बैंकको नाफा ४७ प्रतिशत बढ्यो

झापा, मंसिर ५ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले करिब ४७ प्रतिशत नाफा बढाएका छन् । गत आर्थिक वर्षको अन्तिममा सरकारी खर्च बढेपछि बैंकमा आएको निक्षेपलाई कर्जाको अधिक मागमा परिचालन गरेपछि बैंकहरूको नाफा वृद्धिको गति आश्चर्यनक रूपमा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले ४७ प्रतिशतको नाफा वृद्धि गरे पनि आगामी त्रैमासमा यो वृद्धि कायम रहनेमा भने शंका छ । बैंकहरूले पहिलो त्रैमासको अन्त्यदेखि नै कर्जा प्रवाह नियन्त्रण गर्न सुरु गरेका छन् । बैंकमा कर्जा प्रवाहका लागि स्रोत अभावको समस्या देखिएपछि आगामी त्रैमासमा पनि सोहीअनुसार व्यवसाय वृद्धि नहुने देखिन्छ । बैंकहरूले निक्षेप अभावका कारण कर्जाको माग पहिलो त्रैमासको जस्तै कायम रहे पनि कर्जा प्रवाह भने नियन्त्रण हुने निश्चित छ ।

सञ्चालनमा रहेको २८ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको असोज मसान्तसम्ममा १५ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्ष (२०७४/०७५) को तुलनामा ४६.५९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सो अवधिमा बैंकहरूले १० अर्ब ५२ करोड रुपैयाँ मात्र नाफा गरेका थिए ।

आगामी त्रैमासमा बैंकहरूको लगानी पहिलो त्रैमासको तुलनामा नहुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । ‘कर्जाको माग उच्च भए पनि निक्षेप अभावका कारण बैंकहरूले कर्जा लगानी नियन्त्रण गर्नु परिरहेको अवस्था छ’, दाहालले भने, ‘जसले गर्दा पहिलो त्रैमासको अनुपातमा नाफा तथा व्यवसाय विस्तार नहुने देखिन्छ ।’ क्रेडिट क्रञ्चका कारण आगामी दिन बैंकहरूले लगानी गर्न समस्या भएको हुनाले नाफा वृद्धि खासै नहुने उनको विश्लेषण छ ।

बैंकहरूले पहिलो त्रैमासको अनुपातमा अन्य त्रैमासमा पनि नाफा वृद्धि गर्नका लागि ६ सय अर्ब निक्षेप चाहिने वित्तीय विश्लेषक अनलराज भट्टराईले बताए । ‘आगामी दिनमा बैंकिङ क्षेत्रमा ४ सयभन्दा केही बढी निक्षेप थपिने देखिन्छ’, उनी भन्छन्, ‘यसले पहिलो त्रैमासको वृद्धिलाई कायम राख्न सक्दैन ।’ बैंकिङ क्षेत्रले आर्थिक वर्षको पहिलो त्रैमासलाइ जतिसक्दो धेरै लगानी गर्ने समय भनेर व्याख्या गरेको हुन्छ । पहिलो त्रैमासमा गरेको लगानीमा आम्दानी तुलनात्मक रुपमा धेरै हुन्छ । ‘पछिल्लो समयमा बैंकहरूले स्रोत अभावको समस्या बर्सेनि भोगेका छन्’, उनले भने, ‘बैंकहरूमा कर्जाको माग उच्च भएको हुनाल निक्षेप बढ्यो भने मात्र आगामी दिनमा पनि यस्तो ग्रोथ हुन सक्छ ।’

पछिल्लो समयमा बैंकहरूले डिबेञ्चर जारी गर्ने क्रम सुरु भएको छ । त्यसले बैंकको पुँजी पर्याप्तता अनुपात तथा स्रोतको रुपमा पनि काम गर्ने भएकाले बैंकहरूको ग्रोथ रणनीतिमै जान खोजेको देखिने भट्टराईको भनाइ छ । तर, निक्षेप थपिने भएन भने बैंकिङ प्रणालीमा पुन: समस्या कायम नै हुने उनको तर्क छ । यसका लागि सरकारले समयमा खर्च गर्नु पर्ने समेत उनले सुझाए ।

बैंकहरूले गरेको खुद नाफावाट सञ्चीत कोषमा २० प्रतिशत, समाजिक उत्तरदायित्वका लागि एक प्रतिशत तथा अन्य सञ्चितीका लागि एक प्रतिशत छुट््याएपछिको नाफा सेयरधनीलाइ लाभांश स्वरूप बाँड्न सक्छन् । तर, बैंकहरूले अनिवार्य गरिएको भन्दा धेरै पनि सञ्चीत कोष राख्नसक्ने भएकाले उक्त रकम पूरै सेयरधनीलाइ वितरण गर्छन् नै भन्ने निश्चित भने हुदैन । बैंकको वित्तीय अवस्था अनुसारको सञ्चित कोषमा छुट्याएपछि मात्र लाभांश दिने निर्णय गर्छन् ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरूले पुँजी बढाएर ८ अर्ब र्पुयाएसँगै लगानीकर्ताको दबाब बढ्न थालेको छ । लगानीकर्ताले लगानी गरेको पुँजीको प्रतिफलका लागि पनि बैंकहरूले नाफाको दौडमा निस्कनुपर्ने अवस्था छ । बैंकहरूले नयाँ निक्षेप नलिएसम्म कर्जा प्रवाह गर्न नसक्ने अवस्था आएकाले आगामी दिनहरू झनै चुनौतीपूर्ण देखिन्छन् । यो अवधिमा बैंकहरूको ब्याज आम्दानी तथा अन्य आम्दानी बढेको छ । त्यसका साथै नेपाली मुद्राका सामु अमेरिकी डलर बलियो भए पनि आयातमुखी अर्थतन्त्रमा कर्जाको माग झनै बढ्ने निश्चित छ । तर, पहिलो त्रैमासमा करिब ४७ प्रतिशतले नाफा बढे पनि सेयरधनीले आफो लगानीको उपयुक्त प्रतिफल पाउँछन् पाउदैनन् भन्ने कुरा भने प्रक्षेपण गर्न सकिने अवस्था छैन । यो अवधिमा बैंकहरूले पुँजी कर्जा तथा निक्षेप (सिसिडी) रेसियो कसिलो भएकाले नयाँ निक्षेपका लागि ब्याजदर वढाउनु पर्ने हुन्छ । ब्याजदर बढाउँदा बैंकको खर्च बढ्ने अवस्था आउँछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी स्वमित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै १ अर्ब ११ करोड नाफा गरेको छ । राष्ट्रिय वाणिज्य बैंकलाई पछ्याउँदै निजी क्षेत्रबाट सञ्चालित नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकले पनि १ अर्ब भन्दा बढी नाफा गरेका छन् । पहिलो त्रैमासमा सबैभन्दा थोरै नाफा गर्ने बैंकमा सिभिल बैंक छ । बैंकले १८ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

Facebook Comments