काँकरभिट्टालाई नाटकको सहर बनाउने अभियान

काँकरभिट्टा, मंसिर ११ । मुलुकको पूर्वी प्रवेशद्वार पुग्ने जो कोहीले सहरका भित्ताभित्तामा अनेकौँ चित्र देख्न सक्छन् । यो देही आर्टका कलाकारको मेहनत हो ।

काँकरभिट्टा विगतमा ‘तस्करीको सहर’ को नामले बदनाम थियो । अब भने देही आर्टले त्यो छविलाई बिर्साउँदै गएको छ । मुलुक छिर्ने यो दैलोलाई देही आर्टले कलामार्फत चिनारी फेरिरहेको छ । ‘काँकरभिट्टालाई कला, साहित्यसँगै नाटकको सहर बनाउने अभियान हो हाम्रो’, देही आर्टका संस्थापक छितेन शेर्पाले सुनाए, ‘काँकरभिट्टाले अब बदनामी होइन, स्याबासी कमाउनुपर्छ ।’

काँकरभिट्टाका रैथाने छितेनको पेसा चित्र बनाउने थिएन । उनी आइटी क्षेत्रमा थिए । कमाइ पनि राम्रै थियो । तर, चित्रकार बन्ने सानैदेखिको हुटहुटीले यिनलाई अरू पेसामा अल्झनै दिएन । आइटी छाडेर चित्र कोर्न थाले । छितेन चित्रकारितामा लागेको दशक नाघ्यो । सागर मगर, विष्णु लिम्बू, पिड्ढी श्रेष्ठ, विनोद राजवंशी, रीना राई, सविन मुखिया, रोशन सुब्बालगायतको दह्रो साथ छ छितेनलाई । अनि नाटक क्षेत्रमा सक्रिय परिवर्तन थिएटर र पढन्ते युवाको समूह रिडर्स झापाको पनि आडभरोसा छ ।

देहीले मंसिर १ र २ गते ‘अन्तस्करण’ नाम दिएर कला प्रदर्शनीसँगै वर्कसप र बहस आयोजना र्गयो । जहाँ नेपाल तथा भारतका कलाकार तथा कला क्षेत्रका अगुवाहरू सहभागी बने । कलाकार छितेनका चित्रहरूले धेरैलाई आकर्षित गरेको देखियो । उनले नेपालमा बढ्दो महिला हिंसा र बलात्कारजन्य गतिविधिलाई चित्रमार्फत प्रस्ट देखाएका थिए ।

खासगरी निर्मला पन्तको हत्या काण्डपछि छितेनले यो थिमको चित्र कोरेको बताए । उनले बलात्कारका तीनवटा चरणलाई चित्रमा प्रस्ट ढंगले उतारेका थिए । पहिलो प्रि एसोल्ड, दोस्रो पोस्ट एसोल्ड र अन्तिम चरणमा एन्टी एसोल्ड । उनीसँगै रीना राई, रेवतीरमण खनाल, रोशन सुब्बा, विनोद राजवंशी, नवीन खनालसहित १७ कलाकारका विभिन्न थिमका करिब ५० भन्दा बढी मूर्त तथा अमूर्त चित्र प्रदर्शनीमा राखिएका छन् ।

अगुवा चित्रकार रमेश खनाल त देहीको काम देखेर चकित भए । ‘गर्दा हुने रैछ’, खनालले भने, ‘देहीले कलाबाटै सहरको पहिचान बदल्दै रहेछ यो समग्र कलाकारका लागि गौरवको कुरा हो ।’ देही कहिल्यै चुप बस्दैन । केही न केही गरिनैरहन्छ । स्थानीय सरकार र सम्बद्ध निकायको बाटो कहिल्यै हेर्दैन । निरन्तर काम मात्रै गरिरहन्छ । ‘निरन्तर यसैगरी काम गरिरहने हो भने देहीको सफलता निकट छ’, विराटनगरकी अग्रज कलाकार अनुराधा थापाले भनिन्, ‘निरन्तरता नै सफलताको कडी हो ।’

खासगरी देही आर्टले यो सीमा सहरको पुरानो परिचयलाई विस्तारै फेर्दै लगेको छ । देहीलाई हौस्याएको छ, रिडर्स झापा र परिवर्तन थिएटरले । कुनै समय यो सुदूरपूर्वी सहरको परिचय ‘तस्करीको सहर’ मात्रै थियो । यो परिचय बदल्ने यत्नमा देही आर्ट कटिबद्ध भएर लागेको छ । ‘समाजको सांस्कृतिक रुपान्तरणमा यस्ता कार्यक्रमको महत्व ज्यादै धेरै हुन्छ’, रिडर्स झापाका सदस्य सागर शिवाकोटी भने, ‘यस्ता गतिविधिमा राज्यले हौसला दिनुपर्छ, तर सधैँ उपेक्षा मात्रै गरेको पाइन्छ ।’

देही आर्टले आफो कलालाई नेपालमा मात्रै सीमित राखेको छैन । भारतमा पनि समय समयमा प्रदर्शनी गर्छ । गत वर्ष दिल्लीमा देहीको कला प्रदर्शनीमा राखिएको थियो । देहीले सबै किसिमका चित्र कोर्छ । टिसर्ट र जुत्ता पेन्टिङमा यसको ख्याति अग्लिदै गएको छ ।

भारतको दार्जिलिड, कालिम्पोङसम्मका तन्नेरी टिसर्ट र जुत्ता, पेन्टका चित्र कोरिमाग्न आउँछन् । पूर्वमा देही आर्टजस्ता धेरै कला केन्द्रहरू छन् । तर, देहीको जस्तो सक्रियता कमैको छ । धरान, विराटनगर, मोरङलगायत क्षेत्रका कलाकार मात्रै सक्रिय छन् ।

धरानका कलाकार प्रणव दत्तले कलाकारिताले मात्रै गुजारा चलाउन गाह्रो पर्ने गरेको तीतो पोखे । ‘कलाकार धेरै छौँ, चित्र पनि धेरै राम्राराम्रा बन्छन् तर चित्रको बजार छैन’, धरानका अग्रज चित्रकार दत्तले भने, ‘चित्र नबिकेपछि बनाएर मात्रै के गर्नु, खान मिल्दैन ।’

Facebook Comments