पाँचथर मिक्लाजुङ ५ का ९ वर्षीय बालगायक मनिष लिम्बूको सहयोगार्थ दमकमा हालै आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । दमकमा गत कात्तिक २९ गते सांगीतिक कार्यक्रम गरिएको थियो ।

कुरुम्बेली समाज सेवा संघले आइतबार दमकमा पत्रकार भेटघाट कार्यक्रम गरी सांगीतिक कार्यक्रमको यथार्थ आयव्यय सार्वजनिक गरिएको हो । कार्यक्रम संयोजक गगन लावतीले सांगीतिक कार्यक्रमबाट ४ लाख ५० हजार ९ सय ४२ रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरे । उनका अनुसार कार्यक्रमबाट संकलितमध्ये बालगायक लिम्बूलाई १ लाख ३७ हजार ५ रुपैयाँ प्रदान गरिएको छ । कार्यक्रम सम्पन्न गर्न संघमार्फत दमक १ बाट १ लाख ६३ हजार ३ सय ६०, दमक २ बाट १७ हजार, दमक ५ बाट ६५ हजार ३ सय ३५, दमक ६ बाट ३४ हजार २ सय, दमक ७ बाट ११ हजार ४ सय ८० रुपैयाँ संकलन गरिएको थियो । त्यस्तै, दमक ८ बाट १७ हजार र माखिम समाजबाट २४ हजार ५ सय रुपैयाँ जुटेको संयोजक लावतीले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममार्फत साउन्ड सेटमा ७० हजार, कलाकार पारिश्रमिक ५३ हजार ५ सय, प्रचारपसार खर्च ४६ हजार ९ सय १२ रुपैयाँलगायत खर्च भएको संघले सार्वजनिक गरेको आयव्यय प्रतिवेदनमा उल्लेख छ ।

संघका अध्यक्ष ऐमानसिंह लावतीको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका सचिव धिरेन लावती, कोषाध्यक्ष कमला योङहाङलगायतले सामाजिक कार्य गर्न संघले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जोड दिएका थिए ।

Facebook Comments