विकासका लागि उत्कृष्ट मोडल सहकारी— इजरायली राजदूत

भद्रपुर, मंसिर ११ । नेपालका लागि इजरायलका राजदूत बेनी ओमारले दीर्घकालीन विकासका लागि ‘सहकारी मोडल’ उत्कृष्ट मोडल भएको बताएका छन् ।

साना किसान कृषि सहकारी संस्थाहरुले कृषि क्षेत्रमा गरेका क्रियाकलाप बुझ्न नेपालको पूर्वी क्षेत्र भ्रमणका क्रममा मंगलबार झापा आएका राजदूत ओमारले नेपालमा कृषिमा आधुनिकीकरण र लगानीबाटै समृद्धि हासिल हुनसक्ने बताए ।

झापाको भद्रपुर–१ पृथ्वीनगरस्थित साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको एक संक्षिप्त समारोहमा राजदूत ओमारले त्यस्तो बताएका हुन् । उनले आफ्नो देशको उदाहरण दिँदै इजरायलले सहकारीमार्फत कृषि क्षेत्रमा गरेको लगानीबाट उत्कृष्ट प्रतिफल प्राप्त गरेको उल्लेख गर्दै नेपालले पनि सहकारी मोडललाई कृषिमा प्रतिफलमुखी तुल्याउने गरी अघि बढाउन सुझाव दिए ।

राजदूत ओमारलगायत सरकारी उच्चपदस्थ अधिकारीहरुको स्वागत–सम्मानमा संस्थाका अध्यक्ष सूर्यमान लिवाङको अध्यक्षतामा आयोजना गरिएको समारोहमा राजदूत ओमारले किसानहरुले आफ्नो लगानीमा चिया उद्योग स्थापना गरी सञ्चालन गरेको विषयको प्रशंसा गरे । ‘एक्लैले थोरै र सानो इकाईमा गर्न सकिन्छ’, उनले भने, ‘समूहले धेरै र ठुलो इकाईमा गर्न सक्छ, त्यसको उदाहरण यो चिया उद्योग हो, यसलाई सफल बनाउने तपाईं किसानहरुकै हातमा छ ।’

चिया प्रशोधन उद्योग परिसरमा संस्थाका कार्यकारी प्रमुख देवीप्रसाद कोइरालाले सञ्चालन गरेको समारोहमा संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक शिवकुमार राजभण्डारीले संस्था तथा चिया उद्योगको प्रगतिका बारे जानकारी गराएका थिए । उनले नेपाल सरकार र संस्थामा आबद्ध सदस्य साना किसानको आधा–आधा लगानीबाट लगभग ६ करोडको लागतमा स्थापित चिया प्रशोधन कारखाना प्रगतिउन्मुख रहेको जानकारी दिए ।

राजदूत ओमारले कृषिमा युवाहरुको सहभागितामा जोड दिए । उनले संस्थामा महिला सदस्यहरुको उल्लेख्य उपस्थितिको पनि प्रशंसा गरे । ‘यति धेरै महिला हुनुहुँदो रहेछ’, समारोहमा उपस्थित महिलाहरुप्रति इगिंत गर्दै उनले भने, ‘यो महिला सशक्तीकरणको पनि उदाहरणीय दृश्य हो ।’

राजदूत आमारले नेपालको कृषि क्षेत्रको विकासमा इजरायलले पनि सहयोग पुर्याउँदै आएको उल्लेख गरे । इजरायलले प्रत्येक वर्ष विभिन्न साना किसान कृषि सहकारी संस्थाहरुको सिफारिसमा पाँच सय युवालाई इजरायलमा कृषिसम्बन्धी प्राविधिक विषयमा प्रशिक्षण दिने गरेको छ । ‘यसरी इजरायल पुगेर फर्किएका युवाले स्वदेशमा कृषिकर्म गरिरहेका छन् कि छैनन् ? कृषिकर्मबाट उनीहरुको परिवारको जीवनस्तरमा सुधार आएको छ कि छैन ? समीक्षा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘संस्थाहरुले समीक्षा गर्नुस्, लगानी खेर नजाओस् ।’

साना किसान कृषि सहकारी संस्थाहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको साना किसान बैंकको अगुवाईमा संस्थाहरुको प्रगति अवलोकन गर्न आएको राजदूत ओमारको टोलीमा अर्थ मन्त्रालयका सल्लाहकार सहसचिव डा. रामशरण खरेल, बैंकका अध्यक्ष खेम पाठक, बैंकका कार्यकारी अधिकृत शिवरामप्रसाद कोइराला, नायव कार्यकारी अधिकृत झलेन्द्र भट्टराईलगायत रहेका छन् । सोमबार इलाम तथा पाँचथरका साना किसान सहकारी संस्थाहरुको अवलोकन–भ्रमण गरेको टोली मंगलबार बिहान झापा आएको हो ।

समारोहमा अर्थ मन्त्रालयका सल्लाहकार खरेलले सरकार सुखी नेपाली, समृद्ध नेपालको ध्येय लिएर अघि बढेको बताउँदै बेरोजगार युवा–लक्षित कार्यक्रम सञ्चालनमा आएको जानकारी दिए । उनले सरकारले दुई वर्षभित्र कम्तिमा दुई दर्जन वस्तुमा आत्मनिर्भर हुने र चार वर्षभित्र उत्पादकत्व दोब्बर बनाउने लक्ष्य लिएकोले युवावर्गलाई कृषिकर्ममा समाहित हुन आग्रह गरे ।

बैंकका अध्यक्ष पाठकले साना किसानद्वारा सञ्चालित चिया प्रशोधन उद्योग मुलुककै लागि नमुना उद्योग भएकोले यसलाई थप विकसित गर्दै लैजान सदस्यहरुलाई आग्रह गरे । ‘यो उद्योग साना किसान बैंकको, साना किसान सहकारी संस्थाहरुको सफलताको मानक पनि हो’, उनले भने, ‘हामी जहाँ जान्छौँ यो उद्योगको चर्चा गर्छौं, यसलाई परिस्कृत गर्दै लैजानोस्, बैंकको सहयोग रहनेछ ।’

प्रदेशसभा सांसद वसन्त बानियाँले सहकारीकै माध्यमबाट समृद्धि हासिल हुनसक्छ भन्ने प्रदेश सरकारको पनि मान्यता रहेकोले सहकारीको प्रवद्र्धनमा प्रदेश सरकारले पनि सहयोग पुर्याउने बताए । समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले साना किसान चिया प्रशोधन उद्योग भद्रपुरको एउटा गहना भएको भन्दै यसको संरक्षण–सम्बद्र्धनमा नगरपालिकाको तर्फबाट पनि सहयोग रहने उल्लेख गरे । उनले नगरपालिकाले पनि कृषि क्षेत्रलाई महत्व दिइरहेको भन्दै सहकारी र नगरपालिकाको साझेदारीमा कृषि आधुनिकीकरणका लागि योजनाहरु कार्यान्वयन गरिँदै आएको पनि जानकारी दिए ।

भद्रपुरमा स्वागत
साना किसान सहकारी संस्था पृथ्वीनगरद्वारा सञ्चालित चिया प्रशोधन उद्योगको अवलोकन सकेर फर्किएका इजरायली राजदूत ओमारलाई भद्रपुर नगरपालिकाले आफ्नै सभाकक्षमा स्वागत गर्यो ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहमा राजदूत ओमारलगायतको टोलीलाई उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडाअध्यक्ष, सदस्य, राजनीतिक दलका स्थानीय नेता, नगरपालिकाका कर्मचारीलगायतले हार्दिक स्वागत गरेका थिए ।

सामाजिक शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाका नीति–कार्यक्रम तथा योजनाका बारेमा राजदूत ओमारलाई संक्षिप्तमा जानकारी गराएका थिए । राजदस्त ओमारले नगरपालिकाले आफूलाई गरेको स्वागत–सम्मानप्रति खुसी व्यक्त गर्दै कृषिमा लगानी बढाउन सुझाव दिएका थिए ।

राजदूतको टोलीले मंगलबार नै झापाको महारानीझोडा कृषि सहकारी संस्थाको पनि अवलोकन गरेको थियो ।

Facebook Comments